
सिन्धुलीको घ्याङलेख गाउँपालिका– २ हायुटारमा सञ्चालित एसबीआई बैंकको शाखा कार्यालयमा डकैती गर्ने योजना गत असोजदेखिकै रहेको तथ्य खुलेको छ ।
बैंक लुट्न पुस २३ मा दुईवटा मोटरसाइकलमा चारजना आए पनि परिस्थिति अनुकूल नभएपछि उनीहरू फर्किएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले गत पुस २९ गते राति भएको यो घटनामा सात जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेको बनेपा नगरपालिका– १० का भागवत सिंह थापा, सिन्धुली घ्याङलेख गाउँपालिका– २ का चतुरमान बज्यु, छविला स्याङ्तान, चितवन भरतपुरका शशांक श्रेष्ठ, नुवाकोट पञ्चकन्या गाउँपालिका– ५ का मिलन गिरी, विवेक मगर र एकजना १६ वर्षीय किशोर छन् ।

डकैत समूहले फालेको अवस्थामा प्रहरीले दुई करोड ६८ लाख ५५ हजार एक सय ७५ रुपैयाँ बरामद गर्न सफल भएको छ ।
त्यस्तै, डकैतीका क्रममा प्रयोग गरिएका प्लास्टिकका खेलौना पेस्तोल, दुई थान खुकुरी, ठूलो पानी टेप, कालो र रातो रंगको ४ वटा नकाब र एक जोर कालो पञ्जा बरामद भएको छ ।
सिन्धुलीका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीका अनुसार पक्राउ परेकामध्येका छविलाल स्याङ्तान बैंक रहेको घरका घरबेटी हुन् ।
उनले नै प्रहरीमा दिएको बयानअनुसार एसबीआई बैंकको शाखा कार्यालय लुट्ने योजना गत असोजमै बनाइएको थियो । तर, परिस्थिति अनुकूल नदेखिएपछि उनीहरू फर्किएका थिए ।
शुरूमा प्रहरीले लिपिखोला किनारमा टाटासुमो र यसका चालक भागवत सिंहलाई पक्राउ गरेको थियो । उनै सिंहले अपरिचित ६ जनाको समूहले विवाहका लागि भन्दै सुमो बनेपाबाट रिजर्भ गरी ल्याएको बयान दिएका थिए ।
प्रहरीले घटना भएकै दिन मध्यराति जंगलको विभिन्न स्थानमा लुकाएर राखेको अवस्थामा बोराभित्र एक करोड ८० लाख ५ सय रुपैयाँ बरामद गरेको थियो ।

भोलिपल्ट पुस ३० गते सिन्धुलीकै घ्याङलेख गाउँपालिका–१ सुकाचुरीमा चारजना क्रमश: श्रेष्ठ, गिरी, मगर र १६ वर्षीय किशोर शंकास्पद अवस्थामा हिँडेको देखेपछि प्रहरीले खानतलासी गर्दा उनीहरूको साथबाट पाँच लाख ९ हजार ६ सय ७५ रुपैयाँ बरामद भएको थियो ।
पक्राउ परेका चारैजनाले बैंक डकैत गरेको स्वीकार गरेपछि प्रहरीले उनीहरूकै सुराकीका आधारमा लुकाएर राखेको ८३ लाख ३५ हजार रुपैयाँ र बैंक डकैत घटनामा प्रयोग भएको सामानहरू बरामद गरिएको थियो ।
श्रेष्ठ, गिरी, मगर र १६ वर्षीय किशोरले प्रहरीलाई दिएको बयानबाटै बैंक राखिएको घरका धनी स्याङ्तान र गाउँकै बज्यूको संलग्नता र योजना रहेको खुलेपछि स्याङ्तान र बज्यूलाई पक्राउ गरिएको जानकारी एसपी सुवेदीले दिए ।
उनका अनुसार पक्राउ परेकामध्येका शशांक श्रेष्ठ योजनाकार मध्येका एक हुन् । गत असोज २३ मा दुईवटा मोटरसाइकलमा आएका चार जनामध्ये एकजना शशांक रहेको सुवेदीले बताए ।
उनले लोकान्तरसँग भने, ‘शशांकको लुटेरा समूहसँग पहिलेदेखि नै सम्पर्क रहेको देखिन्छ । बैंक रेकी गर्नेदेखि लुटपाटको योजना बनाउनेसम्म उसको सम्पर्क देखिन्छ ।’

कोटेश्वरमा बनेको थियो योजना
बैंक लुट्ने दोस्रो योजना पुस २८ गते काठमाडौंको कोटेश्वरमा बनेको थियो । योजनाअनुसार बैंकका घरबेटी स्याङ्तानबाहेक अरू पाँचजना कोटेश्वरमै भेला भएका थिए । स्याङ्तानले भने हतियारको व्यवस्थापन र सूचना आदानप्रदान गर्ने जिम्मेवारी लिएका थिए ।
पुस २९ गते कोटेश्वरदेखि सार्वजनिक यातायात चढेर डकैत समूह बनेपा पुगी टाटासुमो विवाहका लागि भन्दै रिजर्भ गरेर हिँडेका थिए ।
बैंकमा पुस २९ गते साँझ पुगेका डकैत समूहले पहिला सुरक्षा गार्ड र बैंकका कर्मचारीलाई नियन्त्रणमा लिए ।
शाखा प्रमुखलाई प्लास्टिकको पेस्तोल देखाए । बैंकमा पैसा जम्मा गरेर राखिएको भल्टको ताल्चा खोल्न लगाए । पैसा बोरामा हालेर भागे ।
प्रहरीलाई बैंकले जानकारी दिएअनुसार बैंकबाट डकैत समूहले तीन करोड ७ लाख रुपैयाँ लुटेर लगेका थिए ।
पक्राउ परेका ७ जनाविरुद्ध चोरी तथा डाँका मुद्दामा जिल्ला अदालत सिन्धुलीबाट अनुसन्धानका लागि ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जानकारी एसपी सुवेदीले दिए ।