
मधेशको फराकिलो फाँटमा हुर्किएकी एउटा चेली जब पहाडको भिरालो बस्तीहरूमा मलम बनेर पुग्छिन्, तब भूगोलका कृत्रिम रेखाहरू आफैँ मेटिन्छन् । मानवताको साइनो कति गाढा हुन्छ भन्ने कुराको एउटा जीवन्त उदाहरण बनेकी छिन् डा. प्रतिभा महतो । उनी अहिले ताप्लेजुङको विकट भूगोलमा बसेर सयौँ आमा र नवजात शिशुको जीवनमा नयाँ मुस्कान भर्ने सारथि बनेकी छिन् । उनी ताप्लेजुङ जिल्ला मेडिकल अधिकृत पदमा कार्यरत छिन् ।
डा. प्रतिभाको जन्म र हुर्काइ जनकपुरको एउटा उच्च शिक्षित र बौद्धिक परिवारमा भयो । उनका बुबा डा. कलेश्वर महतो पेशाले वकिल थिए ।
आमा डा. श्यामा महतो शिक्षाविद् हुन् । उनले मैथिली भाषामा विद्यावारिधि गरेकी छिन् । आमा–बुबा दुवै विद्यावारिधि प्राप्त व्यक्तित्व हुनुले प्रतिभाको घरमा सानैदेखि अनुशासन र शिक्षाको विशेष महत्त्व थियो । श्यामा मैथिली भाषामा विद्यावारिधि गर्ने पहिलो नेपाली महिला हुन् । उनी हाल काठमाडौंमा शिक्षण पेशामा आबद्ध छिन् ।
चार भाइबहिनीमध्ये कान्छी छोरी हुन् प्रतिभा । उनले पाटन अस्पतालबाट एमबीबीएस पूरा गरेकी हुन् । उनका अन्य दाजुदिदीहरू पनि शिक्षा क्षत्रेमा अब्बल छन् । बुबाले सधैँ एउटै सपना देखाउनुहुन्थ्यो— ‘घरमा एकजना डाक्टर होस्, जसले असहाय र दुर्गमका मानिसको सेवा गरोस् ।’ बुबाको त्यही पवित्र इच्छालाई प्रतिभाले आफ्नो जीवनको लक्ष्य बनाइन् ।
मेहेनत र लगनशीलताकै कारण उनले चिकित्सा शास्त्र एमबीबीएस पूरा गरिन् र विसं. २०८१ सालमा पहिलो प्रयासमै लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी सरकारी सेवामा प्रवेश गरिन् । सुगम शहरका अस्पतालमा करियर बनाउने र निजी क्लिनिकबाट मनग्य आम्दानी गर्ने बाटो उनलाई खुला थियो, तर उनले भने ताप्लेजुङको दुर्गम बाटो रोजिन् । उनले जिल्ला अस्पताल सुनसरीमा पनि काम गरिन् ।
ताप्लेजुङ जिल्ला अस्पताल प्रदेश सरकार मातहतको १५ बेडको अस्पताल हो । त्यहाँको स्वास्थ्य सेवा चुनौतीपूर्ण पनि छ । यहाँको मुख्य समस्या भौगोलिक विकटता र प्रविधिको सीमितता हो । तराईका अस्पतालमा जस्तो यहाँ जटिल समस्या आउनेवित्तिकै अर्को अस्पतालमा रिफर गर्न सहज छैन ।

