२९ असार २०८३, सोमबार
अवसर र चुनौतीले भरिएको वर्ष

२०२६ मा नेपाली खेलकुद : विश्वकप क्रिकेटदेखि एसियाली खेलकुदसम्म, प्रतियोगिताको चाप र सम्भावना

माघ १, २०८२
काठमाडौं
२०२६ मा नेपाली खेलकुद : विश्वकप क्रिकेटदेखि एसियाली खेलकुदसम्म, प्रतियोगिताको चाप र सम्भावना

सन् २०२६ मा विश्व खेलकुदका थुप्रै ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुँदैछन् । फिफा पुरुष विश्वकप फुटबलको २३औँ संस्करण यसै वर्ष आयोजना हुँदैछ । आईसीसी पुरुष टी–२० विश्वकपको १०औँ संस्करण पनि यसै वर्ष खेलाइँदै छ ।

एसियाली महादेशकै सबैभन्दा बृहत् खेल मेला एसियाली खेलकुदको २०औँ संस्करण पनि यसै वर्ष जापानमा आयोजना हुँदैछ । यसै वर्ष शीतकालीन ओलम्पिक खेलकुद पनि आयोजना हुनेछ ।

फुटबल र क्रिकेटका अतिरिक्त यो वर्ष एथलेटिक्स, भलिबल, पौडी, टेनिस, हक्की, टेबलटेनिस, ब्याडमिन्टनलगायत विभिन्न खेलका थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता पनि आयोजना हुनेछन् ।

तर, यहाँ चर्चा गर्न लागिएको विषय नेपालले सन् २०२६ मा सहभागिता जनाउने र आयोजना गर्ने ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताबारे हो । यो वर्ष नेपालले आयोजना गर्ने ठूलो घरेलु प्रतियोगिताबारे पनि यहाँ उल्लेख गरिएको छ ।

आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट

सन् २०२६ मा नेपालले पहिलो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताका रूपमा आईसीसी महिला टी–२० विश्वकपको विश्वस्तरीय छनोट प्रतियोगितामा सहभागिता जनाउने छ । अझ, गौरवको विषय त यो विश्वस्तरीय छनोट प्रतियोगिता नेपालमै आयोजना हुँदैछ ।

छनोट प्रतियोगिता जनवरी १८ (माघ ४) देखि फेब्रुअरी ३ (माघ २०) तारिखसम्म आयोजना हुनेछ । सम्भवतः नेपालले आयोजना गर्न लागेको यो हालसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता पनि हो ।

यतिबेला नेपाल यो प्रतियोगिताको अन्तिम तयारीमा व्यस्त छ । अन्तर्राष्ट्रिय क्रिकेटमा बिस्तारै आफ्नो उपस्थिति दर्बिलो बनाउँदै लगेको नेपाली क्रिकेटका लागि यो निकै महत्त्वपूर्ण अवसर हो । यो प्रतियोगिताको सफलतासँग नेपाली क्रिकेटको सुखद भविष्य पनि जोडिएको छ ।

छनोट प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलाइने छन् । प्रतियोगितामा विश्वका विभिन्न महादेशबाट छनोट भएर आएका १० टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

यो छनोट प्रतियोगिताबाट चारवटा टोलीले सन् २०२६ मै आयोजना हुने आईसीसी महिला टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन् । महिला टी–२० विश्वकपको १०औँ संस्करण सन् २०२६ को जुन १२ देखि जुलाई ५ तारिख (२०८३ जेठ २९ देखि असार २१) सम्म इङ्ल्यान्ड र वेल्समा आयोजना हुनेछ ।

विश्वस्तरीय छनोट प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्यु गिनी (पीएनजी) र अमेरिका रहेका छन् । समूह ‘बी’ मा नेपाल, नेदरल्यान्ड्स, स्कटल्यान्ड, थाइल्यान्ड र जिम्बाब्वे छन् ।

नेपाल र थाइल्यान्ड भने नौ राष्ट्र सहभागी एसियाली क्षेत्रको छनोट प्रतियोगितामा अब्बल प्रदर्शन गर्दै विश्वस्तरीय छनोटमा उपस्थित भएका हुन् । सन् २०२५ को मेमा थाइल्यान्डमा खेलिएको एसियाली क्षेत्रको छनोट प्रतियोगितामा थाइल्यान्ड पहिलो र नेपाल दोस्रो भएका थिए ।

