
पश्चिम नेपालको राजनीतिको केन्द्र हो, रुपन्देहीको बुटवल । रुपन्देही– २ मा पर्ने यो क्षेत्र १२ वर्षअघि (२०७०) देखि चर्चामा रहँदै आएको छ ।
२१ फागुनमा हुने आमनिर्वाचनमा यो क्षेत्रबाट अनुभवी राजनीतिज्ञ नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल उम्मेदवार छन् ।
खासगरी २०५१ बाट संसदीय राजनीतिको यात्रा शुरू गरेका पौडेल २०५६ देखि बुटवलबाट निरन्तर उम्मेदवार बन्दै आएका छन् ।
वि.सं. २०७० मा पूर्व प्रधानमन्त्री तथा तत्कालीन माओवादी नेता डा.बाबुराम भट्टराईलाई पौडेलले पाखा लगाएपछि यो क्षेत्र थप चर्चामा रहँदै आयो ।
२०७४ को निर्वाचनमा देशभरबाट आफ्ना प्रतिस्पर्धीलाई दोब्बर मतान्तरले हराएका ‘टप टेन’ नेतामा पौडेल पनि परेपछि झनै चर्चा चुलिएको थियो ।
बुटवल झरेर वि.सं. २०५६ को निर्वाचनमा पराजय भोगे पनि पौडेलले मुलुक शान्ति प्रक्रियामा आएपछि वि.सं. २०६४ यताका कुनै पनि निर्वाचनमा पौडेलको यात्रामा कसैले ‘ब्रेक’ लगाउन सकेका छैनन् ।

आउँदो २१ फागुनमा हुने निर्वाचनले यो क्षेत्रलाई पुन: चर्चामा ल्याइदिएको छ । २०६४ मा तत्कालीन माओवादी नेता भक्ति पाण्डे, २०७० मा माओवादी नेता भट्टराई, २०७४ मा नेपाली कांग्रेसका नेता युवराज गिरी र २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का गणेश पौडेललाई पछाडि पार्दै पौडेल विजयी भएका थिए ।
विगतका ३ वटा निर्वाचनमा फराकिलो र २०७९ को निर्वाचनमा १ हजार ३६६ मतान्तरले मात्र पौडेलले जितेपछि अहिलेको निर्वाचनको माहोलमा उपाध्यक्ष पौडेलको नतिजा कस्तो होला भन्ने आमचासो र चर्चा छ ।
साढे तीन वर्षअघि विष्णु पौडेल २७ हजार १४७ मत प्राप्त गर्दै रूपन्देहीबाट चौथोपटक विजयी हुँदा रास्वपाका गणेश पौडेल २५ हजार ७८१ मत पाएर दोस्रो भएका थिए । त्यस्तै, कांग्रेससहित तत्कालीन सत्ता गठबन्धनको समर्थन रहेका राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापाले २२ हजार ८ मत प्राप्त गरेका थिए । २०७४ मा भने, पौडेलले दोब्बरभन्दा बढी मतान्तरले जितेका थिए ।
पौडेलले ४४ हजार ९ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका युवराज गिरीले २१ हजार ९४९ मत मात्र ल्याएका थिए ।

पाँचौ जीत निकाल्ने योजनासहित चुनावमा होमिएका संसदीय राजनीतिका अब्बल खेलाडी पौडेलसँग अहिलेको निर्वाचनका प्रतिस्पर्धीहरू नयाँ अनुहार हुन् । ‘हेभीवेट’ उम्मेदवार पौडेलसँग कांग्रेसबाट राजनीतिको अनुभव कम रहेका चुन्न पौडेल उम्मेदवार छन् । त्यस्तै, रास्वपाबाट सुलभ खरेल प्रतिस्पर्धी छन् । खरेल गएको भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनमा सर्वोच्च अदालतमा आगजनीमा प्रत्यक्ष संलग्न भएको आरोप छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का विश्वदीप पाण्डे र नेपाल जनसेवा पार्टीका कमल भुसाल (निकोलस) पनि प्रतिस्पर्धामा छन् । अघिल्लो निर्वाचनमा निकोलसको उम्मेदवारी खारेज भएको थियो । यो पटक रुपन्देही– २ मा चौपक्षीय प्रतिस्पर्धा हुने विश्लेषण गरिएको छ । एमाले उपाध्यक्ष पौडेल, कांग्रेसबाट चुन्न पौडेल, नेकपाका पाण्डे र रास्वपाका खरेल मुख्य प्रतिस्पर्धी हुन् ।

