०७ असार २०८३, आइतबार

३ जनाको हत्या अभियोगमा ४६ वर्षीय पुरुष पक्राउ

माघ १६, २०८२
तनहुँ
३ जनाको हत्या अभियोगमा ४६ वर्षीय पुरुष पक्राउ

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ मा तीन जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । निजविरुद्ध सात दिनको म्याद थप गरिएको छ ।

हत्या अभियोगमा पक्राउ परेका कास्की घर भई शुक्लागण्डकी–५ बस्ने ४६ वर्षीय कुमार नेपालीविरुद्ध जिल्ला अदालत तनहुँबाट बिहीबार सात दिनको म्याद थप गरिएको हो ।

निजविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । प्रहरीले निजका साथबाट चक्कु, चप्पल, सल, प्रयोग गरिएका कपडा बरामद गरेको छ ।

गत पुस २६ गते बिहान सेती नदीस्थित कसेरीघाटमा तीन जनाको हत्या गरेको अवस्थामा शव भेटिएको थियो । शुक्लागण्डकी फोहर प्रशोधन केन्द्र नजिक शुक्लागण्डकी–११ का ३९ वर्षीय नारायण विक, भीमाद नगरपालिका–८ का ५८ वर्षीया देउमाया थापा र नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको थियो ।

घटनापश्चात तालिमप्राप्त कुकुर, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका विज्ञसहितको टोलीबाट गहन अनुसन्धान गरिएको थियो ।

नाम, थर र वतन नखुलेको पुरुषको शवको सनाखतका लागि हुलिया परिपत्र गरी शव गृहमा सुरक्षित राखिएको प्रहरी नायब उपरीक्षक विकले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्