२२ जेठ २०८३, शुक्रबार
चुनावी सुरक्षा सतर्कता

उम्मेदवारको सुरक्षामा प्रहरीको ध्यान: हाई–प्रोफाइलका क्षेत्र बढी संवेदनशील

माघ ८, २०८२
काठमाडौं
उम्मेदवारको सुरक्षामा प्रहरीको ध्यान: हाई–प्रोफाइलका क्षेत्र बढी संवेदनशील

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि राजनीतिक दलप्रतिको आमधारणा त्यति सकारात्मक छैन । दलहरूले केही पनि गरेनन्, भ्रष्टाचारमा लिप्त भए भन्नेजस्ता भाष्य बनाइएको छ ।

यही रापतापबीच फागुन २१ को प्रतिनिधिसभा सदस्य  निर्वाचनमा ठूला दलका शीर्ष नेताहरू प्रतिस्पर्धामा होमिएका छन् । गृह मन्त्रालयले पूर्व प्रधानमन्त्री, पूर्व सभामुखदेखि पूर्व मन्त्रीसम्मको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी (पीएसओ र चालकबाहेक) अरू खोसिदिएको छ ।

खासगरी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपाकै अर्का नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल लगायत शीर्ष नेताहरूको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी कटौती गरिएको छ ।

एकातिर सुरक्षाकर्मी कटौती र अर्कोतर्फ चुनावी मैदानमा कार्यकर्ताको तडकभडक शैलीले गर्दा उम्मेदावरमाथि सुरक्षा चुनौती बढेको छ ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले उम्मेदावर मात्रै नभएर मतादाताको सुरक्षामा समेत ध्यान दिएर सुरक्षाकर्मी परिचालन र व्यवस्थापनमा ध्यान दिन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको बताए ।

‘पहिलो कुरा त राजनीतिक दलहरूले पनि घरदैलो वा र्‍याली निकाल्दा सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई जानकारी दिनुभयो भने सुरक्षा व्यवस्थापन गर्न सजिलो हुन्छ,’ काफ्लेले लोकान्तरसँग भने, ‘घरदैलो र र्‍याली जुध्न पाएन भने यसै पनि स्वतन्त्र रूपमा चुनावी प्रचार गर्न पाइयो, त्यहाँ मुडभेडका कुरा आउँदैनन्, मन्त्रालयले सबै उम्मेदवारमाथि हुन सक्ने सुरक्षा थ्रेटलाई मध्यनजर गरेर सुरक्षाकर्मी परिचालन गर्न सीडीओसाबहरूलाई स्पष्ट निर्देशन दिएको छ ।’

काफ्लेका अनुसार एकीकृत सुरक्षा योजना बमोजिम सुरक्षाकर्मीहरू परिचालित भइरहेका छन् । आगामी निर्वाचनमा ६८ दलका तीन हजार चार सय ८६ जना उम्मेदवार मैदानमा छन् ।

‘भेट्रान’ उम्मेदवारको सुरक्षा चुनौती

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पुरानै निर्वाचन क्षेत्र (झापा– ५) बाट उम्मेदवारी दिएका छन् ।

उनीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन्द्र (बालेन) शाह प्रतिस्पर्धामा उत्रिएका छन् ।

ओली र शाहसँगै कांग्रेसबाट मन्दरा चिमोरिया र नेकपाबाट रञ्जित तामाङ प्रतिस्पर्धामा छन् ।

null

बालेन एमाले अध्यक्ष ओलीसँगै प्रतिस्पर्धा गर्ने भनेर झापा गएका हुन् । काठमाडौं– २ का स्थायी बासिन्दा बालेनको पुर्ख्यौली घर महोत्तरी हो ।

उम्मेदवारी दर्ताकै दिन दमकमा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप भएको थियो ।