कांग्रेसबाट रुपन्देही–२ मा प्रमुख प्रतिस्पर्धी प्रजापाल गिरी, युवराज गिरी टिकटका आकांक्षी र दाबेदार थिए । तर, उनीहरू दुवै जनालाई पाखा लगाएर व्यवसायी चुन्नलाई टिकट दिएपछि कांग्रेसमा असन्तुष्टि देखिन्छ ।
त्यस्तै, रास्वपाबाट वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को टीमका आशिष सुवेदीले पाएको भनिएको टिकट अन्तिम समयमा खोसेर खरेललाई दिएपछि रास्वपामा एउटा समूह असन्तुष्ट छ । यता विष्णु पौडेललाई पार्टीले पाल्पा– २ मा उम्मेदवार बनाउने सचिवालयको निर्णयपछि रुपन्देहीका जनता त्यसको विरुद्ध उभिएर बुटवल छाडेर जान नदिने भनी एकजुट भएपछि केन्द्रले आफ्नो निर्णय सच्चाउन बाध्य भयो ।
उपाध्यक्ष पौडेलले पनि आफूले रुपन्देही छाडेर अन्यन्त्रबाट संसदीय यात्रा सोच्न नसक्ने बताए । उनले भने, ‘रुपन्देहीका जनताबाट सधैँ विश्वास र माया पाएको छु । रुपन्देही मलाई छाड्न सक्दैन, मैले रुपन्देहीलाई छाड्न सक्दिनँ । यो निर्वाचनमा जनताले साँच्चै विवेक पुर्याउनुपर्ने बेला आएको छ । घाइते संविधान र लोकतन्त्रलाई सही मार्गमा ल्याउँदै यस क्षेत्रमा सञ्चालित विकास आयोजनालाई प्रभावकारी सञ्चालनमा ल्याउन आवश्यक छ ।’
पौडेललाई रुपन्देहीले राजनीतिक उचाई दियो । रुपन्देहीलाई पौडेलले विकास दिएको चर्चा निर्वाचन क्षेत्रमा हुने गरेको छ ।
उपाध्यक्ष पौडेलले रुपन्देहीको विकासमा कामसँगै जस पनि पाएका छन् । बुटवल अन्तर्राष्ट्रिय सभा हल (बीआईसीसी), अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल, लुम्बिनी सभा हल निर्माण, बुटवल–भैरहवा छ लेन सडक विस्तार, सिद्धबाबा सुरुङमार्ग, बुटवल नारायणगढ र बुटवल चन्द्रौटा सडक, तिनाउ नदीमा सिग्नेचर बृज, तिनाउ खोलाका विभिन्न ठाउँमा गरिएका पुल निर्माण, तिनाउ–दानव करिडोर, मोतीपुर औद्योगिक क्षेत्र, बुटवल मेडिकल कलेज, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लगायत थुप्रै पूर्वाधार विकासमा भएका कामको जस रुपन्देहीबासीले प्रभावशाली नेता पौडेललाई नै दिन्छन् ।
एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले पौडेलको पहलमा रुपन्देहीको विकासमा ठूलो योगदान पुगेको बताए । ‘रुपन्देहीका हरेक विकास आयोजना विष्णु पौडेलसँग जोडिएका छन्,’ अध्यक्ष गैरे भन्छन्, ‘रुपन्देहीवासीको चाहना, पौडेलको सपनाले यो सम्भव भएको हो । पौडेल अर्थमन्त्री हुँदा धेरै काम गर्नुभएको छ । उहाँ नभएको भए यो क्षेत्रमा यति विकास सम्भव हुन सक्ने थिएन । यो मैले एमाले अध्यक्ष भएर भनेको होइन, सबैले स्वीकार गर्ने विषय हो’
