
भारतमा आज ७७औँ गणतन्त्र दिवस मनाइँदैछ । संविधान लागू भएको दिनलाई भारतमा गणतन्त्र दिवसका रूपमा मनाइने गरिन्छ। हरेक वर्ष २६ जनवरीका दिन यो दिवस मनाइन्छ।
सन् १९५० जनवरी २६ मा भारतको संविधान लागू भएको थियो । ब्रिटिस साम्राज्यबाट स्वतन्त्र भएर सार्वभौमअधिकार सम्पन्न भारतीय सरकारले नयाँ संविधान जारी गरेको दिनमा भारतभरी तथा उसका दूतावास भएका देशमा यो दिवस मनाउने गरिएको छ ।
दिवसका अवसरमा भारतले नयाँ दिल्लीमा विशेष समारोह आयोजनागरी आफ्नो विकास यात्रा, सांस्कृतिक विविधता र सैन्य शक्ति प्रदर्शन गर्नेछ। समाचार एजेन्सी पीटीआईका अनुसार, परेडमा नवगठित सैन्य एकाइहरू साथै अपरेशन सिन्दूरको समयमा तैनाथ गरिएका प्रमुख हतियार प्रणालीहरूको मोडेलहरू समावेश हुनेछन् ।
युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो लुइस सान्तोस दा कोस्टा र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयन सोमबार भारतको गणतन्त्र दिवस समारोहमा प्रमुख अतिथि हुनेछन् ।
मुख्य समारोह राजधानी दिल्लीको कार्तव्य पथमा आयोजना हुनेछ, जहाँ राष्ट्रपति मुर्मुले राष्ट्रिय झण्डा फहराउनेछिन् । कार्यक्रम बिहान १०:३० बजे शुरू हुनेछ र लगभग ९० मिनेटसम्म चल्ने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
परेड शुरू हुनुभन्दा अगाडि लगभग १०० सांस्कृतिक कलाकारहरूले विविधतामा एकता भन्ने विषयमा प्रस्तुति दिनेछन्।
परेडको क्रममा, २९ वायुसेना विमानहरूले फ्लाईपास्ट गर्नेछन्। यसमा १६ लडाकु विमान, ४ वटा यातायात विमान र ९ हेलिकप्टरहरू समावेश हुनेछन्। सबै विमानहरूले ८ वटा संरचना बनाउने समाचारमा उल्लेख छ ।
गणतन्त्र दिवस समारोहको लागि दिल्ली प्रहरी उच्च सतर्कतामा छ। शहरभरि बहु-स्तरीय सुरक्षा जालमा ३० हजारभन्दा बढी कर्मचारीहरू तैनाथ गरिएको छ। औपचारिक परेड मार्ग र उच्च-सुरक्षा क्षेत्रहरूसहित नयाँ दिल्ली जिल्लामा मात्र लगभग १० हजार प्रहरी कर्मचारीहरू तैनाथ गरिएको दैनिक भास्करले जनाएको छ ।
परेड मार्ग र वरपरका क्षेत्रहरूसहित उन्नत भिडियो विश्लेषण र अनुहार पहिचान प्रणालीले सुसज्जित ३ हजारभन्दा बढी सीसीटीभी क्यामेराहरू राखिएका छन्। यी क्यामेराहरूबाट प्रत्यक्ष फिडहरू ३० भन्दा बढी नियन्त्रण कक्षहरूमा लगभग १५० कर्मचारीहरूद्वारा निगरानी गरिँदैछ।