प्रतियोगिताको पहिलो दिन (जनवरी १८ तारिख) चार खेल हुनेछन् । पहिलो दिनको खेल बंगलादेश र अमेरिका, आयरल्यान्ड र पीएनजी, नेदरल्यान्ड्स र जिम्बाब्वे तथा नेपाल र थाइल्यान्डबीच खेलिने छ । प्रारम्भिक चरणको खेलपछि दुवै समूहबाट तीन–तीन टोली प्रतियोगिताको ‘सुपर–६’ चरणमा प्रवेश गर्नेछन् ।

‘सुपर–६’ चरणको खेलपछि अंक तालिकाको माथिल्लो चार स्थानमा रहने टोलीले आगामी महिला टी–२० विश्वकपमा स्थान बनाउने छन् । यद्यपि, ‘सुपर–६’ चरणको खेलपछि तालिकाको माथिल्लो चार स्थानमा रहने टोलीले सेमिफाइनल र फाइनल खेलका लागि पनि भिडन्त गर्नेछन् । प्रतियोगिताको दुवै सेमिफाइनल र फाइनल खेल भने कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलाइने छन् ।

नेपालमा आयोजना हुने विश्वस्तरीय छनोट प्रतियोगितामा सहभागी टोलीमध्ये बंगलादेशले यसअघि ६ पटक महिला टी–२० विश्वकप खेलिसकेको छ । यसका अतिरिक्त आयरल्यान्डले चार तथा स्कटल्यान्ड र थाइल्यान्डले एक–एक पटक विश्वकपको अनुभव बटुलिसकेका छन् ।

आईसीसी पुरुष टी–२० विश्वकप

आईसीसी टी–२० विश्वकपको १०औँ संस्करण फेब्रुअरी ७ (माघ २४) देखि मार्च ८ (फागुन २४) तारिखसम्म भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ । नेपालले पनि यो विश्वकपमा सहभागिता जनाउने छ । टी–२० विश्वकपमा नेपालको यो तेस्रो सहभागिता हुनेछ ।

यसअघि नेपाली टोलीले सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको थियो । त्यसपछि नेपालले सन् २०२४ मा दोस्रोपटक टी–२० विश्वकपमा सहभागिता जनाएको थियो । नेपालले लगातार दोस्रोपटक यो विश्वकप खेल्न लागेको हो ।

प्रतियोगितामा नेपालसहित २० टोलीले प्रतिस्पर्धा गर्नेछन् । आफूभन्दा निकै बलिया टेस्ट राष्ट्रहरूसँग खेल्न पाउनु नेपालजस्ता एसोसिएट सदस्य राष्ट्रका लागि गतिलो अवसर हो । नेपाल प्रतियोगिताको समूह ‘सी’ मा परेको छ ।

नेपालको समूहमा तीनवटा टेस्ट राष्ट्र वेस्ट इन्डिज, इङ्ल्यान्ड र बंगलादेश पनि छन् । इङ्ल्यान्ड र वेस्ट इन्डिज दुई–दुई पटकका टी–२० विश्वकप विजेता पनि हुन् । यसका अतिरिक्त, इटाली पनि यही समूहमा परेको छ । इटाली पहिलोपटक विश्वकपमा छनोट भएको हो ।

नेपालले आफ्नो पहिलो खेल फेब्रुअरी ८ तारिखमा इङ्ल्यान्डसँग, दोस्रो खेल फेब्रुअरी १२ तारिखमा इटालीसँग, तेस्रो खेल १५ तारिखमा वेस्ट इन्डिजसँग र चौथो खेल १७ तारिखमा बंगलादेशसँग खेल्नेछ ।

भारत, पाकिस्तान, नामिबिया, अमेरिका र नेदरल्यान्ड्स समूह ‘ए’ मा छन् । अस्ट्रेलिया, आयरल्यान्ड, ओमान, श्रीलंका र जिम्बाब्वे समूह ‘बी’ मा छन् । अफगानिस्तान, क्यानडा, न्युजिल्यान्ड, दक्षिण अफ्रिका र संयुक्त अरब इमिरेट्स (यूएई) समूह ‘डी’ मा रहेका छन् ।

क्रिकेट विश्वकप लिग–२ शृंखला

नेपाली क्रिकेट टोलीले आगामी मार्चमा आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको शृंखलामा सहभागिता जनाउँदै छ । यो शृंखला नेपालको घरेलु मैदानमै आयोजना हुनेछ । लिग–२ अन्तर्गत सन् २०२६ मा खेलिन लागेको यो पहिलो शृंखला हो ।

