२३ जेठ २०८३, शनिबार

तपाईंलाई रील्स हेर्ने लत लागेको छ ?, सावधान ! नित्याउन सक्छ यस्तो गम्भीर समस्या

माघ १०, २०८२
काठमाडौं
तपाईंलाई रील्स हेर्ने लत लागेको छ ?, सावधान ! नित्याउन सक्छ यस्तो गम्भीर समस्या

के तपाईंको धेरैजसो समय रील्स स्क्रोल गर्दै बितिरहेको छ ? यो बानीले केही समयका लागि रमाइलो अनुभूति गराउन सक्छ । तर, के तपाईंलाई थाहा छ लामो समयसम्म मोबाइलमा रील हेर्ने बानीले तपाईंको शारीरिक र मानसिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ ?  विशेषगरी, बालबालिकामा बढ्दो यो प्रवृत्तिप्रति स्वास्थ्य विशेषज्ञहरू चिन्तित देखिएका छन् । 

स्वास्थ्य विशेषज्ञहरू भन्छन्, अत्यधिक मात्रामा रील हेर्ने बानी स्वास्थ्यका लागि धेरै हिसाबले हानिकारक हुन सक्छ । यसले कुनै पनि काममा लामो समयसम्म ध्यान केन्द्रित गर्ने क्षमतालाई कमजोर बनाउँछ । साथै, लगातार मोबाइलमा समय बिताउँदा शारीरिक सक्रियता घट्छ, जसले दीर्घकालीन रूपमा गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

रील्सको लत कति हानिकारक छ ?

विशेषज्ञहरूका अनुसार, रील्स हेर्ने बानीले मानसिक स्वास्थ्यमा नराम्रो प्रभाव पार्न सक्छ । रील्समा छिटोछिटो सामग्री परिवर्तन भइरहने भएकाले कुनै पनि काममा लामो समय ध्यान केन्द्रित गर्न कठिन हुन्छ । 

साथै, अनुसन्धानहरूले देखाएका छन् कि रील्स हेर्दा डोपामाइन नामक न्यूरोट्रान्समिटर सक्रिय हुन्छ, जसले मानिसलाई अस्थायी रूपमा आनन्द प्रदान गरे पनि दीर्घकालीन रूपमा मानसिक सन्तुलन बिगार्न सक्छ ।

‘ओपन अवेयरनेस’ अभ्यासले दिन्छ समाधान

हार्भर्ड मेडिकल स्कूलका विशेषज्ञहरूले रील्सको लतबाट बच्न ध्यान (मेडिटेसन) र योग जस्ता उपायहरू अपनाउन सुझाव दिएका छन् । यी विधिहरूले मानसिक स्वास्थ्य सुधार गर्ने, राम्रो निद्रा लाग्ने र रील्सको अत्यधिक प्रयोगका कारण उत्पन्न हुने समस्याहरूलाई कम गर्न मद्दत गर्ने उनीहरूको भनाइ छ ।

विशेषज्ञहरूका अनुसार, ‘ओपन अवेयरनेस मेडिटेसन’ एक प्रभावकारी उपाय हुन सक्छ । यो अभ्यास दिनमा १० मिनेट मात्र गर्दा पनि मनोदशा सुधार गर्न सकिन्छ ।

हार्भर्डका विशेषज्ञहरूका अनुसार, ओपन अवेयरनेस मेडिटेसन जुनसुकै स्थानमा गर्न सकिन्छ-घरमा, अफिसमा, वा यात्रा गर्दा। यसको शुरूआत ‘सास लिने ध्यान' (ब्रिदिङ मेडिटेसन) बाट गरिन्छ।

कसरी गर्ने ?

आँखा बन्द गरेर गहिरो श्वास लिनुहोस् र फाल्नुहोस् । यसले शरीरमा अक्सिजनको मात्रा बढाउँछ र स्नायु प्रणालीलाई शान्त पार्छ ।

आफ्नो सासमा ध्यान दिनुहोस् । यदि मन भड्कियो भने, पुन: सासमा केन्द्रित गर्नुहोस् । १० मिनेटसम्म नियमित अभ्यास गर्दा तनाव ४० प्रतिशत कम हुन सक्छ ।

आफ्नो शरीरका सबै भागलाई महसुस गर्नुहोस्, वातावरणलाई अनुभूति गर्नुहोस् र विस्तारै आँखा खोल्नुहोस् ।

यो साधारण ध्यान विधिले रील्स हेर्ने बानीले सिर्जना गर्ने समस्याबाट जोगिन मद्दत गर्न सक्छ । मानसिक स्वास्थ्यलाई स्थिर राख्न र ध्यान केन्द्रित गर्ने क्षमतालाई सुधार गर्न यसको नियमित अभ्यास गर्नुपर्छ ।

यदि तपाईंलाई रील्स हेर्ने बानी नियन्त्रण गर्न गाह्रो भइरहेको छ भने माथि उल्लेख गरिएका उपायका अलवा विशेषज्ञसँग परामर्श लिन सक्नुहुनेछ । उनीहरूले दिने सुझावका आधारमा आफ्नो मानसिक र शारीरिक स्वास्थ्यलाई सामान्य बनाउन सक्नुहुनेछ ।  

salt training

कमेन्ट गर्नुहोस्