उपाध्यक्ष पौडेलसँग पार्टीभित्र सहमति जुटाउने, निर्णय कार्यान्वयन गर्ने र नेतृत्व तहमा समन्वय गर्न सक्ने क्षमता छ । अर्थमन्त्री हुँदा राज्य संयन्त्र, बजेट प्रक्रिया र नीतिगत निर्णयमा राम्रो पकड बनाएका छन् । संसद् र गठबन्धन राजनीतिमा रणनीतिक रूपमा सोच्ने क्षमता राख्नुका साथै सत्ता–प्रतिपक्ष दुवै भूमिकामा काम गरेको अनुभवले उनलाई व्यावहारिक राजनीतिज्ञ बनाएको देखिन्छ । राजनीतिक विश्लेषक रामचन्द्र श्रेष्ठ जिल्लाका लागि एमालेले मात्र नभई गैर एमालेले पनि विश्वास गर्ने नेता पौडेल रहेको बताउँछन् । श्रेष्ठले रुपन्देहीमा पौडेलको पहलमा ठूला विकास आयोजना अगाडि बढेको भन्दै अब रोजगारसँग जोड्न आवश्यक रहेको बताए ।
पौडेलका लागि राजनीतिमा देखिएको पछिल्लो ‘पपुलिजमको वेभ’ भने चुनौतीका रूपमा अगाडि आएको उनको भनाइ छ ।
यता कांग्रेसका नेता तथा उम्मेदवार चुन्न पौडेल पनि सफल उद्योगीका रूपमा चिनिन्छन् । बुटवलमा हालै खुलेको पाँचतारे होटल ह्यात प्यालेसदेखि एशोदा फूडस र बुटवल हस्पिटल प्रालिका सञ्चालक उनले देशमै प्रत्यक्ष रोजगारी सिर्जना पनि गरेका छन् । आफू निर्वाचित भए यस क्षेत्रमा ठूलो बाह्य लगानी भित्र्याएर उद्योगको हव बनाउने उनको बाचा छ ।
‘मैले अहिले पाँच/सात उद्योग चलाएको छु,’ उनले भने, ‘स्वास्थ्य क्षेत्रमा काठमाडौंपछि सुविधासम्पन्न हस्पिटल यहाँ छ । जनताको माया र सद्भाव पाउने अपेक्षा मेरो छ ।’
यता रास्वपाका खरेलले देशभरबाट योपटक मत बदलिने विश्वास व्यक्त गरे ।
‘जेनजी आन्दोलनले देशमा भ्रष्टाचार, बेतिथि, अत्याचार र केही सीमित वर्गले राज्यसत्ता कब्जा गर्यो भन्ने बुझेर युवाहरू सडकमा आएका हुन्,’ खरेल भन्छन्, ‘आन्दोलनपछि देशभरबाट हामीलाई माया गरिरहनुभएको छ । भ्रष्टाचाररहित विकास र युवालाई देशमा रहने वातावरण सिर्जना गर्ने हाम्रो लक्ष्य हो ।’

निकोलस भुसालले आफू डाक्टर भएको नाताले जनताले विजयी गराए देशलाई सबै क्षेत्रमा स्वस्थ बनाउने बताए ।
नेकपाका उम्मेदवार विश्वदीप पाण्डेले योपटक पार्टीले युवालाई प्राथमिकता दिएकाले आफ्नै गृह क्षेत्रमा जनताको विश्वास पाउने गरी अघि बढेको बताए ।

यो निर्वाचन क्षेत्रमा रुपन्देहीका १ देखि १३ नम्बरसम्मका वडा, तिलोत्तमाका १ देखि ६ सम्मका वडा र सैनामैनाका १ देखि ४ सम्मका वडा पर्छन् । यहाँ १ लाख ३५ हजार ५० मतदाता रहेका छन् । पश्चिम नेपालको आर्थिक र व्यापारी नगरी बुटवल लुम्बिनी प्रदेशको अस्थायी मुकाम समेत रहिसकेको शहर हो ।