
झोलामा बम राखेको भन्दै एक युवा सैनिक मुख्यालय अगाडि पुगेपछि परिस्थिति तनावग्रस्त बन्न पुगेको छ ।
नेपाली सेनाको मुख्यालय अगाडि रहेको पेट्रोल पम्प नजिकै एक युवा बुधबार अपरान्ह झोलामा बम छ भन्दै पुगेका थिए ।
लगत्तै प्रहरीले नियन्त्रण लिएर झोला खोतल्दा झोलाभित्र इट्टाका टुक्रा फेला परेका थिए । प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका अनुसार युवकबाट फेला परेको झोलाभित्र इटाको टुक्रा फेला परेको थियो ।
ती युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको एसएसपी थापाले जानकारी दिए । प्रहरीका अनुसार पक्राउ परेका युवा सल्यानका जुद्धबहादुर सिंह हुन् ।
सिंहले आफूलाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सल्यानबाट स्वतन्त्र उम्मेदवारी दिएको प्रहरीलाई बताएका छन् ।
निर्वाचन आयोगको अभिलेख अनुसार पनि उनी सल्यानका स्वतन्त्र उम्मेदवार हुन् । उनले क्याल्कुलेटर चुनाव चिह्न पाएका छन् ।
पक्राउ परेका सिंहलाई भोलि बिहीबार जिल्ला अदालतबाट म्याद थप हुने एसएसपी थापाले जानकारी दिए ।