
विराटचोकको एउटा व्यस्त कार्यक्रमका बीचमा रङ्गकर्मी भरत गुरागाईं‘बर्बरीक’सँग जम्काभेट हुँदा उनी एउटा कुर्सी जोगाउने धुनमा थिए । मान्छेहरूको भीडभाड थियो, तर उनको ध्यान भने आफ्नो सिर्जनात्मक दुनियाँ र भोलिको योजनामा बढी केन्द्रित देखिन्थ्यो ।
उनलाई धेरैले एउटा कुशाग्र शिक्षकका रूपमा चिन्छन् उनको भित्री परिचय भने रङ्गमञ्चको एउटा अथक यात्री र विद्रोही कवि हो । जीवनको साढे दुई दशकभन्दा लामो समय शिक्षणको सुरक्षित घेराभित्र बिताएका यी मान्छेले एकदिन अचानक एउटा यस्तो निर्णय लिए, जसले उनलाई ‘सुरक्षित भविष्य’बाट ‘अनिश्चित तर आनन्दमयी’ कलाको मैदानमा पुर्याइदियो ।
उनले पेन्सन हुने समय पुगेपछि अझै १३ वर्षको सेवा अवधि बाँकी छँदै राजीनामा पत्र बुझाइदिए । धेरैले सोधे- किन ? उनको एउटै जवाफ थियो, ‘मलाई स्कूलमा चक र डस्टर बोक्दाबोक्दै ‘बूढो सर’ भएर मर्नु थिएन । मलाई त रङ्गमञ्चको ऊर्जा र कविताको आलापमै आफ्नो जीवनको विसर्जन गर्नु थियो ।’
भरतको यो साहस र विद्रोहको जग भने उनको अभावग्रस्त बाल्यकालमा लुकेको छ । २०२४ साल कात्तिक २१ गते मोरङको झोराहाटमा जन्मेका भरत आफ्ना आमाबुबाका ११ औं सन्तान हुन् । तर, ती ११ मध्ये ५ जना दाजुभाइ दिदीबहिनी त कलिलै उमेरमा संसारबाट बिदा भए । बाँकी रहेका ६ जनालाई हुर्काउनु आमा महेश्वरी देवीका लागि कुनै महाभारतभन्दा कम थिएन । भरत सात–आठ वर्षको हुँदा बुबा टङ्कप्रसादको निधन भयो । बुबाको सम्झना उनलाई निकै धूमिल मात्र छ ।
एउटा सानो बालक, जसले बुवाको काँधमा चढेर संसार हेर्ने सपना देखेको थियो, उसले सानैमा अभावको पहाड छिचोल्नुपर्यो । चरम गरिबी, ‘विधवा आमा’ र अहिले खाए भरे के खाउँ’ भन्ने ‘ह्यान्ड टु माउथ’को समस्याका बीचमा आमाले बनीबुतो गरेर उनलाई पढाइन् । सायद त्यही अभावको रापले भरतलाई सानैदेखि विद्रोही र स्वाभिमानी बनायो ।

स्कूल पढ्दा होस् वा विराटनगरको महेन्द्र मोरङ कलेजमा, भरत सधैँ प्रथम हुने विद्यार्थी थिए । तर, उनीसँग किताब किन्ने पैसाको भने सधैँ अभाव हुन्थ्यो । आफ्नो पढाइ खर्च जुटाउन उनले कक्षा १० मा पढ्दादेखि नै आफूभन्दा साना विद्यार्थीलाई ट्युसन पढाउन शुरू गरे ।
कलेज पढ्दा उनलाई साथीहरूले ‘भिखारी कान्छो’ भनेर जिस्क्याउँथे । उनले त्यतिबेला त्यही नाम नै राखेका थिए । उनको आर्थिक अवस्था र कान्छो सन्तान भएको नाताले दिइएको त्यो नामले उनलाई कहिल्यै हीनताबोध गराएन, बरु अझ बढी मिहिनेत गर्ने ऊर्जा दियो । आजका प्रतिष्ठित साहित्यकार ‘बर्बरीक’को जग त्यही ‘भिखारी कान्छो’को संघर्षले नै हालेको हो ।
पञ्चायतकालको अन्तिम प्रहरमा देशमा राजनीतिक राप बढेको थियो । भरतको परिवार पनि त्यसबाट अछुतो रहेन । उनका दाजु राजनीतिमा लागेकै कारण जागिरबाट निकालिए । भरत आफैं पनि प्रहरीको निगरानीमा थिए । कतै जान नपाउने, कसैसँग बोल्न नपाउने त्यो यातनापूर्ण समयमा उनले रेडक्रसमा दिनको १० रूपैयाँ तलब खाने गरी ‘पेड भोलेन्टियर’को रूपमा काम गरे ।

