२९ जेठ २०८३, शुक्रबार

भेनेजुएला प्रकरणले भारतको अर्थतन्त्र र ऊर्जा सुरक्षामा खासै प्रभाव नपर्ने विश्लेषण

पुस २५, २०८२
काठमाडौं
भेनेजुएला प्रकरणले भारतको अर्थतन्त्र र ऊर्जा सुरक्षामा खासै प्रभाव नपर्ने विश्लेषण

भेनेजुएलामा देखिएको पछिल्लो संकटले भारतको अर्थतन्त्र वा ऊर्जा सुरक्षामा उल्लेखनीय असर पार्ने सम्भावना न्यून रहेको भारतस्थित थिंक ट्याङ्क ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभ (जीटीआरआई)ले जनाएको छ ।

जीटीआरआईले जारी गरेको टिप्पणीमा सन् २००० र २०१० को दशकमा भारत भेनेजुएलाको कच्चा तेलको प्रमुख खरिदकर्ता रहेको स्मरण गराएको छ ।

सो अवधिमा ओएनजीसी विदेश लिमिटेडजस्ता भारतीय कम्पनीहरूको भेनेजुएलाको ओरिनोको बेल्ट क्षेत्रमा अपस्ट्रिम लगानीसमेत थियो । तर, सन् २०१९ पछि अमेरिकी प्रतिबन्धका कारण द्विपक्षीय सम्बन्ध तीव्र रूपमा कमजोर भएको र द्वितीयक प्रतिबन्धको जोखिम टार्न भारतले तेल आयात कटौती गर्दै व्यावसायिक गतिविधि सीमित गरेको जीटीआरआईले जनाएको छ ।

यसका कारण हाल भारत–भेनेजुएला व्यापार सानो र झन्झन् घट्दो अवस्थामा पुगेको थिंक ट्याङ्कको निष्कर्ष छ । आइतबार जीटीआरआईले यो टिप्पणी सार्वजनिक गरेको हो, जुन अमेरिकी सेनाले भेनेजुएलामा ठूलो सैन्य अपरेसन सञ्चालन गरी राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई पक्राउ गरी लागूऔषध तस्करी तथा नार्को–आतङ्कवादसम्बन्धी आरोपमा अमेरिकामा लैजाने एक दिनपछि आएको हो ।

जीटीआरआईका अनुसार आर्थिक वर्ष २०२४–२५ मा भारतले भेनेजुएलाबाट गरेको कुल आयात जम्मा ३६ करोड ४५ लाख अमेरिकी डलर बराबरको थियो । यसमध्ये २५ करोड ५३ लाख अमेरिकी डलर कच्चा तेलको आयात थियो, जुन अघिल्लो आर्थिक वर्ष २०२३–२४ मा भएको १ अर्ब ४० करोड डलरको कच्चा तेल आयातको तुलनामा ८१.३ प्रतिशतले घटेको हो ।

त्यसैगरी, भारतबाट भेनेजुएलामा भएको निर्यात पनि सीमित रहँदै ९ करोड ५३ लाख डलरमा सीमित भएको छ । यसमा औषधिजन्य सामग्री प्रमुख निर्यात वस्तुका रूपमा रहेको र यसको मूल्य ४ करोड १४ लाख डलर रहेको जीटीआरआईले जनाएको छ ।

'कम व्यापार परिमाण, विद्यमान प्रतिबन्ध र भौगोलिक दूरीलाई ध्यानमा राख्दा भेनेजुएलामा विकसित घटनाक्रमले भारतको अर्थतन्त्र वा ऊर्जा सुरक्षामा कुनै ठोस प्रभाव पार्ने अपेक्षा गरिएको छैन,' जीटीआरआईले पुनः स्पष्ट पारेको छ ।

थिंक ट्याङ्कका अनुसार विश्वव्यवस्थाको बदलिँदो सन्दर्भमा कच्चा पदार्थ र ऊर्जा स्रोतका लागि युद्धहरू आगामी वर्षहरूमा अझ तीव्र हुने सम्भावना छ ।

यस अवस्थामा भारतले रणनीतिक स्वायत्तता जोगाउँदै सावधानीपूर्वक अघि बढ्नुपर्ने, सार्वभौमिकता वा दीर्घकालीन हित कमजोर पार्ने सम्झौताबाट टाढा रहनुपर्ने तथा भू–राजनीतिक दबाबबिनै महत्वपूर्ण कच्चा पदार्थ र ऊर्जा स्रोतमा पहुँच सुनिश्चित गर्नुपर्ने सुझाव जीटीआरआईले दिएको छ ।

जीटीआरआईको विश्लेषण अनुसार अमेरिकी अपरेसनको केन्द्रमा भेनेजुएलाको कच्चा तेलमा नियन्त्रण हासिल गर्ने उद्देश्य रहेको छ । भेनेजुएलासँग विश्वको करिब १८ प्रतिशत तेल भण्डार रहेको छ, जुन साउदी अरेबिया (करिब १६ प्रतिशत), रुस (५–६ प्रतिशत) र अमेरिका (करिब ४ प्रतिशत) भन्दा बढी हो । भेनेजुएलासँग अमेरिका र रुस दुवैको संयुक्त भण्डारभन्दा बढी कच्चा तेल रहेको जीटीआरआईले जनाएको छ ।

जीटीआरआईको टिप्पणीमा भनिएको छ, 'अमेरिकाले युरोपेली संघ, जापान, दक्षिण कोरिया र बेलायतजस्ता साझेदारहरूसँग व्यापार सम्झौता गर्दै उनीहरूलाई अमेरिकी पेट्रोलियम पदार्थ र एलएनजी खरिद गर्ने प्रतिबद्धता गराएको छ, तर आफूसँग पर्याप्त कच्चा तेल र प्रशोधन क्षमता छैन ।'

यही सन्दर्भमा विश्वकै सबैभन्दा ठूलो प्रमाणित पेट्रोलियम भण्डार भएको भेनेजुएला अमेरिकाका लागि कच्चा तेलको महत्वपूर्ण स्रोत बन्ने जीटीआरआईको निष्कर्ष छ । 'भेनेजुएलाको तेलमा सहज पहुँच पाउनु नै अमेरिकी अपरेसनको प्रमुख प्रेरणा थियो,' टिप्पणीमा उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्