२४ जेठ २०८३, आइतबार
जीवनदर्शन

मानवसभ्यताको उद्विकास आर्य र आर्यावर्तबाट !

माघ १०, २०८२
काठमाडौं
मानवसभ्यताको उद्विकास आर्य र आर्यावर्तबाट !

ऋग्वेद, शतपथब्राह्मण, विष्णुपुराण, मत्स्यपुराण तथा अन्य केही पुराणहरूमा कतै प्रष्ट र कतै साङ्केतिकरूपमा फेला पर्ने सुषानगरी, ऐलभूमि, सप्तसिन्धु, जलप्रलय आदि स्थान र घटनाका सम्बन्धमा पाश्चात्य पुरातत्वविद्हरूले पनि यथावसर उल्लेख गरेका छन् । मात्र फरक हाम्रा उल्लिखित धार्मिकग्रन्थहरूमा छरपष्ट तथा अव्यवस्थित वर्णन भेटिन्छन्, जसले गर्दा त्यहाँ यस्ता कुराहरूको घुर्मैलो प्रकाशमात्र फेला पर्न सक्दछन् तर पुरातत्वविद्हरूले भने स्प्रष्ट, शीलशीलाबद्ध र सुव्यवस्थित ढङ्गले वर्णन गरेका भेटिन्छन् । उदाहरणका लागि पर्शिया, अरब, अफ्रिका, मिश्र तथा मध्यएशियाको प्राचीन इतिहासलाई नै लिन सकिन्छ । यस आलेखमा यी दुवै चित्रको समन्वयात्मक विश्लेषण गर्ने जमर्को गरिएको छ ।

भागवतपुराणमा उल्लेख भएअनुसार वर्तमान कल्पको आदिममानव स्वयम्भू मनु मानिएका छन् । उनको शतरूपा नामक भार्याबाट प्रियव्रत र उत्तानपाद दुई पुत्र भएका थिए । स्वयम्भू मनु तपस्याखातिर हिँडेपछि उनको भोगभूमि भूमण्डलको साम्राज्य उनकै जेष्ठपुत्र प्रियव्रतले समालेका थिए । उनको विश्वकर्मापुत्री बहिस्मतिबाट १० पुत्र भएका थिए । उनीहरूमध्ये तीन भाइ नैष्ठिक ब्रह्मचारी भएर रहे भने बाँकी आग्निध्र आदि सात भाइले भूमण्डलको सत्ता समाले, जसलाई प्रियव्रतले सातभाग (द्वीप) मा विभक्त गरेर दिएका थिए ।  उनका अर्की भार्याबाट उत्तम, तामस, रैवत तीन पुत्र भएका थिए, जो पछि गएर मन्वन्तराधिपति हुन पुगे ।

यीमध्ये जेठा आग्निध्र जम्बुद्वीप (एशिया)को सम्राट् बनेका थिए । उनका पूर्वचिति  भार्याबाट नौ पुत्र भएका थिए, जसलाई उनले आफ्नो साम्राज्यलाई नौ खण्डमा विभाजन गरी एकएकखण्डको राज्य दिएका थिए । तीमध्ये जेठा नाभिको भागमा परेको भूखण्डलाई हिमवर्ष भनिन्थ्यो, जसमा हिमलायदेखि अरबसम्मको भूखण्ड समावेश थियो । नाभिपुत्रका नाम ऋषभ थियो, जो जैनहरूको आदि तीर्थङ्कर मानिन्छन् ।

हालको भारतको उत्तरकोशलतिर जन्मेर मानसरोवरक्षेत्रमा निर्वाण प्राप्त गरेका ऋषभको १०० पुत्र थिए । तीमध्ये जेठा भरत थिए । बाबुको शेषपछि उनी नै पैतृकराज्यको सम्राट् बने । उनी निकै पराक्रमी राजन्य थिए । उनकै नामबाट बाबु ऋषभबाट परम्परागतरूपमा प्राप्त साम्राज्य हिमवर्ष (हिमालयदेखि अरबसम्मको भूभाग) को नाम भारतवर्ष कहलाउन लाग्यो ।

उल्लिखित तथ्यहरूको आधारमा के अनुमान लगाउन सकिन्छ भने हालको मध्यएशिया, मध्यपूर्व एशिया तथा दक्षिणपूर्वी युरोप र उत्तरअफ्रिकी मुलुकहरूमा मानवबस्ती बसाउने काम आर्यहरूले नै गरेका हुन् ।