२०४६ सालको परिवर्तनपछि देशमा बहुदल आयो र भरतका लागि पनि नयाँ बाटो खुल्यो । उनले शिक्षक सेवा आयोग पास गरे र २०४८ सालदेखि हरैँचाको जनता माध्यमिक विद्यालयमा पढाउन थाले । साढे १५ वर्षको त्यो शिक्षण यात्रामा उनी कहिले साइकल त कहिले पुरानो ८० सिसीको ‘एम–८०’ मोपेडमा स्कूल धाउँथे । पढाउनु उनको पेसा थियो, तर नाटक र कविता उनको सास थियो । स्कूल पढ्दाखेरि नै खर्च जुटाउन उनले आफू पढ्ने भन्दा तल्ला कक्षाका विद्यार्थीलाई ट्युसन पढाउने गर्थे ।
साहित्यकारहरूले अक्सर आफ्नो परिचय लुकाउन वा विशिष्ट बनाउन उपनाम राख्ने गर्छन् । भरतको हकमा भने ‘बर्बरिक’ एउटा संयोग र सफलताको कथा बनेर आयो । कलेज पढुञ्जेल ‘भिखारी कान्छो’ कहलाएका उनले पछि प्रदीप नेपालको उपन्यासमा आधारित ‘बर्बरिक’ नाटकमा मुख्य भूमिका निर्वाह गरे । त्यो नाटक यति चर्चित भयो कि उनले नेपालभर ६२ पटकभन्दा बढी मञ्चन गरे ।
काठमाडौंको राष्ट्रिय नाचघरमा २३ दिनसम्म लगातार नाटक चल्दा उनले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसहितको मन्त्रिपरिषद्लाई राष्ट्रपति भवनमै आफ्नो कला देखाए । त्यसपछि त उनको खास नाम हरायो र उनी सबैका लागि ‘बर्बरिक’ बने ।
आफ्नो जीवनकालमा ५७ वटा नाटक लेखेका र करिब ७ हजार पटक अभिनय गरिसकेका भरतलाई लाग्छ, कला र पेसालाई सँगै लैजाँदा कतै न कतै न्याय गर्न सकिँदैन । त्यसैले उनले सुरक्षित जागिर त्यागेर अनिश्चित रङ्गमञ्च रोजेका हुन् ।
‘घरमा राजीनामाको कुरा गर्दा कन्भिन्स गर्न एक वर्ष लाग्यो,’ उनी हाँस्दै भन्छन्, ‘तलब आउँदा पूरै आउँथ्यो, पेन्सन त आधा मात्रै आउँछ। तर मलाई हिरामोती खानु थिएन, मलाई त आफ्नो बाँकी जीवन नाटकघरमै बिताउनु थियो ।’

आज उनी झोराहाटमा आफ्नै सक्रियतामा नाटक घर चलाइरहेका छन्, जहाँ उनले साढे तीन सयभन्दा बढी शिष्य तयार पारिसकेका छन् र पछिल्लो समय भरत एउटा नयाँ प्रयोगमा जुटेका छन् । उनी कवितालाई केवल शब्दका रूपमा मात्र होइन, सङ्गीत र अभिनयको समिश्रणका रूपमा प्रस्तुत गर्नुपर्छ भन्ने मान्यता राख्छन् ।
उनका ‘आमा र कैलीगाई’, ‘दशैँ कहिले आउँछ’ र ‘मृत्यु होस् न यस्तो’ जस्ता कविता सामाजिक सञ्जालमा लाखौंले सुनेका छन् । विशेषगरी आफ्नो बाल्यकालको अभाव र आमाको संघर्ष समेटिएको ‘आमा र कैलीगाई’ कविताले धेरैको आँखा रसाउँछ । कविता सुनाउँदा उनी अभिनय पनि गर्छन् र सङ्गीतको धुनमा भावहरूलाई जीवन्त बनाउँछन् ।

अभावले मान्छेलाई कुन हदसम्म संघर्ष सिकाउँछ र दृढ इच्छाशक्ति भयो भने एउटा सामान्य गाउँको ठिटो कसरी देशको राष्ट्रपतिसम्मले गर्वका साथ हेर्ने कलाकार बन्न सक्छ भन्ने उदाहरण हो । आज उनी चक र डस्टरबाट मुक्त छन्, तर समाजलाई कलाका माध्यमबाट अझै ठूलो पाठ पढाइरहेका छन् ।
रङ्गमञ्चको पर्दा उठ्दा होस् वा कविताको लयमा डुब्दै गर्दा, भरतभित्रको त्यो ‘भिखारी कान्छो’ आज एउटा सन्तुष्ट र गौरवान्वित ‘बर्बरिक’ बनेर बाँचिरहेको छ ।