
लोकरक ब्याण्ड नेपथ्यले हेटौँडा, बुटवल, नारायणघाट र बन्दीपुरमा सांगीतिक यात्रा गर्ने भएको छ ।
यो वर्ष दुईपटक गरेर स्वदेश यात्रा तय गर्न लागेको नेपथ्यले पहिलो चरण अन्तर्गत फेब्रुअरी ४ तारिख (माघ २१ गते)देखि चार शहरमा कन्सर्ट घोषणा गरेको हो ।
यात्राको शुरूआत २१ गते बुधबारको साँझ हेटौँडाबाट हुनेछ । शहरको मध्यभागमा अवस्थित भुटनदेवी माध्यमिक विद्यालयको प्राङ्गणमा यो सिजनकै पहिलो नेपथ्य कन्सर्ट हुनेछ ।
अघिल्लोपटक तीन वर्षअघि मानवसेवामा समर्पित भइ देश दौडाहा गर्दा पनि ब्याण्डले यो विद्यालय प्राङ्गणलाई आफ्ना लोकरक सुनाउनका निम्ति रोजेको थियो । यसपाला भने विद्यालयकै भैरव रोडसँग जोडिनेतर्फको मैदानमा नेपथ्य कन्सर्ट आयोजना हुँदैछ । द्वन्द्वकालका बेला शान्तिको आवाज लिएर पनि यो ब्याण्ड यस शहरमा पुगेको इतिहास छ ।
हेटौँडा पछिको प्रस्तुति भने बुटवलमा आयोजना हुनेछ । ‘रोज डे’ अर्थात् गुलाफ आदान प्रदानको साँझ माघ २४ गते रामनगरस्थित ‘बुटवल इन्टरनेशनल कन्भेन्सन सेन्टर’मा ब्याण्डको प्रस्तुति रहनेछ । शनिबार समेत परेकाले बुटवल परपरका फराकिलो भेगलाई नेपथ्यले प्रेमिल मिलनको केन्द्र पनि तुल्याउने स्थानीय आयोजक बताउँछन् ।
त्यसपछिको प्रस्तुति भने नारायणघाटमा रहनेछ । त्यहाँस्थित ‘क्याम्पा चौर’मा माघ २७ गते बेलुकी नेपथ्यका दर्शकले संगीतमय साँझ अनुभव गर्नेछन् । यो फराकिलो मैदानमै तीन वर्षअघि पनि नेपथ्य प्रस्तुत भइसकेको छ । यसरी हेटौँडा, बुटवल र नारायणघाट गरेर तीनवटै शहर तीन वर्षको अन्तरालपछि पुनः नेपथ्यलाई स्वागत गर्ने तयारीमा जुटेको हो ।
ब्याण्डको चौथो प्रस्तुति भने बेग्लै छ । विश्वभरिका प्रेमी प्रेमीकाहरूले फेब्रुअरीको १४ तारिख बेलुकी ‘भ्यालेन्टाइन्स डे’को रमाइलोमा आफूलाई डुबाइरहेको बेला नेपथ्य भने एउटा सुन्दर पहाडी नगरीमा गुञ्जिरहेको हुनेछ ।
पहिलोपटक नेपथ्य पुग्न लागेको त्यो नगरी हो बन्दीपुर । तलतिर पर्ने तनहुँ जिल्लाका अन्य बजारमा आफूलाई बारम्बार प्रस्तुत गरिसकेको ब्याण्डले यसपटक भने दर्शक स्रोतालाई मास्तिर रहेको टुँडिखेलमा आकर्षित गर्ने योजना लिएको छ ।
अवसरको खोजीमा बसाइँसराइ गरेर नेवार व्यापारीहरूले कुनैबेला बसालेको यो व्यापारिक नाका राजमार्गको निर्माणसँगै ओझेलमा पर्दै गएको थियो । पछिल्लो समय भने जागरुक बन्दीपुरेहरूले यो शहरलाई पुरानो झल्को दिने सुन्दर पर्यटकीय केन्द्रका रूपमा विकास गरिसकेका छन् ।
‘हामीले बारम्बार आफूलाई प्रस्तुत गर्दैआएको तीनवटै शहरबाट सदैव आत्मीय माया पाउँदै आएका छौं र त्यताका दर्शकसँग फेरि पनि भेट्न आतुर छु,’ ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘भिडभाडभन्दा परको चिटिक्क पहाडी बस्ती बन्दीपुरमा धेरैपटक पर्यटक भएर पुगेको मलाई यसपाला गायकको रूपमा पाइला राख्ने नयाँ अनुभवले हौस्याइरहेको छ ।’
यसरी पहिलो चरणमा चार शहरको प्रस्तुतिपछि नेपथ्यको यसवर्ष तोकिएको स्वदेश यात्रा दोस्रो खण्ड भने आगामी नोभेम्बर महिनामा आयोजना गरिनेछ ।
यी सबै कन्सर्टमा गायक अमृतलाई सदाझैँ ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन् ।
दर्शक सुविधालाई ध्यानमा राख्दै सबैजसो कन्सर्टको अनलाइनबाटै सोझै टिकट काट्न सकिने प्रबन्ध मिलाइएको छ । अनलाइन बुकिङका लागि नेपथ्यको आधिकारिक वेबसाइट www.nepathya.com.np मार्फत् आफ्नो सीट सुरक्षित गर्न सकिनेछ ।