यहाँबाट सुविधायुक्त ठूला अस्पताल पुग्न ९ देखि १० घण्टाको कठिन यात्रा गर्नुपर्छ । प्रसव व्यथाले च्यापेकी आमा वा नाजुक अवस्थाको शिशुका लागि यो १० घण्टाको समय मृत्युसँगको सिधा लडाइँजस्तै हो ।
यस्तो जोखिमपूर्ण अवस्थामा रिफर गर्नुको सट्टा अस्पतालमै उपलब्ध स्रोतसाधन र आफ्नो दक्षता प्रयोग गरेर ज्यान जोगाउनु निकै ठूलो साहसको कुरा हो । डा. प्रतिभाको प्रसूति र गर्भपतन सेवाप्रति भने पहिलो इच्छा थिएन । दुर्गमका आमा र बच्चाको माया लागेर नै उनले गर्भपतन सेवाको तालिम लिइन् । महिलाले धेरैजसो महिला डाक्टर नै रोज्ने गरेका कारणले पनि उनी सबैकी प्यारी बनेकी छिन् ।
उनले सुनाएको एउटा घटनाले जोकोहीको मन छुन्छ । केही समयअघि एउटा शिक्षित परिवारका सदस्य डेलिभरीका लागि अस्पताल आएका थिए । बच्चाको मुटुको धड्कन निकै कम भइसकेको थियो भने पेटमा पानीको मात्रा लगभग सकिन लागेको थियो । परिवारको योजना तराईका सुविधासम्पन्न अस्पताल जाने थियो, तर प्रतिमालाई थाहा थियो— १० घण्टाको यात्रा त्यो बच्चाका लागि घातक हुनेछ ।
उनले परिवारलाई विश्वासमा लिइन् र जोखिम मोलेरै भए पनि यहीँ अप्रेसन गर्ने निर्णय लिइन् । जब बच्चा सकुशल जन्मियो र आमाको स्वास्थ्य पनि राम्रो भयो, तब ती परिवारको आँखामा देखिएको खुसी प्रतिमाका लागि सबैभन्दा ठूलो पदक बन्यो ।
ती परिवार अहिले पनि बेलाबेला उनलाई भेट्न अस्पताल आउँछन् । यो आत्मीयता नै उनको पेशागत कमाइ हो । उनले सेवा दिएका धेरै परिवारका सदस्यले अस्पतालमा आएर धन्यवाद दिने गरेका छन् ।
डा. प्रतिमाका लागि ताप्लेजुङ केवल कार्यक्षेत्र मात्र होइन, यो मधेश र पहाडबीचको भावनात्मक सम्बन्ध जोड्ने एउटा बलियो डोरी पनि हो । तराईमा काम गर्दा र पहाडमा काम गर्दाको अनुभव फरक रहेको उनी बताउँछिन् । तराईमा अस्पतालहरू नजिक छन्, विकल्प धेरै छन्, तर पहाडमा डाक्टरलाई अझै पनि भगवान्जस्तै श्रद्धा र विश्वास गरिन्छ ।

मधेशको भूगोल र संस्कृतिमा हुर्किएकी चेलीले पहाडको चिसो र विकटतालाई जसरी सहजै आत्मसात् गरेकी छिन्, त्यसले नेपालको आन्तरिक एकताको एउटा सुन्दर र प्रेरक तस्वीर प्रस्तुत गर्छ । उनका अन्य भाइबहिनी पनि जनस्वास्थ्य, कानून र इन्जिनियरिङजस्ता महत्त्वपूर्ण क्षेत्रमा अध्ययन र सेवामा लागेका छन् ।
डा. प्रतिमा महतो ती हजारौँ युवा चिकित्सकहरूका लागि प्रेरणा हुन् । अरूले शहरको भौतिक सुखमा मात्र भविष्य देख्छन् । दुर्गममा सेवा गर्दा भोग्नुपर्ने अभाव र चुनौतीभित्र लुकेको अनुपम आत्मसन्तुष्टि उनले ताप्लेजुङका बस्तीहरूमा फेला पारेकी छिन् ।

निक साइमन्स इन्स्टिच्युटजस्ता संस्थाहरूको सहयोग र प्रतिमाजस्ता प्रतिबद्ध चिकित्सकहरूको सक्रियताले गर्दा आज ताप्लेजुङका आमाहरूले अकालमा ज्यान गुमाउनुपरेको छैन । एउटा डाक्टर केवल ओखती दिने व्यक्ति मात्र होइन, ऊ समाजको भरोसा र मानवताको रक्षक पनि हो ।
जनकपुरकी चेलीले ताप्लेजुङमा त्यही भरोसाको ज्योति बालेर स्वास्थ्य सेवाको वास्तविक अर्थ बुझाइरहेकी छिन् । उनको यो यात्राले सिकाउँछ कि सेवाका लागि भूगोल र दूरी बाधक हुँदैन ।