२८ जेठ २०८३, बिहीबार

‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो हो- सौगात मल्ल

पुस २४, २०८२
काठमाडौं
‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो हो- सौगात मल्ल

अभिनेता सौगात मल्लले आगामी माघ १ गतेदेखि नेपालभर प्रदर्शन हुने चलचित्र ‘भाइरल गोर्खे’को विषय सामाजिक सञ्जालसँग जोडेर तयार गरिएको बताएका छन् । 

अभिनेता मल्लले सामाजिक सञ्जालको बढ्दो दबदबाबीच विश्वभर ‘भाइरल’ बन्ने ध्याउन्नमा रहेकालाई चलचित्रले मनोरञ्जनसँगै सन्देश पनि दिने बताए ।

उनले भने, ‘चलचित्रको विषयवस्तु केवल ‘टिकटक’सँग जोडिएको भए सायद म अभिनय गर्थिनँ होला, तर त्यहाँ समाज र परिवेश जोडिएको छ । एउटा सामान्य व्यक्तिको भाइरल हुने लालस र त्यसले निम्त्याउने आरोहअवरोह चलचित्रमा समेटिएको छ । भाइरल हुन जति मेहनत गर्नुपर्छ, त्यति नै त्यहाँ टिकिरहन मेहनत गर्नुपर्छ । विद्यमान परिवेशमा दर्शकलाई आकर्षित गर्न चलचित्र सफल हुनेछ ।’

‘भाइरल गोर्खे’ चलचित्रको पटकथा पढेपछि सबै अभिनेता लोभिने बताउँदै मनोरञ्जन प्रदान गर्ने समयसान्दर्भिक विषयवस्तु समेटिएको पाएपछि प्रस्ताव स्वीकार गरी चलचित्रमा जोडिएको उनले बताए ।

‘भाइरल पनि भन्न नआउने, भाइरस–भाइरस भन्ने एक पात्र भाइरल हुँदासम्मको उसको यात्रा हो । त्यसपछि पनि दर्शकलाई मजा आउँछ, मन छुने खालको छ । यसले अहिलेको केही प्रवृतिलाई व्यङ्ग्य पनि गरेको छ’, अभिनेता मल्लले भने ।

अभिनेत्री तथा पूर्व मिस नेपाल सृष्टि श्रेष्ठले चलचित्रमा अभिनय गर्ने प्रस्ताव आएपछि पटकथा पढ्दा नै यो विषय किन सोचिएन भन्ने लागेको प्रतिक्रिया दिइन् ।

‘सामाजिक सञ्जालको सकारात्मक र नकारात्मक प्रभाव, भाइरल हुन मानिसले के–के गर्छ भन्ने विषयवस्तु कथामा समेटिएका छन् । समय सान्दर्भिक छ, सबै कुरालाई व्याङ्ग्यात्मक रूपमा देखाइएको छ’, अभिनेत्री श्रेष्ठले भनिन् ।

निगम श्रेष्ठको निर्देशनमा तयार भएको उक्त चलचित्रमा बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, पत्रकार ऋषि धमलालगायतले अभिनय गरेका छन् ।  
 

salt training

कमेन्ट गर्नुहोस्