समग्रमा लिग–२ को यो १६औँ शृंखला हो । जारी सिजनको लिग–२ मा नेपालले खेल्न लागेको यो छैटौँ शृंखला हो । अर्को रमाइलो संयोग के हो भने, सन् २०२४ मा सुरु भएको लिग–२ को जारी शृंखला पनि यसै वर्ष समाप्त हुनेछ ।

null

सहभागी टोलीहरूका लागि विश्वकप लिग–२ प्रतियोगिता निकै महत्त्वपूर्ण छ । यो प्रतियोगिता सन् २०२७ मा आयोजना हुने आईसीसी पुरुष एकदिवसीय विश्वकपका लागि छनोटको आधारका रूपमा पनि रहेको छ ।

सन् २०२७ को एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा संयुक्त रूपमा आयोजना हुँदैछ । लिग–२ प्रतियोगिताको समाप्तिपछि अंक तालिकाको माथिल्लो चार स्थानमा रहने राष्ट्र सिधै सन् २०२७ को एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् ।

लिग–२ तालिकाको अन्तिम चार स्थानमा रहने राष्ट्रले भने विश्वकप क्वालिफायरका लागि प्ले–अफ चरण खेल्नु पर्नेछ । यसका अतिरिक्त, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट प्राप्त अस्थायी एकदिवसीय मान्यता जोगाउन पनि यो प्रतियोगिताको महत्त्वपूर्ण भूमिका रहन्छ ।

हाल आईसीसीबाट अस्थायी रूपमा एकदिवसीय मान्यता पाएका नेपालसहितका एसोसिएट्स सदस्य राष्ट्रको उक्त मान्यता सन् २०२६ को विश्वकप छनोटसम्म कायम रहने छ । यो सूचीमा स्कटल्यान्ड, यूएई, नेदरल्यान्ड्स, नामिबिया, ओमान, अमेरिका र क्यानडा पनि छन् ।

त्यसैले सहभागी टोलीहरूका लागि लिग–२ प्रतियोगिता निकै महत्त्वपूर्ण छ । लिग–२ अंक तालिकाको माथिल्लो चारभित्र पर्न सके नेपाल सिधै एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछ । अन्यथा नेपालले छनोट चरणमा प्रवेश गर्न प्ले–अफ खेल्नु पर्नेछ ।

छनोट चरण पार गर्दै तेस्रो पटक आईसीसी टी–२० विश्वकपमा छनोट भएको नेपाली टोलीले हालसम्म एकदिवसीय विश्वकप खेल्ने अवसर पाएको छैन । यो ऐतिहासिक उपलब्धि हासिल गर्न नेपालसामु जारी लिग–२ प्रतियोगितामा अब्बल प्रदर्शन गर्नुको विकल्प छैन ।

तर, जारी सिजनको लिग–२ प्रतियोगितामा नेपालको अवस्था खासै सन्तोषजनक छैन । आठ टोली सहभागी लिग–२ तालिकामा २४ खेलबाट ३६ अंक जोडेको अमेरिका पहिलो, समान खेलबाट ३० अंक जोडेको स्कटल्यान्ड दोस्रो र समान खेलबाट २८ अंक जोडेको नेदरल्यान्ड्स तेस्रो स्थानमा छन् ।

यसैगरी, २० खेलबाट २४ अंक जोडेको ओमान चौथो, २४ खेलबाट २१ अंक जोडेको क्यानडा पाँचौँ, २४ खेलबाट १९ अंक जोडेको नामिबिया छैटौँ, २० खेलबाट १२ अंक बटुलेको नेपाल सातौँ र समान खेलबाट १० अंक हात पारेको यूएई आठौँ स्थानमा आसिन छन् ।

त्यसैले आगामी मार्चमा घरेलु मैदानमा आयोजना हुने शृंखलामा अब्बल प्रदर्शन गर्नुको विकल्प छैन, नेपालसँग । यो शृंखलामा नेपालले ओमान र यूएईसँग प्रतिस्पर्धा गर्नेछ । सहभागी तीनवटै टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन् ।

