२७ जेठ २०८३, बुधबार
तरलता व्यवस्थापन चुनौतीपूर्ण

पाँच महिनामा ८३ अर्ब कर्जा प्रवाह : बैंक तथा वित्तीय संस्थाहरूले कहाँ लगानी गरिरहेका छन् ?

माघ १६, २०८२
काठमाडौं
पाँच महिनामा ८३ अर्ब कर्जा प्रवाह : बैंक तथा वित्तीय संस्थाहरूले कहाँ लगानी गरिरहेका छन् ?

अधिक तरलता व्यवस्थापन नेपाल राष्ट्र बैंकलाई निकै चुनौतीपूर्ण बनिरहेको छ। बैंकहरूमा लगानीयोग्य रकम थुप्रिए पनि बजारमा कर्जा माग न्यून हुँदा केन्द्रीय बैंकलाई तरलता व्यवस्थापन चुनौतीपूर्ण बनेको हो। पछिल्लो तथ्याङ्क हेर्दा बैंक तथा वित्तीय संस्थाहरूमा झन्डै १२ खर्ब लगानीयोग्य रकम थुप्रिएको छ।

यद्यपि, बैंकहरूबाट कर्जा प्रवाह नभएको भने होइन। हालसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट कूल ५६ खर्ब ७५ अर्ब ७४ करोड २० लाख रुपैयाँ लगानी भएको छ। चालू आर्थिक वर्षको पाँच महिनामा मात्रै ८३ अर्ब ६७ करोड १७ लाख रुपैयाँ विभिन्न क्षेत्रहरूमा कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ। यो रकम बैंक तथा वित्तीय संस्थाहरूबाट कृषि, उत्पादन, खानी, निर्माण, धातु उत्पादन, मेसिनरी, विद्युतीय उपकरण र फिटिङ, यातायात उपकरण उत्पादन, सञ्चार तथा सार्वजनिक सेवा, थोक एवं खुद्रा विक्रेता, बीमा, स्थिर सम्पत्ति, सेवा उद्योग र स्थानीय तहहरू गरी १३ क्षेत्रमा लगानी भएको हो।

कुन क्षेत्रमा कति लगानी?
बैंक तथा वित्तीय संस्थाहरूको सबैभन्दा ठुलो लगानी उपभोग्य क्षेत्रमा भएको देखिन्छ। उपभोग्य क्षेत्र जस्तै: सुन तथा चाँदी, बन्ड, क्रेडिट कार्ड र अन्य स्थिर सम्पत्तिहरूमा बढी लगानी भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ, जसमा मङ्सिर महिनासम्म १२ खर्ब १० अर्ब ३९ करोड ४५ लाख रुपैयाँ कर्जा लगानी भएको छ। यसले सुन/चाँदी तथा धितो, क्रेडिट कार्डजस्ता व्यक्तिगत रूपमा लिइने कर्जा बढेको देखाउँछ। राष्ट्र बैंकका अनुसार व्यक्तिगत खर्चका लागि लिइएको कर्जा ५ प्रतिशतले बढेको छ।

थोक तथा खुद्रा व्यापार
मङ्सिर महिनासम्म थोक तथा खुद्रा व्यापार क्षेत्रमा बढी कर्जा प्रवाह भएको छ। थोक तथा खुद्रा व्यापार जस्तै: होलसेल व्यापार, अटोमोबाइलका डिलर तथा शाखा, आयात–निर्यातको व्यापारका लागि १० खर्ब ३३ अर्ब २ करोड कर्जा प्रवाह भएको छ। यस क्षेत्रतर्फको कर्जा वृद्धि भने शून्य रहेको छ। गाडीहरूको आयात र बिक्रीमा भएको वृद्धिका कारण यस्तो कर्जाको वृद्धिदर घटेको छैन।

उत्पादन क्षेत्र
बैंकहरूको अर्को सबैभन्दा ठूलो लगानी हुने उत्पादन क्षेत्रमा कर्जा प्रवाह २.५ प्रतिशतले बढेको छ। उत्पादन क्षेत्रमा विशेष गरी खाद्य उत्पादन (प्याकिङ र प्रशोधन), पेय पदार्थ, अल्कोहल, गैर–अल्कोहल, सुर्तीजन्य, हस्तकला, सुनपात, कपडा उत्पादन र तयारी कपडामा धेरै लगानी भएको छ।

यसैगरी, काठ र काठ उत्पादन, फर्निचर, कागज, मुद्रण र प्रकाशन, औद्योगिक, औषधि, प्रशोधित तेल तथा चारकोल उत्पादन, राल (रेजिन), तारपिन, रबर टायर, छाला, प्लास्टिक, सिमेन्ट, ढुङ्गा, माटो, सिसा, धातु–आधारभूत फलाम र इस्पात प्लान्टहरू, धातुका अन्य प्लान्टहरूमा लगानी भएको छ।

मङ्सिर महिनासम्म सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूबाट यस क्षेत्रमा ९ खर्ब ६ अर्ब ३६ करोड ११ लाख रुपैयाँ कर्जा लगानी भएको राष्ट्र बैंकले जनाएको छ। चालू आर्थिक वर्षको पाँच महिनामा मात्रै यस क्षेत्रमा २२ अर्ब ३१ करोड ३७ लाख कर्जा प्रवाह भएको देखिन्छ।

कृषि
बैंकहरूको कुल कर्जामध्ये कृषि क्षेत्रमा ४ खर्ब ८ अर्ब ७१ करोड ६७ लाख रुपैयाँ प्रवाह भएको छ। विशेष गरी कृषि क्षेत्रमा कृषि सेवा, चिया, पशुपालन, माछा पालन लगायत अन्य कृषिसँग सम्बन्धित सेवाहरू लगानी गर्ने स्थानहरू हुन्।

