०७ असार २०८३, आइतबार

अन्तिम टेस्टमा पनि अस्ट्रेलियासामू निरीह बन्यो इङ्ल्यान्ड

पुस २४, २०८२
काठमाडौं
अन्तिम टेस्टमा पनि अस्ट्रेलियासामू निरीह बन्यो इङ्ल्यान्ड

पाँचौँ तथा अन्तिम एसेस टेस्ट क्रिकेटमा पनि घरेलु टोली अस्ट्रेलियाले इङ्ल्यान्डलाई पाँच विकेटले हराएको छ । यससँगै अस्ट्रेलियाले पाँच खेलको शृंखला ४–१ ले आफ्नो पक्षमा पारेको हो ।

पहिलो र दोस्रो टेस्टमा अस्ट्रेलिया आठ विकेटले विजयी भएको थियो । तेस्रो टेस्टमा अस्ट्रेलिया ८२ रनले विजयी भएको थियो । चौथो टेस्ट इङ्ल्यान्डले चार विकेटले जितेको थियो ।

सिड्नी क्रिकेट ग्राउन्डमा खेलिएको पाँचौँ टेस्टको अन्तिम दिन बिहीबार अस्ट्रेलियाले एक सय ६० रनको लक्ष्य पाँच विकेट गुमाएर पूरा गरेको हो ।

दोस्रो पालीमा अस्ट्रेलियाका लागि मार्नस लाबुशेनले ३७ रन बनाए । ओपनर ज्याक वेदरल्डले ३४ रन जोडे । अर्का ओपनर ट्राभिस हेड २९ रन बनाउँदै आउट भए ।

क्यामरन ग्रिनले अविजित २२ र विकेटकिपर ब्याट्सम्यान एलेक्स केरीले अविजित १६ रन बनाए । कप्तान स्टिभन स्मिथ भने १२ रन बनाउँदै आउट भएका थिए ।

दोस्रो पालीमा इङ्ल्यान्डका बलर जोस टङले तीन र विल ज्याक्सले एक विकेट लिए । त्यसअघि इङ्ल्यान्ड आफ्नो दोस्रो पालीमा तीन सय ४२ रन बनाउँदै अलआउट भएको थियो ।

इङ्ल्यान्डका लागि दोस्रो पालीमा ज्याक बेथलले एक सय ५४ रनको योगदान गरेका थिए । २२ वर्षीय बायाँहाते ब्याट्सम्यान बेथलले टेस्ट क्रिकेटमा बनाएको यो पहिलो शतक हो ।

ह्यारी ब्रुकले पनि ४२ रन जोडे । दोस्रो पालीमा अस्ट्रेलियाका बलर बेउ वेबस्टर र मिचेल स्टार्कले तीन–तीन तथा स्कट बोल्यान्डले दुई विकेट लिए ।

त्यसअघि, अस्ट्रेलियन टोलीले आफ्नो पहिलो पालीमा पाँच सय ६७ रनको विशाल योगफल तयार पारेको थियो । पहिलो पालीमा अस्ट्रेलियाका लागि ट्राभिस हेडले एक सय ६३ रन बनाए ।

३२ वर्षीय अनुभवी बायाँहाते ब्याट्सम्यान हेडले टेस्ट क्रिकेटमा बनाएको यो १२औँ शतक हो । कप्तान स्मिथले पनि टोलीका लागि एक सय ३८ रनको योगदान गरे ।

स्मिथले एसेस टेस्टको ९६ वर्ष पुरानो कीर्तिमान पनि तोडे । स्मिथले टेस्ट क्रिकेटमा बनाएको यो ३७औँ शतक हो । एसेस टेस्टमा भने उनले बनाएको यो १३औँ शतक हो ।

योसँगै उनी एसेस शृंखलाको इतिहासमा ९६ वर्ष पुरानो कीर्तिमान तोड्दै सर्वाधिक शतक प्रहार गर्ने ब्याट्सम्यानको सूचिमा दोस्रो स्थानमा उक्लिएका हुन् ।

उनले इङ्ल्यान्डका पूर्वब्याट्सम्यान ज्याक हब्सको कीर्तिमान तोडे । ज्याकले एसेसमा १२ शतक प्रहार गरेका थिए । उनी सर्वाधिक शतक प्रहार गर्ने ब्याट्सम्यानको सूचिमा तेस्रो नम्बरमा झरेका छन् ।

एसेस शृंखलामा सर्वाधिक शतक बनाउने ब्याट्सम्यान भने सर डान ब्राडम्यान हुन् । उनले एसेस शृंखलामा १९ वटा शतक प्रहार गरेर इतिहास रचेका छन् ।

परम्परागत एसेस क्रिकेट शृंखलामा सर्वाधिक रन बनाउने सूचीमा पनि ब्राडम्यान कुल पाँच हजार २८ रनसहित पहिलो स्थानमा छन् ।

यो सूचीमा पनि स्टिभ स्मिथ तीन हजार ६ सय ८२ रनसहित दोस्रो स्थानमा र ज्याक हब्स तीन हजार ६ सय ३६ रनसहित तेस्रो स्थानमा आसिन छन् ।

स्टिभ स्मिथले भारतका महान क्रिकेटर सचिन तेन्दुल्करलाई पनि पछि पारेका छन् । स्मिथले सबैभन्दा कम पालीमा ३७औँ टेस्ट शतक पूरा गर्ने तेन्दुल्करको कीर्तिमान तोडेका हुन् ।

स्मिथले दुई सय १९ र तेन्दुल्करले दुई सय २० पालीमा ३७औँ टेस्ट शतक पूरा गरेका हुन् । सबैभन्दा कम पालीमा ३७औँ टेस्ट शतक पूरा गर्ने खेलाडी भने अस्ट्रेलियाकै पूर्वकप्तान रिकी पोन्टिङ हुन् । उनले केवल दुई सय १२ पालीमा ३७औँ टेस्ट शतक पूरा गरेका थिए ।

पहिलो पालीमा अस्ट्रेलियाका लागि बेउ वेबस्टरले पनि अविजित ७१ रनको योगदान गरे । इङ्ल्यान्डका बलर ब्राइडन कार्स र जोस टङले तीन–तीन र बेन स्टोक्सले दुई विकेट लिए ।

त्यसअघि, पाँचौँ टेस्टमा टस जिती ब्याटिङको निर्णय लिएको इङ्ल्यान्डले आफ्नो पहिलो पालीमा तीन सय ८४ रन बनाएको थियो । जो रुटले एक सय ६० रन बनाए ।

३५ वर्षीय अनुभवी ब्याट्सम्यान रुटले टेस्ट क्रिकेटमा बनाएको यो ४१औँ शतक हो । टोलीको खातामा ह्यारी ब्रुकले ८४ र विकेटकिपर ब्याट्सम्यान जामी स्मिथले ४६ रन थपे ।

पहिलो पालीमा अस्ट्रेलियाका बलर माइकल नेसर एक्लैले चार विकेट लिए । मिचेल स्टार्क र स्कट बोल्यान्डले पनि दुई–दुई विकेट हात पारे ।

पाँचौँ टेस्टमा ट्राभिस हेड प्लेयर अफ दि म्याच घोषित भए । अस्ट्रेलियाकै मिचेल स्टार्कले प्लेयर अफ दि सिरिजको पुरस्कार पाए ।
 

salt training

कमेन्ट गर्नुहोस्