यसरी एशियाको समग्र भूभाग प्रियव्रतपुत्र आग्निध्रको वंशजले उपभोग गरेका थिए भने अन्य द्वीपको स्वामित्व उनका अन्य छ पुत्र र तिनका वंशजहरूको अधीनमा रहेको रहेको थियो । (भागवत ५।१–२०)

स्वयम्भूपुत्र प्रियव्रतको शाखामा चार मनु र ३५ प्रजापति भएका थिए । मनुहरूमा उनकै भाइहरू स्वारोचिष् उत्तम, तामस र रैवत थिए भने प्रजापतिहरूमा उनका वंशज पर्दछन् । त्यस्तै स्वयम्भूकै अर्का पुृत्र उत्तानपादको शाखामा भने एक मनु र १० प्रजापति भएका थिए । मनुमा चाक्षुषको नाम आएको, जो छैटौँ मनु मानिएका छन् भने उनका पालामा भएका प्रजापतिहरूमा धु्रव, बेन, पृथु, प्राचीनबर्ही तथा उनका पुत्रहरू १० भाइ प्रचेताहरू पर्दछन् ।

यीमध्ये पृथु वेदर्षि र निकै पराक्रमी सम्राट् मानिएका छन् । उनको कार्यकालमा भूविकासको क्षेत्रमा निकै प्रगति भएको देखिन्छ । उनकै नामको आधारमा भूगोलको नाम पृथिवी रहेको पाइन्छ भने कृषिव्यवसायको शुरूवातकर्ता पनि उनी नै मानिएका छन् ।

उल्लिखित छ मनुको कार्यकाललाई सत्ययुग भनिन्छ तर यस युगको विशेषतलाई भने दुई क्षेत्रमा विभाजन गरेर अध्ययन गर्न सकिन्छ, जसमा ऐतिहासिक क्षेत्र र सांस्कृतिक क्षेत्र पर्दछन् । यिनमा ऐतिहासिक क्षेत्रमा स्वयम्भू आदि छ वटा मनु तथा मनुपुत्र र प्रियव्रत शाखामा भएका ३५ प्रजापति एवं उत्तानपाद शाखामा भएका १० प्रजापतिका कार्यकाललाई लिन सकिन्छ भने साँस्कृतिक क्षेत्रलाई पनि दुई भागमा विभक्त गरेर अध्ययन गर्न सकिन्छ, जसमा प्राग्वैदिककाल र वेदोदयकाल पर्दछन् ।

यीमध्ये ३९ औँ प्रजापतिसम्मको समयलाई प्राग्वैदिक काल मान्ने गरिएको छ भने त्यसपछिको समयलाई वेदोदयकाल भन्ने गरिएको छ । वैकुण्ठपुरीको निर्माण, भूविभाजन तथा भूसंस्कार, कृषिराज्यको स्थापना, पर्शियामाथि भरतहरूको आक्रमण तथा जलप्रलय आदि घटना यसै समयमा भएका हुन् ।

चाक्षुष मनु निकै प्रभावशाली राजन्य थिए । उनका उनीजत्तिकै प्रभावशाली पाँच पुत्र थिए उनीहरूमध्ये कान्छा तपोरतको पुत्र अङ्गिरा पनि पितृव्यहरूजत्तिकै प्रभावशाली मानिन्थे । उनीहरू छ जना मिलेर पर्शियन क्षेत्रलाई हस्तावलम्बन गरेका थिए । उनीहरूमध्ये पुरको उपनिवेश पर्शिया (ईरान) मा, उरको उपनिवेश उर प्रदेश अर्थात् मेसोपोटामिया हालको इराकमा, अङ्गिराको उपनिवेश कुशद्वीप अर्थात् हालको उत्तरअफ्रिकीमुलुकहरू र तपोरतको उपनिवेश तपोपुरी सत्यलोक अर्थात् वैकुण्ठलोक (ककेlिशयायी पर्वतीय इलाका) आदि रहेको थियो । उनीहरू छ जनाले यस क्षेत्रमा यति ठूलो प्रभाव छाडेका थिए कि शायद त्यसैले होला उनीहरूलाई पर्शियनहरू उपास्यदेव मान्ने गर्दथे ।

