०७ असार २०८३, आइतबार
कविताको लय फेरिरहेका भरत

कलेजका ‘भिखारी कान्छो’ जो राष्ट्रपति भवनमा ‘बर्बरिक’ बनेर गर्जिए

माघ १७, २०८२
विराटनगर
कलेजका ‘भिखारी कान्छो’ जो राष्ट्रपति भवनमा ‘बर्बरिक’ बनेर गर्जिए

विराटचोकको एउटा व्यस्त कार्यक्रमका बीचमा रङ्गकर्मी भरत गुरागाईं‘बर्बरीक’सँग जम्काभेट हुँदा उनी एउटा कुर्सी जोगाउने धुनमा थिए । मान्छेहरूको भीडभाड थियो, तर उनको ध्यान भने आफ्नो सिर्जनात्मक दुनियाँ र भोलिको योजनामा बढी केन्द्रित देखिन्थ्यो ।

उनलाई धेरैले एउटा कुशाग्र शिक्षकका रूपमा चिन्छन्  उनको भित्री परिचय भने रङ्गमञ्चको एउटा अथक यात्री र विद्रोही कवि हो । जीवनको साढे दुई दशकभन्दा लामो समय शिक्षणको सुरक्षित घेराभित्र बिताएका यी मान्छेले एकदिन अचानक एउटा यस्तो निर्णय लिए, जसले उनलाई ‘सुरक्षित भविष्य’बाट ‘अनिश्चित तर आनन्दमयी’ कलाको मैदानमा पुर्‍याइदियो । 

उनले पेन्सन हुने समय पुगेपछि अझै १३ वर्षको सेवा अवधि बाँकी छँदै राजीनामा पत्र बुझाइदिए । धेरैले सोधे- किन ? उनको एउटै जवाफ थियो, ‘मलाई स्कूलमा चक र डस्टर बोक्दाबोक्दै ‘बूढो सर’ भएर मर्नु थिएन । मलाई त रङ्गमञ्चको ऊर्जा र कविताको आलापमै आफ्नो जीवनको विसर्जन गर्नु थियो ।’

भरतको यो साहस र विद्रोहको जग भने उनको अभावग्रस्त बाल्यकालमा लुकेको छ । २०२४ साल कात्तिक २१ गते मोरङको झोराहाटमा जन्मेका भरत आफ्ना आमाबुबाका ११ औं सन्तान हुन् । तर, ती ११ मध्ये ५ जना दाजुभाइ दिदीबहिनी त कलिलै उमेरमा संसारबाट बिदा भए । बाँकी रहेका ६ जनालाई हुर्काउनु आमा महेश्वरी देवीका लागि कुनै महाभारतभन्दा कम थिएन । भरत सात–आठ वर्षको हुँदा बुबा टङ्कप्रसादको निधन भयो । बुबाको सम्झना उनलाई निकै धूमिल मात्र छ । 

एउटा सानो बालक, जसले बुवाको काँधमा चढेर संसार हेर्ने सपना देखेको थियो, उसले सानैमा अभावको पहाड छिचोल्नुपर्‍यो ।  चरम गरिबी, ‘विधवा आमा’ र अहिले खाए भरे के खाउँ’ भन्ने ‘ह्यान्ड टु माउथ’को समस्याका बीचमा आमाले बनीबुतो गरेर उनलाई पढाइन् । सायद त्यही अभावको रापले भरतलाई सानैदेखि विद्रोही र स्वाभिमानी बनायो ।

null

स्कूल पढ्दा होस् वा विराटनगरको महेन्द्र मोरङ कलेजमा, भरत सधैँ प्रथम हुने विद्यार्थी थिए । तर, उनीसँग किताब किन्ने पैसाको भने सधैँ अभाव हुन्थ्यो । आफ्नो पढाइ खर्च जुटाउन उनले कक्षा १० मा पढ्दादेखि नै आफूभन्दा साना विद्यार्थीलाई ट्युसन पढाउन शुरू गरे । 

कलेज पढ्दा उनलाई साथीहरूले ‘भिखारी कान्छो’ भनेर जिस्क्याउँथे । उनले त्यतिबेला त्यही नाम नै राखेका थिए । उनको आर्थिक अवस्था र कान्छो सन्तान भएको नाताले दिइएको त्यो नामले उनलाई कहिल्यै हीनताबोध गराएन, बरु अझ बढी मिहिनेत गर्ने ऊर्जा दियो ।  आजका प्रतिष्ठित साहित्यकार ‘बर्बरीक’को जग त्यही ‘भिखारी कान्छो’को संघर्षले नै हालेको हो ।

