
म्यानचेस्टर सिटीसँगै पाँच इङ्लिस क्लब यूईएफए च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेका छन् ।
स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिड भने आफ्नो अन्तिम खेलमा बेनफिकासँग पराजित भएपछि तालिकाको अन्तिम आठभित्र आउट सकेन ।
म्यानचेस्टर सिटीसँगै इङ्लिस क्लब आर्सनल, लिभरपुल, टोट्टनहाम र चेल्सी च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेका हुन् ।
लिग चरणको आफ्नो अन्तिम खेलमा म्यानचेस्टर सिटीले टर्किस क्लब गालातसारेलाई २–० गोलले हरायो । म्यानचेस्टर सिटी तालिकाको आठौं स्थानमा रहँदै अन्तिम १६ मा पुगेको हो ।
म्यानचेस्टर सिटीका लागि एर्लिङ हालान्डले १०औं र रायन चेर्कीले २९औं मिनेटमा एक–एक गोल गरे । दुवै गोलका लागि जेरेमी डोकुले पास उपलब्ध गराएका थिए ।
म्यानचेस्टर सिटीले लिग चरणमा आफूले खेलेको आठमध्ये पाँच खेलमा जित, एक खेलमा बराबरी र दुई खेलमा हारको नतिजाबाट १६ अंक जोड्यो ।
तालिकाको आठौं स्थानसम्म रहने टोली सिधै प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गर्ने प्रावधान रहेको छ । रियल म्याड्रिड भने आफ्नो अन्तिम खेलमा बेनफिकासँग २–४ गोलले पराजित भयो ।
रियलले अब नकआउट चरणमा प्रवेश गर्न प्ले–अफ खेल्नु पर्नेछ । आर्सनल तालिकाको पहिलो स्थानमा रहँदै नकआउट चरणमा पुगेको हो । आर्सनलले आठवटै खेलमा जित हात पार्दै २४ अंक बटुल्यो ।
जर्मन ‘पावर हाउस’ बायर्न म्युनिख दोस्रो हुँदै नकआउट चरणमा प्रवेश गर्यो । बायर्नले सात खेलमा जित र एक खेलमा हारको नतिजा निकाल्दै २१ अंक जोड्यो ।
लिभरपुल तेस्रो हुँदै अगाडि बढेको हो । लिभरपुलले ६ खेलमा जित र दुई खेलमा हारको नतिजाबाट १८ अंक जोड्यो । टोट्टनहाम चौथो हुँदै अन्तिम १६ मा प्रवेश गर्यो ।
टोट्टनहामले पाँच खेलमा जित, दुई खेलमा बराबरी र एक खेलमा हारको नतिजाबाट १७ अंक जोड्यो । स्पेनिस ‘पावर हाउस’ बार्सिलोना पाँचौं भयो ।
बार्सिलोनाले पाँच खेलमा जित, एक खेलमा बराबरी र दुई खेलमा हारको नतिजाबाट १६ अंक जोड्यो । चेल्सी छैटौं हुँदै अगाडि बढ्यो । चेल्सीले पाँच जित, एक बराबरी र दुई हारबाट १६ अंक बटुल्यो ।
पोर्चुगिज क्लब स्पोर्टिङ सीपी सातौं भयो । स्पोर्टिङले पाँच खेलमा जित, एक खेलमा बराबरी र दुई खेलमा हारको नतिजा निकाल्दै १६ अंक जोड्यो ।
तालिकामा १५ अंकसहित रियल म्याड्रिड नवौं, समान अंक जोडेको इटालियन क्लब इन्टर मिलान १०औं र १४ अंकसहित च्याम्पियन्स लिगको साविक विजेता पेरिस सेन्ट जर्मन (पीएसजी) ११औं भए ।
यसैगरी, न्यूक्यासल युनाइटेड, युभेन्ट्स, एट्लेटिको म्याड्रिड, एटलान्टा र बायर लेभरकुजेन क्रमश: १२औंदेखि १६औं स्थानमा रहे । यी टोलीले अगाडि बढ्न प्ले–अफ खेल्नु पर्नेछ ।