
अमेरिकासँग ‘युक्रेन युद्ध’ अन्त्यका लागि वार्ता जारी रहँदा रूसले युक्रेनमाथि ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको छ । रातभरि गरिएको उक्त आक्रमणमा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।
युक्रेनको राजधानी कीभका मेयरले ठूलो मात्रामा गरिएको आक्रमणपछि एक जनाको मृत्यु र चार जना घाइते भएको जानकारी दिएका छन् । त्यस्तै, खार्किभका मेयरले शहरमाथि निरन्तर गरिएको आक्रमणमा १९ जना घाइते भएको बताएका छन् ।
रूस, युक्रेन र अमेरिकाका प्रतिनिधिहरू सन् २०२२ मा क्रेमलिनले युक्रेनमाथि पूर्ण आक्रमण शुरू गरेयता पहिलो पटक त्रिपक्षीय वार्ताका लागि अबुधाबीमा भेटघाट गरिरहेका छन् ।
बीबीसीलाई स्रोतले बताएअनुसार वार्तामा केही प्रगति भए पनि भूभागसम्बन्धी मुख्य विषय अझै समाधान हुन सकेको छैन ।
हाल रूसले युक्रेनको करिब २० प्रतिशत भूभाग नियन्त्रणमा लिएको छ, जसमा पूर्वी डोनबास क्षेत्रका केही भाग पनि समावेश छन् ।
क्रेमलिनले युक्रेनले ठूलो भूभाग हस्तान्तरण गर्नुपर्ने माग गरिरहेको छ भने युक्रेनले यसलाई अस्वीकार गर्दै आएको छ ।
अबुधाबीमा त्रिपक्षीय वार्ता दोस्रो दिन प्रवेश गर्दै गर्दा कीभका मेयर भिताली क्लिच्कोले टेलिग्राममार्फत् घाइते चारमध्ये तीन जनालाई अस्पताल भर्ना गरिएको जानकारी दिएका छन् ।
उनले राजधानीको महत्त्वपूर्ण पूर्वाधारमा क्षति पुगेको र करिब ६ हजार भवनमा तातो आपूर्तिमा समस्या आएको बताए ।
युक्रेनमा तापक्रम शून्य डिग्रीभन्दा तल झरेको अवस्थामा आक्रमणपछि प्रतिक्रिया दिँदै राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने, ‘रूसीहरूको मुख्य लक्ष्य ऊर्जा पूर्वाधार थियो ।’
खार्किभका मेयर इहोर तेरेखोभले शनिबार बिहानै गरिएको आक्रमणमा १९ जना घाइते भएको बताएका छन् ।
आक्रमणका क्रममा एक प्रसूति अस्पताल र विस्थापितहरू बस्ने एक होस्टेलमा क्षति पुगेको जनाइएको छ ।