०७ असार २०८३, आइतबार
भरोसाको मलम बोकेर पहाड चढेकी चेली

शहरको सुविधा त्यागेर दुर्गममा आमा–शिशुको जीवन जोगाउने डाक्टर

पुस २६, २०८२
विराटनगर
शहरको सुविधा त्यागेर दुर्गममा आमा–शिशुको जीवन जोगाउने डाक्टर

मधेशको फराकिलो फाँटमा हुर्किएकी एउटा चेली जब पहाडको भिरालो बस्तीहरूमा मलम बनेर पुग्छिन्, तब भूगोलका कृत्रिम रेखाहरू आफैँ मेटिन्छन् ।  मानवताको साइनो कति गाढा हुन्छ भन्ने कुराको एउटा जीवन्त उदाहरण बनेकी छिन्  डा. प्रतिभा महतो । उनी अहिले ताप्लेजुङको विकट भूगोलमा बसेर सयौँ आमा र नवजात शिशुको जीवनमा नयाँ मुस्कान भर्ने सारथि बनेकी छिन् । उनी ताप्लेजुङ जिल्ला मेडिकल अधिकृत पदमा कार्यरत छिन् ।  

डा. प्रतिभाको  जन्म र हुर्काइ जनकपुरको एउटा उच्च शिक्षित र बौद्धिक परिवारमा भयो । उनका बुबा डा. कलेश्वर महतो पेशाले वकिल थिए ।

आमा डा. श्यामा महतो शिक्षाविद् हुन् । उनले मैथिली भाषामा विद्यावारिधि गरेकी छिन् । आमा–बुबा दुवै विद्यावारिधि प्राप्त व्यक्तित्व हुनुले प्रतिभाको घरमा सानैदेखि अनुशासन र शिक्षाको विशेष महत्त्व थियो । श्यामा मैथिली भाषामा विद्यावारिधि गर्ने पहिलो नेपाली महिला हुन् । उनी हाल काठमाडौंमा शिक्षण पेशामा आबद्ध छिन् ।

चार भाइबहिनीमध्ये कान्छी छोरी हुन् प्रतिभा । उनले पाटन अस्पतालबाट एमबीबीएस पूरा गरेकी हुन् । उनका अन्य दाजुदिदीहरू पनि शिक्षा क्षत्रेमा अब्बल छन् ।  बुबाले सधैँ एउटै सपना देखाउनुहुन्थ्यो— ‘घरमा एकजना डाक्टर होस्, जसले असहाय र दुर्गमका मानिसको सेवा गरोस् ।’ बुबाको त्यही पवित्र इच्छालाई प्रतिभाले आफ्नो जीवनको लक्ष्य बनाइन् ।

मेहेनत र लगनशीलताकै कारण उनले चिकित्सा शास्त्र एमबीबीएस पूरा गरिन् र विसं. २०८१ सालमा पहिलो प्रयासमै लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी सरकारी सेवामा प्रवेश गरिन्  । सुगम शहरका अस्पतालमा करियर बनाउने र निजी क्लिनिकबाट मनग्य आम्दानी गर्ने बाटो उनलाई खुला थियो, तर उनले भने ताप्लेजुङको दुर्गम बाटो रोजिन् । उनले जिल्ला अस्पताल सुनसरीमा पनि काम गरिन् ।

ताप्लेजुङ जिल्ला अस्पताल प्रदेश सरकार मातहतको १५ बेडको अस्पताल हो ।  त्यहाँको स्वास्थ्य सेवा चुनौतीपूर्ण पनि छ ।  यहाँको मुख्य समस्या भौगोलिक विकटता र प्रविधिको सीमितता हो । तराईका अस्पतालमा जस्तो यहाँ जटिल समस्या आउनेवित्तिकै अर्को अस्पतालमा रिफर गर्न सहज छैन ।

null

 

यहाँबाट सुविधायुक्त ठूला अस्पताल पुग्न ९ देखि १० घण्टाको कठिन यात्रा गर्नुपर्छ । प्रसव व्यथाले च्यापेकी आमा वा नाजुक अवस्थाको शिशुका लागि यो १० घण्टाको समय मृत्युसँगको सिधा लडाइँजस्तै हो ।

यस्तो जोखिमपूर्ण अवस्थामा रिफर गर्नुको सट्टा अस्पतालमै उपलब्ध स्रोतसाधन र आफ्नो दक्षता प्रयोग गरेर ज्यान जोगाउनु निकै ठूलो साहसको कुरा हो । डा. प्रतिभाको प्रसूति र गर्भपतन सेवाप्रति भने पहिलो इच्छा थिएन । दुर्गमका आमा र बच्चाको माया लागेर नै उनले गर्भपतन सेवाको तालिम लिइन् । महिलाले धेरैजसो महिला डाक्टर नै रोज्ने गरेका कारणले पनि उनी सबैकी प्यारी बनेकी छिन् ।

