
झापाको कन्काई नगरपालिकास्थित माइखोलाको पुलमा प्रेसर कुकर बम राखेर स्थानीयमा डर त्रास र आतंक सिर्जना गर्ने मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ‘सनातन सुरक्षा सेना, नेपाल’का संयोजक भनिने ४६ वर्षीय सञ्जय उर्फ खगेन्द्र खरेल रहेका छन् । झापाको दमक नगरपालिका-१ घर भई हाल कन्काई–८ मा बस्दै आएका खरेललाई बिहीबार लक्ष्मीपुरस्थित साथीको घरमा लुकिछिपी बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको विशेष टोलीले नियन्त्रणमा लिएको हो ।
यही पुस १९ गते पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत कन्काई पुलको पूर्वतर्फको डिभाइडरमा कालो झोलाभित्र प्रेसर कुकर बम राखी उनले शान्ति सुरक्षामा खलल पुर्याएका प्रहरीले जनाएको छ । उक्त घटनाका कारण सडकमा आवतजावत अवरुद्ध हुनुका साथै सर्वसाधारणमा ठूलो त्रास फैलिएको थियो ।
सोही अवैध कार्यमा संलग्न रहेको देखिएपछि उनलाई मुलुकी अपराध संहिता २०७४ को राज्यविरुद्धको कसुर र विष्फोटक पदार्थ सम्बन्धी कसुरमा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमार्फत् झापा जिल्ला अदालतमा उपस्थित गराइएको छ । अदालतले उनलाई पहिलोपटक ५ दिनको म्याद थप गरी हिरासतमा राख्न अनुमति दिएको छ ।
पक्राउ परेका खरेलको आपराधिक इतिहास निकै लामो र गम्भीर रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनी यसअघि विष्फोटक पदार्थ सम्बन्धी कसुरमा सजाय भोगिरहेको अवस्थामा २०८२ भदौ २४ गते झुम्का कारागारमा भएको ‘जेनजी आन्दोलन’को मौका छोपेर भागेका थिए ।
प्रहरीका अनुसार उनी यसअघि पनि पटक–पटक विभिन्न विष्फोटक घटनामा संलग्न रहँदै आएका थिए । २०७८ चैत १४ गते सुनसरीको इटहरी–२ मा बम विष्फोट गराई मानिस घाइते भएको घटनामा उनी पक्राउ परेका थिए । त्यतिबेला उनी ‘हिमाल सुरक्षा परिषद् नेपाल’को अध्यक्ष भई सशस्त्र गतिविधिमा संलग्न थिए ।
त्यसैगरी, उनले २०८१ फागुन १३ गते इटहरी उपमहानगरपालिकाको कार्यालय अगाडि र भोटेपुल नजिकै प्रेसर कुकर बम राखेर फरार भएका थिए । उनले २०७६ वैशाख ३० गते पनि कन्काई पुलकै डिभाइडरमा विष्फोटक पदार्थ राखेर आतंक फैलाएको रेकर्ड छ ।
त्यति मात्र नभई, उनले २०७८ माघमा दमकको शिवान चर्चमा र २०७६ माघमा बिर्तामोड बसपार्कमा नक्कली बम राखेर पटक–पटक शान्ति सुरक्षामा खलल पुर्याएका थिए । उनले समय–समयमा संगठनको नाम परिवर्तन गर्दै आपराधिक गतिविधि गर्ने गरेको देखिएको छ ।
२०७६ सालमा ‘गोर्खा जन्मुक्ति पार्टी’, २०७८ मा ‘हिमाल सुरक्षा परिषद्’ र पछिल्लो समय २०८२ मा ‘सनातन सुरक्षा सेना, नेपाल’ खोलेर उनले राज्यविरुद्धका गतिविधि र विष्फोट गराउँदै आएको प्रहरीले जनाएको छ ।