
धैर्यता र निरन्तरताको फल कति मिठो हुन्छ भन्ने उदाहरण अमेरिकाको मिचिगनका एक ७३ वर्षीय वृद्धले प्रस्तुत गरेका छन्। विगत २० वर्षदेखि एउटै नम्बरको सेट प्रयोग गरेर चिठ्ठा (लोटरी) खेल्दै आएका उनले अन्ततः ३२.९१ मिलियन डलर (करीब ४ अर्ब ३७ करोड नेपाली रुपैयाँ) को बम्पर ज्याकपट जितेका छन्।
म्याकोम्ब काउन्टीका ती भाग्यशाली वृद्धले सन् २००४ देखि 'लोटो ४७' मा एउटै नम्बरहरू— ०२-०३-१२-१५-१६-३३ प्रयोग गर्दै आएका थिए। गत डिसेम्बर १३ को राति जब नतिजा सार्वजनिक भयो, उनले सोचेका पनि थिएनन् कि २० वर्षको पर्खाइ यसरी टुङ्गिनेछ।
आफ्नो जितबारे उनले भने, 'मैले टिकट चेक गर्दा सुरुमा तीनवटा नम्बर मिलेको देखेँ र सोचेँ– कम्तीमा ५ डलर त फिर्ता आएछ। तर जब बाँकी नम्बरहरू पनि मिलेको देखेँ, मलाई आफ्नै आँखामा विश्वास लागेन। मैले आँखा मिच्दै फेरि टिकट चेक गरेँ।'
उनले यो खुसीको खबर आफ्ना छोराछोरीलाई सुनाएका थिए, तर सुरुमा उनीहरूले पनि पत्याएनन्। 'छोराछोरीले पत्याउँदै पत्याएनन्, उनीहरू आफैँ आएर टिकट हेरेपछि मात्रै हाम्रो खुसीयाली सुरु भयो,' उनले बताए।
अर्बौँको यो सम्पत्ति जितेपछि उनको पहिलो योजना के होला? उनले रमाइलो पारामा भनेका छन्, 'मेरो लिस्टमा सबैभन्दा पहिलो काम भनेको आफ्नो लागि एक जोर नयाँ जुत्ता किन्ने हो।' त्यसबाहेक उनले एउटा नयाँ कार किन्ने र बाँकी रकम परिवारका सदस्यहरूसँग बाँड्ने योजना बनाएका छन्।
यो जित मिचिगनको 'लोटो ४७' को इतिहासकै सबैभन्दा ठूलो ज्याकपट रकम समेत बनेको छ।