डा. प्रतिमा महतोका लागि ताप्लेजुङ केवल कार्यक्षेत्र मात्र होइन, यो मधेश र पहाडबीचको भावनात्मक सम्बन्ध जोड्ने एउटा बलियो डोरी हो । जनकपुरकी चेलीले ताप्लेजुङमा भरोसाको ज्योति बालेर स्वास्थ्य सेवाको वास्तविक अर्थ बुझाइरहेकी छिन् । सेवाका लागि भूगोल र दूरी बाधक हुँदैन ।

उनले सुनाएको एउटा घटनाले जोकोहीको मन छुन्छ । केही समयअघि एउटा शिक्षित परिवारका सदस्य डेलिभरीका लागि अस्पताल आएका थिए । बच्चाको मुटुको धड्कन निकै कम भइसकेको थियो भने पेटमा पानीको मात्रा लगभग सकिन लागेको थियो ।  परिवारको योजना तराईका सुविधासम्पन्न अस्पताल जाने थियो, तर प्रतिमालाई थाहा थियो— १० घण्टाको यात्रा त्यो बच्चाका लागि घातक हुनेछ ।  

उनले परिवारलाई विश्वासमा लिइन् र जोखिम मोलेरै भए पनि यहीँ अप्रेसन गर्ने निर्णय लिइन् ।  जब बच्चा सकुशल जन्मियो र आमाको स्वास्थ्य पनि राम्रो भयो, तब ती परिवारको आँखामा देखिएको खुसी प्रतिमाका लागि सबैभन्दा ठूलो पदक बन्यो ।

ती परिवार अहिले पनि बेलाबेला उनलाई भेट्न अस्पताल आउँछन् । यो आत्मीयता नै उनको पेशागत कमाइ हो । उनले सेवा दिएका धेरै परिवारका सदस्यले अस्पतालमा आएर धन्यवाद दिने गरेका छन् ।

डा. प्रतिमाका लागि ताप्लेजुङ केवल कार्यक्षेत्र मात्र होइन, यो मधेश र पहाडबीचको भावनात्मक सम्बन्ध जोड्ने एउटा बलियो डोरी पनि हो । तराईमा काम गर्दा र पहाडमा काम गर्दाको अनुभव फरक रहेको उनी बताउँछिन् ।  तराईमा अस्पतालहरू नजिक छन्, विकल्प धेरै छन्, तर पहाडमा डाक्टरलाई अझै पनि भगवान्जस्तै श्रद्धा र विश्वास गरिन्छ ।

null

मधेशको भूगोल र संस्कृतिमा हुर्किएकी चेलीले पहाडको चिसो र विकटतालाई जसरी सहजै आत्मसात् गरेकी छिन्, त्यसले नेपालको आन्तरिक एकताको एउटा सुन्दर र प्रेरक तस्वीर प्रस्तुत गर्छ ।  उनका अन्य भाइबहिनी पनि जनस्वास्थ्य, कानून र इन्जिनियरिङजस्ता महत्त्वपूर्ण क्षेत्रमा अध्ययन र सेवामा लागेका छन् ।

डा. प्रतिमा महतो ती हजारौँ युवा चिकित्सकहरूका लागि प्रेरणा हुन् । अरूले शहरको भौतिक सुखमा मात्र भविष्य देख्छन् ।  दुर्गममा सेवा गर्दा भोग्नुपर्ने अभाव र चुनौतीभित्र लुकेको अनुपम आत्मसन्तुष्टि उनले ताप्लेजुङका बस्तीहरूमा फेला पारेकी छिन् ।

null

निक साइमन्स इन्स्टिच्युटजस्ता संस्थाहरूको सहयोग र प्रतिमाजस्ता प्रतिबद्ध चिकित्सकहरूको सक्रियताले गर्दा आज ताप्लेजुङका आमाहरूले अकालमा ज्यान गुमाउनुपरेको छैन  ।  एउटा डाक्टर केवल ओखती दिने व्यक्ति मात्र होइन, ऊ समाजको भरोसा र मानवताको रक्षक पनि हो ।

जनकपुरकी चेलीले ताप्लेजुङमा त्यही भरोसाको ज्योति बालेर स्वास्थ्य सेवाको वास्तविक अर्थ बुझाइरहेकी छिन् । उनको यो यात्राले सिकाउँछ कि सेवाका लागि भूगोल र दूरी बाधक हुँदैन ।

salt training

कमेन्ट गर्नुहोस्