निर्वाचनमा प्रतिस्पर्धी दलका नेता तथा कार्यकर्ताले एकले अर्कालाई देखि नसहने प्रवृत्ति झापा– ५ पनि दोहोरिने प्रस्ट छ । बालेनसँग कार्यकर्ताभन्दा पनि शुभेच्छुकको भीड बलियो छ । रैथाने ओलीसँग वडा तहदेखि नै कार्यकर्ताको साथ छ ।

null

यस्तोमा चुनावी घरदैलो र नारा/जुलुसमा दुईतर्फी मुठभेड हुन सक्ने जोखिम छ । पूर्व प्रधानमन्त्रीको हैसियतमा ओलीले पाउने सुरक्षाकर्मी मात्रै उनको सुरक्षाका लागि पर्याप्त देखिँदैन ।

स्रोतका अनुसार ओलीलाई सुरक्षा दिन सादा पोशाकमा सुरक्षाकर्मी खटाइएको छ । यद्यपि, युवा संघले पनि ओलीको सुरक्षा गर्दै आएको छ ।

स्रोतले भन्यो, ‘दुवैका कार्यकर्ता/समर्थकले संयम गुमाए भने घटनाले अर्कै रूप लिने देखिन्छ । ओली/बालेनले संयम भएर प्रतिस्पर्धा गर्न जरुरी छ ।’

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले पूर्वी रुकुममा नेपाली कांग्रेसका कुसुम थापा मगर र एमालेका लीलामणि गौतमसँग प्रतिस्पर्धा गर्दैछन् ।

प्रचण्डले यसअघि पहिलो संविधानसभामा २०६४ मा रोल्पा– २ र काठमाडौं –१० बाट चुनाव जितेका थिए ।

त्यसपछि २०७० मा सिरहा, २०७४ मा चितवन– ३ र २०७९ मा गोरखा– २ बाट लगातार जितेका प्रचण्ड आगामी फागुन २१ मा रुकुम पूर्व पुगेका छन् ।

माओवादी जनयुद्धको नेतृत्व गरेका प्रचण्डले पार्टीको नाम चारपटक फेरे । शान्ति प्रक्रियाका महत्त्वपूर्ण काम अझै टुंगिएका छैनन् । केही पूर्व माओवादी लडाकूहरू प्रचण्डसँग असन्तुष्ट छन् ।

null

यस्तो अवस्थामा दुर्गम पहाडी जिल्ला रुकुम पूर्वबाट निर्वाचनमा होमिएका उनीमाथि सुरक्षा ‘थ्रेट’ बढेको बुझाइ सुरक्षा निकायको छ ।

प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले भने, ‘उहाँमाथि हुनसक्ने सुरक्षा थ्रेटको विश्लेषण गरेर सोहीअनुसार सुरक्षाकर्मी परिचालित गरेका छौं ।’

विगतमा प्रचण्डलाई साथ दिएका जनार्दन शर्मा प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेर रुकुम पश्चिमबाट चुनाव लड्दैछन् ।

शर्माले प्रचण्ड उठेको रुकुम पूर्वमा जनयुद्धका शहीदका छोरा सन्दीप पुनलाई प्रतिस्पर्धी उम्मेदवार बनाएका छन् ।

माधव नेपाल रौतहट –१ बाट चुनाव लड्दैछन् । नेपालका प्रत्यासी नेपाली कांग्रेसबाट अनिलकुमार झा छन् । राजनीतिक दलकै क्रमश: नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट प्रतिस्पर्धी अमेरशकुमार सिंह (रास्वपा) चुनाव भिड्दैछन् ।

ठूलो दल कांग्रेसका सभापति गगनलाई भावी प्रधानमन्त्रीको रूपमा हेरिएको छ । उनलाई जसरी परिन चुनाव जित्नुपर्ने दबाब छ । उनका प्रतिस्पर्धी सिंह सर्लाहीका रैथाने हुन् ।

नयाँ लहर चलिरहँदा रास्वपाबाट टिकट पाएका सिंहले थापालाई जसरी पनि हराएर आफू जित्ने उद्घोष गरेका छन् । काठमाडौं– ४ छाडेर सर्लाही पुगेका गगन आफ्नै पार्टीका कार्यकर्ताले साथ दिनेमा आशावादी देखिन्छन् ।

null

पूर्व स्वास्थ्यमन्त्री समेत रहेका गगनले अतिरिक्त सुरक्षाकर्मी लिएका छैनन् । सर्लाहीका कार्यकर्ताकै भरमा चुनावी घरदैलो गर्नुपर्ने बाध्यता छ । तर, सुरक्षा निकायले भने उनी हिँड्ने क्षेत्रमा निगरानी बढाइने जनाएको छ ।

