
माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना स्वरोजगार तथा साना र मझौला एकल स्वामित्वका व्यवसायलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता कायम राख्दै एमबीएल स्मार्ट लोन सेवा अब क्यूआर व्यापारीसम्म पुर्याएको छ ।
विभिन्न नेटवर्कमा आबद्ध क्यूआर मर्चेन्टहरूलाई लक्षित गर्दै QR Merchant-MBL Smart Loan सेवाको शुरूआत गरेको छ । डिजिटल बैंकिङको क्षेत्रमा नवीनतम् प्रविधि सञ्चालन गरी आफ्ना ग्राहकलाई छिटो छरितो र प्रभावकारी वित्तीय सेवा प्रदान गर्दै आइरहेको बैंकले क्यूआर मर्चेन्टको वित्तीय आवश्यकतालाई मध्यनजर गरी उक्त कर्जा सेवा सञ्चालनमा ल्याएको हो ।
यस सेवामार्फत् स्वरोजगार तथा साना र मझौला एकल स्वामित्वका व्यवसायलाई बिनाधितो सहज र सरल तरिकाले MBL M-Smart एपमार्फत् नै कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् ।
डिजिटल माध्यमबाटै कर्जा स्वीकृति हुने भएकाले समयको बचत हुनुका साथै सेवा प्राप्ति अझ सहज र पारदर्शी हुने बैंकले विश्वास लिएको छ ।
स्थापनाकालदेखि नै नवीनतम् प्रविधिमा आधारित सेवा तथा सुविधा ग्राहकसमक्ष ल्याउन कटिबद्ध माछापुच्छ्रे बैंक लिमिटेडले हाल देशभर हिमाल, पहाड र तराई समेट्दै पूर्वदेखि पश्चिमसम्म फैलिएको सुदृढ सेवा सञ्जाल विस्तार गरेको छ ।
बैंकले हाल १६५ शाखा, ८८ शाखारहित बैंकिङ सेवा केन्द्र तथा ११ एक्सटेन्सन काउन्टरसहित कूल २७४ सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।
साथै, १९९ एटीएम बुथमार्फत बैंकले १८ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।