तथापि यथार्थ के हो भने चाक्षुषमन्तरको अन्त्यमा काश्यपसागर र पर्शियनखाडीको जलस्तर बढेर यस क्षेत्रमा एउटा भयङ्क जलप्रलय भएको थियो, जसले लामो समयसम्म यस क्षेत्रलाई डुवानमा पारेको थियो । त्यसपछिमात्र वैवस्वत मनुको कार्यकाल शुरू भएको पाइन्छ, जसलाई सातौँ मन्वन्तरको समय भनिन्छ । उनका बाबुको नाम अदितीपुत्र विवस्वान् सूर्य थियो । अदितीका सूर्यसहित १२ पुत्र थिए, जसलाई संयुक्तरूपमा १२ भाइ आदित्य भन्ने गरिन्थ्यो । यिनै १२ भाइ आदित्यले प्रलयपछि पर्शियन क्षेत्रमा जमेको प्रलयको जलावशेष हटाएर बस्ती बसाएका थिए ।

प्रश्न उठ्न सक्छ प्रलयपूर्व त्यति ठूलो रजगज गर्ने चाक्षुषहरू प्रलयको बेला कता हराएका थिए र उनीहरूको अवस्था के भयो ? उत्तरमा यही भन्न सकिन्छ उनीहरूमध्ये धेरै प्रलयको जलमै समाथिस्थ भएका थिए भने बाँकी बसेकाहरू कतैतिर लागेर ज्यान बचाएका थिए । जब प्रलयको जल सुक्यो त्यसपछि तिनै चाक्षुषहरूका वंशज नै पुन: यस क्षेत्रमा आएर बस्न लागेका थिए । तथापि हाम्रा हिन्दूग्रन्थहरूमा भने उनीहरूको वंशविस्तारको उल्लेख भएको पाइँदैन तर ती क्षेत्रका प्राचीन इतिहासमा भने यसको राम्रै उल्लेख भएको पाइन्छ । शायद प्रलयपछि उनीहरूको रस्तीबस्ती त्यतैतिर भएकाले यताकाको ध्यान नपुगेको हुन सक्छ । (आचार्य चतुर्सेन, वयंरक्षाम, मनुर्भरतप्रकरण)

उल्लिखित तथ्यहरूको आधारमा के अनुमान लगाउन सकिन्छ भने हालको मध्यएशिया, मध्यपूर्व एशिया तथा दक्षिणपूर्वी युरोप र उत्तरअफ्रिकी मुलुकहरूमा मानवबस्ती बसाउने काम आर्यहरूले नै गरेका हुन् । यद्यपि कतिपय पाश्चात्यविद्वान्हरूले आर्यहरूको पूर्वजलाई वकवादी, असभ्य, नशालु पदार्थ खाने र नाचगानमा मस्ती गर्ने र मनोरञ्जनका लागि कविताहरू सस्वर पाठ गर्ने जाति भनेर त्यति भाऊ दिएका छैनन् । तथापि सत्य के हो भने उनीहरूले पनि सर्वप्रथम उल्लिखित क्षेत्रमा फैलिएर मानवसम्यता विकास गर्ने जाति भन्न भने छाडेका छैनन् । (एच. जी वेल्स, विश्वको इतिहास, नेपाली अनुवाद नारायण गिरी, दोस्रो संस्करण २०६८, पृष्ठ ७९–८२)

आज एकातर्फ ऋग्वेद र प्राचीन पर्शियनहरूको धर्मग्रन्थ अवेस्ताको भाषा मिल्दोजुल्दो पाइन्छ भने विषयवस्तुमा पनि केही हदसम्म समानता भेटिन्छ । त्यस्तै अर्कोतर्फ पुरानो बाइबलका विषयवस्तु अवेस्तसँग मिल्दोजुल्दो देखिएका छन् भने कुरानको आधार पनि यही पुरानो बइबल नै रहेको देखिन्छ । ईरानको नाम त यसै पनि आर्यशब्दको अपभ्रंशरूप मानिन्छ । यिनै तथ्यहरूले गर्दा उल्लिखित क्षेत्रमा रहेर मानवसभ्यता विकास गर्ने काम आर्यहरूबाटै भएको पुष्टि हुन्छ ।         

salt training

कमेन्ट गर्नुहोस्