यो शृंखलाका क्रममा आफूले खेल्ने चारवटै खेलमा जित हात पार्न सके नेपाली टोली २० अंकसहित तालिकाको छैटौँ स्थानमा उक्लने छ । नेपाली टोलीले लिग–२ को अर्को शृंखला आगामी अगस्टमा नेदरल्यान्डमा खेल्नेछ । उक्त शृंखलामा नामिबिया पनि सहभागी हुनेछ ।

त्यसपछि नेपाली टोलीले आगामी अक्टोबरमा ओमानमा अर्को शृंखला खेल्नेछ । उक्त शृंखलामा क्यानडा पनि सहभागी हुनेछ । नेपालले आफ्नो अन्तिम शृंखला आगामी नोभेम्बरमा घरेलु मैदानमा खेल्नेछ । उक्त शृंखलामा स्कटल्यान्ड र अमेरिका पनि सहभागी हुनेछन् ।

२०औँ एसियाली खेलकुद

नेपालले यो वर्ष खेल्ने अर्को ठूलो प्रतियोगिता एसियाली खेलकुद हो । प्रत्येक चार वर्षमा आयोजना हुने एसियाली खेलकुदको यो २०औँ संस्करण हो । एसियाली खेलकुदको यो संस्करण जापानमा सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म आयोजना हुँदैछ ।

null

सरकार र नेपाल ओलम्पिक कमिटीबीच देखिएको विवादका कारण यसअघि एसियाली खेलकुदमा नेपालको सहभागिता अन्योलमा परेको थियो । तर, वर्तमान युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आगामी एसियाली खेलकुदमा नेपालले सहभागिता जनाउने पक्का गरिसकेका छन् ।

आगामी एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो संख्यामा पदक जित्ने महत्त्वाकांक्षी लक्ष्यसहित राष्ट्रिय खेलकुद परिषद्ले लामो समयदेखि मिसन–२०२६ अभियान सञ्चालन गर्दै आएको छ । यो अभियानअन्तर्गत विभिन्न खेलका खेलाडी नियमित रूपमा विशेष प्रशिक्षणमा छन् ।

२०औँ एसियाली खेलकुद सकिएलगत्तै जापानमै आयोजना हुने पारा एसियाली खेलकुद प्रतियोगितामा पनि नेपाली खेलाडीले सहभागिता जनाउने छन् ।

साफ च्याम्पियनसिप फुटबल

यो वर्ष नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा सहभागिता जनाउने छ । साफ च्याम्पियनसिपको १५औँ संस्करण आगामी सेप्टेम्बर–अक्टोबरमा बंगलादेशमा आयोजना हुँदैछ ।

पुरुष साफ च्याम्पियनसिपमा दक्षिण एसियाका नेपालसहित भारत, बंगलादेश, भुटान, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाको सहभागिता रहने छ । नेपालले हालसम्म यो प्रतियोगिताको उपाधि जित्न सकेको छैन । नेपाली टोली सन् २०२१ मा उपविजेता बनेको थियो ।

भारतले हालसम्म नौपटक यो प्रतियोगिताको उपाधि जितिसकेको छ । माल्दिभ्सले पनि दुईपटक उपाधि चुमेको छ । बंगलादेश, अफगानिस्तान र श्रीलंकाले पनि एक–एकपटक उपाधि जितेका छन् । त्यतिबेला अफगानिस्तानलाई अतिथि टोलीका रूपमा प्रतियोगितामा सहभागी गराइएको थियो ।

यसैगरी, साफ महिला च्याम्पियनसिप पनि यसै वर्ष आयोजना हुने कार्यक्रम छ । साफ महिला च्याम्पियनसिपको आठौँ संस्करण सन् २०२६ मा भारतमा आयोजना हुने भनिए पनि हालसम्म मिति भने घोषणा गरिएको छैन ।

नेपालले हालसम्म महिला साफ च्याम्पियनसिपको उपाधि पनि जित्न सकेको छैन । हालसम्म भारतले सर्वाधिक पाँचपटक र बंगलादेशले दुई पटक यो प्रतियोगिताको उपाधि चुमेका छन् । नेपाली टोली ६ पटक उपविजेतामा समेटिएको छ । नेपाल साविक उपविजेता पनि हो ।

अन्य ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता

युथ ओलम्पिक खेलकुदको चौथो संस्करण सन् २०२६ को अक्टोबर ३१ देखि नोभेम्बर १३ तारिखसम्म सेनेगलको डाकारमा आयोजना हुँदैछ । अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी) ले यो प्रतियोगितामा नेपालले पनि सहभागिता जनाउने जनाएको छ ।