चितवन– २ बाट रास्वपाका सभापति रवि लामिछाने प्रत्यासीहरू कांग्रेसकी मीनाकुमारी खरेल, एमालेका अस्मिन घिमिरे र नेकपाका प्रताप गुरुङसँग भिड्दैछन् ।

लामिछानेले आफू सजिलै चुनाव जित्ने उद्घोष गरेका छन् । उनीमाथि लागेको सहकारी ठगी प्रकरणको मुद्दा अहिले पनि टुंगिएको छैन ।

सहकारी पीडितहरूले घुसपैठ गरेर लामिछानेमाथि आक्रमण गर्न सक्ने चुनौतीबारे सुरक्षा निकाय जानकार छन् । यस्तो अवस्थामा सुरक्षा निकायले लामिछानेलाई आक्रमणबाट जोगाउने रणनीति तय गर्नुपर्ने देखिन्छ ।

प्रधानमन्त्री डा. बाबुराम भट्टराई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट गोरखा– २ मा निर्वाचनमा लड्दैछन् ।

उनका प्रतिस्पर्धीहरू नेपाली कांग्रेसबाट प्रकाशचन्द्र दवाडी, नेकपा एमालेबाट मिलन गुरुङ र नेकपाबाट लेखनाथ न्यौपाने छन् । एमालेले मिलन गुरुङ (चक्रे मिलन) लाई अगाडि सारेको छ । गुण्डा नाइके चक्रे काठमाडौंदेखि लावालस्कर लिएर उम्मेदवारी दर्ता गर्न पुगेका थिए । युवा उम्मेदवार भनेर नेकपाले न्यौपानेलाई भट्टराईको प्रतिस्पर्धी बनाएको छ ।

null

सप्तरी –३ मा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवको उम्मेदवारी छ । उनका प्रतिस्पर्धीहरू एमालेका ताराकान्त चौधरी, कांग्रेसबाट दिनेशकुमार यादव र जनमतबाट सुरेन्द्रप्रसाद शर्मा सहितले उम्मेदवारी दिएका छन् ।

उपचुनावमा बाराबाट उठेका यादव पुन: सप्तरी फर्किएका छन् । राजनीतिमा जनमत र खासगरी सीके राउत उदाएपछि यादवले सप्तरी छाड्न बाध्य भएका थिए । अहिले पुन: सप्तरीमै फर्किएका यादवमाथि चुनाव जित्नैपर्ने दबाब छ । तर, निर्वाचन क्षेत्र फेर्दै फर्किँदै गरेका यादवमाथि सुरक्षा चुनौती बढ्दो छ । उनको निर्वाचन क्षेत्रमा जनमतको घुसपैठ हुनेबारे सुरक्षा निकाय जानकार रहेको छ ।

सप्तरी–२ बाट जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत लाई स्वाभिमान पार्टीका सतिश सिंह र जसपा नेपालका उमेश यादवले चुनौती दिएका छन् ।

जनमतबाटै मधेश प्रदेश सरकारको मुख्यमन्त्री बनेका सिंह र राउतबीच अहिले हार्दिकताको सम्बन्ध छैन । विगतमा माओवादी हुँदै अहिले जसपा प्रवेश गरेर टिकट पाएका यादव पनि बलिया उम्मेदवार मध्येका एक हुन् ।

‘सुरक्षा चुनौती र संवेदनशीलताको विश्लेषण गर्दा सप्तरी –२ पनि अति संवेदनशील भित्रै पर्छ । त्यहाँ मतदान केन्द्रको मात्रै नभएर नेताको सुरक्षामा पनि उत्तिकै ध्यान दिन्छौं,’ प्रहरी मुख्यालयका एक उच्च अधिकृतले लोकान्तरसँग भने, ‘कार्यकर्ता भड्किन नदिन सोही अनुसार सुरक्षाकर्मी परिचालन गर्छौं ।’

salt training

कमेन्ट गर्नुहोस्