
काठमाडौंको बालाजु र बौद्ध क्षेत्रमा विगत तीन महिनादेखि सुनका गरगहना लुटपाटमा सक्रिय १० जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले बिहीबार बिहान गोली प्रहार गरेर गिरोहका मुख्य नाइके विनय तामाङलाई नियन्त्रणमा लिएपछि थप ९ जनालाई पक्राउ गरेको हो ।
विशेषगरी यो गिरोहले रातको समयमा मोटरसाइकल चढेर सुनका गरगहना लगाएका पैदल यात्रीको ‘रेकी’ गर्ने र मौका छोपेर लुटपाट गरी भाग्ने गरेको थियो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा काभ्रेका निमा भन्ने सलोन तामाङ, विनय तामाङ, राजीव भण्डारी र टाउके भन्ने पेमा तामाङ, सिन्धुपाल्चोकका फुर्वा तामाङ, रामेछापका विशाल तामाङ, सिन्धुलीका आयान माझी र विशाल माझी, मोरङका मनिष रसाइली र खोटाङका विदुर विश्वकर्मा छन् ।
प्रहरीले लुटपाटमा संलग्न गिरोहले प्रयोग गर्ने ६ वटा मोटरसाइकल समेत बरामद गरेको छ ।
बरामद भएका मोटसाइकलहरूमा बा ९४ प ६१४ नम्बरको कालो पल्सर, बा ६३ प ४२१ नम्बरको कालो पल्सर, बा. प्र. ०२–१०६ १८५६ नम्बरको सेतो एनएस, बा ७० प २९८० नम्बरको केटीएम आरसी, प्र ३–०२–००७ प ७८०६ नम्बरको मोटरसाइकल (प्रहरीले ब्रान्ड खुलाएको छैन) र बा ३६ प ८२३० नम्बरको पल्सर छन् ।
गिरोहका सदस्यले यी ६ वटा मोटरसाइकल फरक–फरक स्थानमा लगेर एकान्त ठाउँमा बस्ने र सुनको सिक्री तथा गरगहना लगाएका महिला देखेपछि लुटपाट गरेर फरार हुने गर्दै आएका थिए ।
प्रहरी वृत्त बौद्धमा यही माघ १२ गते बिहान (०४:२८) मा गोकर्णेश्वर नगरपालिका– ८ स्थित गणेश मन्दिर नजिकै हिँडिरहेका बेला हतियार देखाएर हातमा लगाएको एक तोलाको बेरुवा औँठी, कानमा लगाएको सुनको मुन्द्रा र साथमा रहेको १५ हजार लुटपाट गरेर ६ जनाको समूह मोटरसाइकल चढेर भागेको उजुरी प्रहरी वृत्त बौद्धमा परेको थियो ।
गोकर्णेश्वरमै ५० वर्षीया महिला माघ १२ मै बिहान पाँच बजेको समयमा पानी लिएर फर्किँदै गर्दा ६ जनाको समूह आएर कानमा लगाएको मुन्द्रा लुटी फरार भएको उजुरी बौद्धमै परेको थियो ।
आधा घण्टाको समयमा एउटै शैली (ज्यान मार्ने धम्की दिएर गहना लुट्ने र बाइक चढेर भागिहाल्ने) अपनाएर घटाइएका दुई घटनासम्बन्धी उजुरी दर्ता भएपछि प्रहरी अनुसन्धानमा जुटेको थियो ।
परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) रमेश थापाका अनुसार पक्राउ परेकामध्ये अधिकांश पटके अभियुक्त हुन् ।

विनयविरुद्ध यसअघि २०७९ माघ ७ मा धादिङमा चोरी मुद्दा चलेको थियो । जिल्ला अदालत धादिङले १० हजार धरौटी माग गरेको थियो । धरौटी बुझाउन नसकेपछि विनय कारागार चलान भएका थिए ।
कारागारबाट छुटेपछि पनि विनयले चोरी तथा लुटपाटलाई निरन्तरता दिएका थिए ।
अर्का अभियुक्त विशालविरुद्ध गत कात्तिक २७ मा जिल्ला प्रहरी परिसर भक्तपुरबाट चोरी मुद्दा चलेको थियो । त्यस्तै, आयानविरुद्ध २०७९ पुस २६ मा भक्तपुर परिसरबाटै चोरी मुद्दा र सविनविरुद्ध २०७९ भदौ ११ र २०७९ भदौ २६ मा भक्तपुर परिसर तथा २०८१ चैत २७ मा प्रहरी वृत्त महाराजगञ्जबाट चोरी मुद्दा परेको थियो ।
एसएसपी थापाका अनुसार राजीव पनि पटके अभियुक्त हुन् । उनीविरुद्ध २०८२ कात्तिक २७ र गत मंसिर १७ मा भक्तपुर परिसरबाट चोरी मुद्दा चलेको थियो ।

एसएसपी थापाका अनुसार यो समूह दिनभरी ट्याक्सी चलाउने र राति १२ बजेपछि दुईवटा मोटरसाइकलमा तीन/तीन जना जाने लुटिसकेपछि ट्याक्सी र कार चढेर भाग्ने गरेको पाइएको छ ।
पक्राउ मध्येका विनय तामाङ जेजनी आन्दोलनका क्रममा भदौ २४ मा बूढानलकण्ठमा चोरी डाँका मुद्दामा अनुसन्धानका क्रममा प्रहरी वृत्त महाराजगञ्जको हिरासतबाट भागेका फरार आरोपी हुन् ।
यो समूहले बौद्धमा तीनवटा, गौशालामा तीनवटा र ठिमीमा १३ वटा घटना घटाएको देखिन्छ । प्रहरीका विभिन्न युनिटमा यस्तै प्रकारका लुटपाटका २७ वटा उजुरी परेका छन् ।