यसैगरी, यसै वर्ष चीनको सान्यामा एसियन बिच खेलकुदको छैटौँ संस्करण आयोजना हुँदैछ । प्रतियोगिता आगामी अप्रिल २२ देखि ३० तारिखसम्म आयोजना हुनेछ । यो प्रतियोगितामा पनि नेपालले भाग लिने अन्तर्राष्ट्रिय मान्यताप्राप्त एनओसीले जनाएको छ ।

यसैगरी, यसै वर्ष एसियन इन्डोर एन्ड मार्सल आर्ट्स गेम्स पनि आयोजना हुँदैछ । प्रतियोगिता साउदी अरेबियामा आयोजना हुने भनिए पनि आधिकारिक रूपमा मिति सार्वजनिक गरिएको छैन । यो प्रतियोगितामा पनि नेपालले भाग लिने एनओसीले जनाएको छ ।

अन्त्यमा, १०औँ राष्ट्रिय खेलकुदको झिनो आश

घरेलु खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता हो, बृहत् राष्ट्रिय खेलकुद । त्यसैले बृहत् राष्ट्रिय खेलकुदलाई घरेलु ओलम्पिकको संज्ञा पनि दिइन्छ । नेपालमा हालसम्म बृहत् राष्ट्रिय खेलकुदका नौ वटा संस्करण सम्पन्न भइसकेका छन् ।

१०औँ राष्ट्रिय खेलकुद आगामी फागुनमा कर्णाली प्रदेशमा आयोजना हुनेगरी मिति तय भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हालै सम्पन्न १२४औँ बोर्ड बैठकले पनि १०औँ राष्ट्रिय खेलकुद निर्धारित समयमै आयोजना गर्नेगरी तयारी अगाडि बढाउने निर्णय गरेको छ ।

यसअघि, राखेपको १२३औँ बोर्ड बैठकले आगामी फागुन १ देखि ७ गतेसम्म सुर्खेतलाई केन्द्र बनाएर कर्णाली प्रदेशका विभिन्न जिल्लामा १०औँ राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गरेको थियो ।

राखेपको पछिल्लो बोर्ड बैठकले निर्धारित समयमै १०औँ राष्ट्रिय खेलकुद आयोजना गर्न सातवटै प्रदेश खेलकुद विकास परिषद् र तीनवटा विभागीय टोलीसँग पत्राचार गर्ने निर्णय पनि गरेको छ । १०औँ राष्ट्रिय खेलकुदलगत्तै पहिलोपटक राष्ट्रिय पारा खेलकुद पनि आयोजना गर्ने निर्णय भएको छ ।

यसअघि, पटक–पटक १०औँ राष्ट्रिय खेलकुदको मिति परिवर्तन भइसकेको छ । त्यसैले यसपटक पनि निर्धारित समयमै प्रतियोगिता आयोजना हुनेमा खेलकुद क्षेत्र ढुक्क हुन सकिरहेको छैन । हालसम्म कानुनी प्रक्रिया अनुरूप, राखेपमा सदस्य–सचिवको नियुक्ति हुन सकेको छैन ।

१०औँ राष्ट्रिय खेलकुद आयोजना गर्ने भनिएको कर्णाली प्रदेशको खेलकुद विकास परिषद् पनि निकै लामो समयदेखि सदस्य–सचिव र पदाधिकारीविहीन अवस्थामा छ । बृहत् राष्ट्रिय खेलकुदका लागि सबैभन्दा महत्त्वपूर्ण मानिने खेलाडी छनोट प्रतियोगिता पनि हुन सकेको छैन ।

राष्ट्रिय खेलकुदका क्रममा आवश्यक पर्ने खेलकुद र अन्य सामग्री खरिद गर्न सार्वजनिक खरिद ऐन अनुसार आवश्यक पर्ने न्यूनतम समय पनि घर्किसकेको छ । कर्णाली प्रदेशको सुर्खेतस्थित मुख्य रंगशालाको थोरै काम अझै पनि बाँकी छ । यी र यस्ता अन्य केही कारणले निर्धारित समयमै १०औँ राष्ट्रिय खेलकुद आयोजना हुनेमा खेलकुद क्षेत्र पूर्ण रूपमा ढुक्क हुन नसकेको हो ।

salt training

कमेन्ट गर्नुहोस्