
रश्मिका मन्दाना र विजय देवरकोन्डा विगत केही दिनदेखि आफ्नो विवाहको बारेमा हेडलाइन बनिरहेका छन् । रश्मिका र विजयले यो महिना सँगै सात जन्मको प्रतिज्ञा लिने दाबी गरिइएको छ । सामाजिक सञ्जालमा एक भिडियो भाइरल भइरहेको छ, जसमा उनीहरूको विवाहको मिति र स्थानको बारेमा बोल्ड दाबी गरिएको छ ।
रश्मिका र विजयको विवाह कहिले हुन्छ ?
एक इन्स्टाग्राम प्रयोगकर्ताले रश्मिका र विजय देवरकोन्डा फेब्रुअरी २ मा विवाह बन्धनमा बाँधिने दाबी गर्दै भिडियो पोस्ट गरेका छन् । प्रयोगकर्ताले यो जोडीको विवाह भारतको उदयपुरको सिटी प्यालेसमा शाही शैलीमा हुने दाबी पनि गरेका छन् । भिडियोमा कार्यक्रम स्थलमा भइरहेको सजावटको झलक पनि देखाइएको छ ।
प्रयोगकर्ताले रश्मिका र विजयको विवाहको बारेमा दाबी गर्दै भने, ‘हामी हाल उदयपुरको सिटी प्यालेसमा छौं । सजावट धेरै विस्तृत छ । रश्मिका मन्दाना र विजय देवरकोन्डाले त्यहाँ विवाह गर्दैछन् भन्ने हामीले थाहा पाएका छौं । उनीहरूको फेब्रुअरी २ मा विवाह हुँदैछ ।’
रश्मिका र विजय देवरकोन्डाले अहिलेसम्म भाइरल विवाहको हल्लाबारे केही बोलेका छैनन् ।
रश्मिका र विजय दुवै मनोरञ्जन जगतका ठूला नाम हुन् । उनीहरूले ‘गीता गोविन्दम’ र ‘डियर कमरेड’ फिल्ममा सँगै काम गरेका थिए । त्यसबेलादेखि नै उनीहरूबीच डेटिङको हल्ला चलिरहेको छ । अक्टोबर २०२५ मा उनीहरूको गोप्य इन्गेजमेन्टको भएको खबर बाहिर आएको थियो । यद्यपि, दुवैले इन्गेजमेन्टको अफवाहमा टिप्पणी गरेनन् ।