
चिनियाँ विद्युतीय सवारी साधन निर्माता बीवाईडीले अन्तर्राष्ट्रिय बजारमा आफ्नो बिक्रीलाई आक्रामक बनाएको छ । सन् २०२५ मा बीवाईडीले आफ्नो बिक्रीलाई आक्रामक बनाउँदै नयाँ रेकर्ड कायम गरेको हो ।
विश्व बजारमा बीवाईडीको न्यून वर्गदेखि मध्यम वर्गसम्मको मूल्यले गाडीहरूको बिक्रीलाई आक्रामक बनाएको वित्तीय प्रतिवेदनले देखाएको छ ।
बीवाईडीले टेस्ला र अन्य घरेलु प्रतिस्पर्धीहरूलाई पछि पारेको छ । जसको प्रमुख कारण बीवाईडीको मूल्यमा प्रतिस्पर्धा हो । धेरै गाडी बिक्री गरेर बजार हिस्सा बढाउने लक्ष्यमा कम्पनी सफल भएको छ । यद्यपि आम्दानीमा भने केही गिरावट आएको कम्पनीले स्वीकार गरेको छ।
कम्पनीले हालै युरोप, ब्राजिल, थाइल्याण्ड र उज्बेकिस्तानमा नयाँ उद्योगहरूको निर्माण गर्न अरबौं डलर लगानी गरेको छ । बीवाईडीले विश्वव्यापी रूपमा आफ्नो उपस्थितिलाई बलियो बनाउँदै लगिरहेको छ ।
युरोपेली युनियन र अमेरिकाले चिनियाँ विद्युतीय सवारीमाथि लगाएको उच्च भन्सार शुल्कले पनि बीवाइडीको नाफामा केही प्रभाव देखाएको छ ।
नाफा घटे पनि बीवाईडीले अनुसन्धान र विकासमा भने लगानी कम गरेको छैन ।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) स्मार्ट ड्राइभिङ सफ्टवेयर र नयाँ पुस्ताको ब्याट्री प्रविधिमा कम्पनीले ठूलो रकम खर्च गरिरहेको छ । भविष्यमा प्रविधिमा अगाडि रहनका लागि अहिलेको नाफा त्याग गर्ने कम्पनीको रणनीति देखिएको छ ।