
आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो अन्तिम औपचारिक अभ्यास खेलमा नेपाली टोलीले अमेरिकाविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो । नेपाल र अमेरिकाबीचको खेल दिउँसो १ बजे शुरू हुनेछ ।
औपचारिक अभ्यास खेलमा नेपाली टोली पहिलो जितको खोजीमा भने अमेरिका लगातार दोस्रो सफलता हात पार्ने धुनमा छ ।
नेपाली टोली यसअघि खेलिएको आफ्नो पहिलो औपचारिक अभ्यास खेलमा निराशाजनक प्रदर्शन गर्दै आयरल्यान्डसँग ९९ रनको विशाल अन्तरले पराजित भएको थियो । अमेरिकाले भने आफ्नो पहिलो अभ्यास खेलमा स्कटल्यान्डलाई चार विकेटले हराएको थियो ।
यसैगरी, आफ्नो अन्तिम अभ्यास खेलमा बंगलादेशले थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बंगलादेशले टस जिती पहिले ब्याटिङको निर्णय लिएको हो ।
आईसीसी टी–२० विश्वकपको विश्वस्तरीय छनोट प्रतियोगिता माघ ४ देखि २० गतेसम्म नेपालमै आयोजना हुँदैछ ।