पञ्चायतकालको अन्तिम प्रहरमा देशमा राजनीतिक राप बढेको थियो ।  भरतको परिवार पनि त्यसबाट अछुतो रहेन । उनका दाजु राजनीतिमा लागेकै कारण जागिरबाट निकालिए । भरत आफैं पनि प्रहरीको निगरानीमा थिए । कतै जान नपाउने, कसैसँग बोल्न नपाउने त्यो यातनापूर्ण समयमा उनले रेडक्रसमा दिनको १० रूपैयाँ तलब खाने गरी ‘पेड भोलेन्टियर’को रूपमा काम गरे । 

null

२०४६ सालको परिवर्तनपछि देशमा बहुदल आयो र भरतका लागि पनि नयाँ बाटो खुल्यो । उनले शिक्षक सेवा आयोग पास गरे र २०४८ सालदेखि हरैँचाको जनता माध्यमिक विद्यालयमा पढाउन थाले ।  साढे १५ वर्षको त्यो शिक्षण यात्रामा उनी कहिले साइकल त कहिले पुरानो ८० सिसीको ‘एम–८०’ मोपेडमा स्कूल धाउँथे । पढाउनु उनको पेसा थियो, तर नाटक र कविता उनको सास थियो । स्कूल पढ्दाखेरि नै खर्च जुटाउन उनले आफू पढ्ने भन्दा तल्ला कक्षाका विद्यार्थीलाई ट्युसन पढाउने गर्थे ।

साहित्यकारहरूले अक्सर आफ्नो परिचय लुकाउन वा विशिष्ट बनाउन उपनाम राख्ने गर्छन् । भरतको हकमा भने ‘बर्बरिक’ एउटा संयोग र सफलताको कथा बनेर आयो ।  कलेज पढुञ्जेल ‘भिखारी कान्छो’ कहलाएका उनले पछि प्रदीप नेपालको उपन्यासमा आधारित ‘बर्बरिक’ नाटकमा मुख्य भूमिका निर्वाह गरे । त्यो नाटक यति चर्चित भयो कि उनले नेपालभर ६२ पटकभन्दा बढी मञ्चन गरे । 

काठमाडौंको राष्ट्रिय नाचघरमा २३ दिनसम्म लगातार नाटक चल्दा उनले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसहितको मन्त्रिपरिषद्लाई राष्ट्रपति भवनमै आफ्नो कला देखाए । त्यसपछि त उनको खास नाम हरायो र उनी सबैका लागि ‘बर्बरिक’ बने । 

आफ्नो जीवनकालमा ५७ वटा नाटक लेखेका र करिब ७ हजार पटक अभिनय गरिसकेका भरतलाई लाग्छ, कला र पेसालाई सँगै लैजाँदा कतै न कतै न्याय गर्न सकिँदैन । त्यसैले उनले सुरक्षित जागिर त्यागेर अनिश्चित रङ्गमञ्च रोजेका हुन् । 

‘घरमा राजीनामाको कुरा गर्दा कन्भिन्स गर्न एक वर्ष लाग्यो,’ उनी हाँस्दै भन्छन्, ‘तलब आउँदा पूरै आउँथ्यो, पेन्सन त आधा मात्रै आउँछ। तर मलाई हिरामोती खानु थिएन, मलाई त आफ्नो बाँकी जीवन नाटकघरमै बिताउनु थियो ।’ 

null

आज उनी झोराहाटमा आफ्नै सक्रियतामा नाटक घर चलाइरहेका छन्, जहाँ उनले साढे तीन सयभन्दा बढी शिष्य तयार पारिसकेका छन् र पछिल्लो समय भरत एउटा नयाँ प्रयोगमा जुटेका छन् । उनी कवितालाई केवल शब्दका रूपमा मात्र होइन, सङ्गीत र अभिनयको समिश्रणका रूपमा प्रस्तुत गर्नुपर्छ भन्ने मान्यता राख्छन् । 

उनका ‘आमा र कैलीगाई’, ‘दशैँ कहिले आउँछ’ र ‘मृत्यु होस् न यस्तो’ जस्ता कविता सामाजिक सञ्जालमा लाखौंले सुनेका छन् ।  विशेषगरी आफ्नो बाल्यकालको अभाव र आमाको संघर्ष समेटिएको ‘आमा र कैलीगाई’ कविताले धेरैको आँखा रसाउँछ । कविता सुनाउँदा उनी अभिनय पनि गर्छन् र सङ्गीतको धुनमा भावहरूलाई जीवन्त बनाउँछन् ।

null

अभावले मान्छेलाई कुन हदसम्म संघर्ष सिकाउँछ र दृढ इच्छाशक्ति भयो भने एउटा सामान्य गाउँको ठिटो कसरी देशको राष्ट्रपतिसम्मले गर्वका साथ हेर्ने कलाकार बन्न सक्छ भन्ने उदाहरण हो । आज उनी चक र डस्टरबाट मुक्त छन्, तर समाजलाई कलाका माध्यमबाट अझै ठूलो पाठ पढाइरहेका छन् । 

रङ्गमञ्चको पर्दा उठ्दा होस् वा कविताको लयमा डुब्दै गर्दा, भरतभित्रको त्यो ‘भिखारी कान्छो’ आज एउटा सन्तुष्ट र गौरवान्वित ‘बर्बरिक’ बनेर बाँचिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्