
आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट प्रतियोगितामा नेपाली टोलीले पहिलो जित हात पारेको छ । नेपालले शनिबार जिम्बाब्वेलाई ६ विकेटले हराएको हो ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय २९ रन बनाएको थियो ।
समूह ‘बी’ अन्तर्गतको उक्त खेलमा जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोलीले १९.३ ओभरमा केवल चार विकेट गुमाएर एक सय ३३ रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।
नेपाली टोलीको जितमा उप–कप्तान पूजा महतोले उत्कृष्ट अर्धशतकीय रनको योगदान गरिन् । यसक्रममा उनले ५० बलको सामना गरी दुई छक्का र चार चौकाको मद्दतले ५२ रन बनाइन् ।
कप्तान इन्दु बर्माले पनि टोलीको जितमा २२ रनको योगदान गरिन् । दूर्भाग्यपूर्ण तरिकाले बोल्ड हुँदै पेभेलियन फर्किनुअघि उनले २३ बलमा एक छक्का र दुई चौका पनि प्रहार गरिन् ।
ओपनर विन्दु रावलले टोलीको खातामा १५ रन थपिन् । उनले १७ बलमा दुई चौका प्रहार गरिन् । अर्की ओपनर सम्झना खड्का सात बलमा एक चौकाको मद्दतले नौ रन बनाउँदै आउट भइन् ।
अनुभवी ब्याटर सीता राना मगर ११ रन बनाउँदै ‘रिटायर्ड हर्ट’ भएर मैदानबाट बाहिरिएकी थिइन् । उनले १५ बलमा एक चौका प्रहार गरिन् ।
रुविना क्षेत्री दुई रनमा अविजित रहिन् । नेपाली टोलीले अतिरिक्त रुपमा पनि २१ रन पायो । जिम्बाब्वेकी बलर जोसेफिन एनकोमोले दुई विकेट लिइन् ।

त्यसअघि, जिम्बाब्वेका लागि चौथो नम्बरमा क्रिज समाल्न आएकी केलिस एनधोलुले अविजित ५२ रनको योगदान गरेकी थिइन् । उनले ३६ बलको सामना गरी आठ चौका हिकाइन् ।
ओपनर बिलभ्ड बिजाले पनि ३४ रन बनाइन् । उनले ३५ बलमा चार चौका पनि प्रहार गरिन् । मोडेस्टर मुपाचक्वाले १४ रन जोडिन् ।
जिम्बाब्वेले अतिरिक्त रूपमा पनि १० रन पायो । नेपाली टोलीका बलर रिया शर्माले दुई तथा कविता कुँवर, पूजा महतो, सीता राना मगर र रुविना क्षेत्रीले एक/एक विकेट लिए ।
जिम्बाब्वेको ‘सुपर–६’ चरणमा पुग्ने र आगामी महिला टी–२० विश्वकप खेल्ने सम्भावना यसअघि नै समाप्त भइसकेको छ । जिम्बाब्वेले आफ्नो अन्तिम खेल खेलेको हो ।
नेपाली टोलीको भने ‘सुपर–६’ चरणमा पुग्ने सम्भावना कायमै छ । जारी छनोट प्रतियोगितामा नेपालले अझै एक खेल खेल्न बाँकी छ ।
नेपालले आफ्नो अन्तिम खेल सोमबार स्कटल्यान्डसँग खेल्नेछ । ‘सुपर–६’ चरणमा पुग्ने सम्भावना कायम राख्न त्यो खेलमा नेपालले स्कटल्यान्डलाई हराउनै पर्ने हुन्छ ।
समूह ‘बी’ तालिकामा तीन खेलबाट ६ अंक बटुलेको नेदरल्यान्ड्स पहिलो स्थानमा छ । नेदरल्यान्ड्स प्रतियोगिताको ‘सुपर–६’ चरणमा पनि पुगिसकेको छ ।
तीन खेलबाट चार अंक जोडेको स्कटल्यान्ड तालिकाको दोस्रो स्थानमा छ । तीन खेलबाट चार अंक नै बटुलेको थाइल्यान्ड तेस्रो स्थानमा आसीन छ ।
तीन खेल खेलेको नेपाल दुई अंकसहित तालिकाको चौथो स्थानमा छ । चारवटै खेलमा पराजित भएको जिम्बाब्वेले भने अंक जोडन सकेन ।
जारी ग्लोबल छनोट प्रतियोगिताको दुवै समूहबाट तीन–तीनवटा टोली ‘सुपर–६’ चरणमा पुग्ने प्रावधान छ । यो प्रतियोगिताबाट चारवटा टोली आगामी टी–२० विश्वकपमा छनोट हुनेछन् ।