चालू आवको पाँच महिनामा मात्रै यस क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरूको लगानी ९ अर्ब १७ करोड २१ लाख रुपैयाँ रहेको छ। गत आवको तुलनामा कृषि क्षेत्रको कर्जा २.२ प्रतिशतले ऋणात्मक रहेको छ।

खानी
बैंकहरूको लगानी खानी क्षेत्रमा २ प्रतिशतले बढेको छ। बैंक तथा वित्तीय संस्थाहरूबाट मङ्सिर मसान्तसम्म यस क्षेत्रमा कुल ११ अर्ब ९८ करोड ७७ लाख रुपैयाँको लगानी भएको छ। खानी क्षेत्रमा विशेष गरी धातुहरू (फलाम, सिसा, आदि), कोइला, ग्रेफाइट, म्याग्नेसाइट, चक, तेल र ग्यास निकासी तथा अन्य खानीजन्य उत्पादनहरू लगानी गर्ने स्थानहरू हुन्।

निर्माण
पछिल्लो समय निर्माण क्षेत्रतर्फको कर्जा प्रवाह ३.५ प्रतिशतले बढेको छ। चालू आर्थिक वर्षको पाँच महिनामा मात्रै १२ अर्ब ३ करोड ३७ लाख रुपैयाँ निर्माण क्षेत्रमा कर्जा प्रवाह भएको हो। जुन गत आर्थिक वर्षको तुलनामा ५.२ प्रतिशतले बढी हो।

विशेष गरी निर्माण क्षेत्रमा पनि घर, कम्प्लेक्स, भवन, राजमार्ग, पुल आदि निर्माणका लागि कर्जा प्रवाह भएको छ। बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जामध्ये निर्माण क्षेत्रमा मात्रै हालसम्म २ खर्ब ४३ अर्ब ४२ करोड ६३ लाख रुपैयाँ कर्जा लगानी भएको छ।

मेसिनरी, विद्युतीय र यातायात उपकरण
धातु, मेसिनरी र विद्युतीय उपकरण उत्पादन तथा फिटिङ गर्ने क्षेत्रमा पनि कर्जाको प्रवाह बढेको छ। यस क्षेत्रमा मङ्सिर महिनासम्म कूल ७५ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ कर्जा प्रवाह भएको हो। गत आर्थिक वर्षको तुलनामा यस क्षेत्रको कर्जा प्रवाह ३.१ प्रतिशतले वृद्धि भएको छ।

त्यस्तै, यातायात उपकरण उत्पादन तथा फिटिङ क्षेत्रमा कर्जाको प्रवाह घटेको छ। यस क्षेत्रमा कूल ५१ अर्ब ६७ करोड ७३ लाख कर्जा प्रवाह भएको छ। तर, गत आर्थिक वर्षको तुलनामा यस क्षेत्रको कर्जा प्रवाह १.२ प्रतिशतले घटेको छ।

यातायात, सञ्चार तथा सार्वजनिक सेवा
यातायात, सञ्चार तथा सार्वजनिक क्षेत्रमा पनि बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह ३.५ प्रतिशतले बढेको छ। मङ्सिरसम्मको कूल कर्जा प्रवाहमध्ये विशेष गरी यात्रुवाहक सवारी साधन, ट्रक, ग्यास पाइपलाइन, विद्युत् लगायतमा ४ खर्ब ९३ अर्ब १५ करोड ७२ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ।

वित्तीय क्षेत्र
बैंक तथा वित्तीय संस्थाहरूको वित्तीय क्षेत्रमा लगानी घटेको छ। वित्तीय संस्थाहरू, कोष तथा बीमा कम्पनी, गैरवित्तीय संस्था, जग्गा, निजी गैरवित्तीय संस्थाहरू लगायत अन्य लगानी संस्थाहरूमा कर्जाको प्रवाह घटेको हो। मङ्सिर महिनासम्म वित्तीय क्षेत्रमा कुल ४ खर्ब ३१ अर्ब ४ करोड २९ लाख रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ।

सेवा उद्योग
सेवा क्षेत्रमा पछिल्लो समय ठूलो लगानी भित्रिए पनि यस क्षेत्रतर्फको कर्जा प्रवाह भने सामान्य वृद्धि भएको छ। गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा सेवा क्षेत्रतर्फको कर्जा वृद्धि ०.४ प्रतिशत छ। मङ्सिरसम्म प्रवाह भएको कुल कर्जामध्ये विशेष गरी सेवा उद्योग क्षेत्रमा होटेल, रिसोर्ट, अस्पताल, शैक्षिक, मनोरञ्जन, चलचित्र लगायतका सेवा उद्योगहरूमा ४ खर्ब ९० अर्ब ४९ करोड ६७ लाख कर्जा लगानी भएको छ।

स्थानीय सरकार र अन्य
स्थानीय सरकारका विभिन्न कार्यक्रमहरूमा प्रवाह हुने कर्जा चालू आर्थिक वर्षमा ०.४ प्रतिशतले घटेको छ। कुल कर्जामध्ये स्थानीय सरकारमा १ अर्ब २२ करोड ९२ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ। यसबाहेक पनि विभिन्न अन्य क्षेत्रहरूमा ३ खर्ब १८ अर्ब ९० करोड २८ लाख रुपैयाँ कर्जा लगानी भएको छ।

salt training

कमेन्ट गर्नुहोस्