
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको भ्रष्टाचार मुद्दामा विशेष अदालतको थुनछेक आदेशविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ ।
८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ भ्रष्टाचार मुद्दामा विशेषको आदेश बेरीतको भएको भन्दै प्रतिवादीहरूलाई थुनामा राखेर मुद्दाको पुर्पक्षको माग गर्दै आयोग सर्वोच्च पुगेको हो ।
विशेष अदालतले प्रतिवादीहरू मध्येका प्रदीप अधिकारीलाई ५ लाख र मुरारी भण्डारीलाई १ लाख धरौटी लिई मुद्दाको पुर्पक्ष गर्ने गरी मंसिर २३ गते गरेको आदेश त्रुटिपूर्ण भएको आयोगको जिकिर छ ।
त्यसैगरी, पुस १६ गते प्रतिवादीहरू अशोककुमार सुवेदी, सुवर्णराज उपाध्याय र महेशकुमार बस्नेतलाई साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश, पुस २४ गते प्रतिवादी नारायण गिरीलाई साधारण तारेखमा, पुस २९ गते प्रतिवादी बाबुराम पौडेललाई साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्ने गरी भएको विशेष अदालतको आदेश त्रुटिपूर्ण भएको तथा थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै आयोग सर्वोच्च पुगेको हो ।