
प्रतिनिधिसभा निर्वाचनमा 'ह्याट्रिक जीत'को खोजीमा रहेका नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठलाई यसपटक पहिलेजस्तो सहज नहुने देखिएको छ ।
उल्लेख्य विकास गरेको दाबी गरे पनि सो क्षेत्रमा नेपाली कांग्रेसको आन्तरिक असन्तुष्टि व्यवस्थापन महासेठका लागि महंगो पर्न सक्ने देखिएको हो ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका महासेठलाई यसपटक पनि कांग्रेसका निवर्तमान सहमहामन्त्री एवं पूर्वमन्त्री महेन्द्र यादवले चुनौती दिएका छन् ।
विगतमा कांग्रेसको अन्तर्घातका कारण पराजित भएका यादव यसपटक पार्टीको आन्तरिक विवाद समाधान गर्न सफल भएको विश्वास देखिन्छन् ।
साथै, कांग्रेस छाडेर एमाले प्रवेश गरेका त्यस क्षेत्रका नेता सन्तोष यादवलाई पार्टीमा फिर्ता ल्याउन सफल भएका कारण यसपटक महेन्द्रलाई विगतको तुलनामा सहज हुने उनका समर्थकहरूको दाबी छ ।
यसका अलावा पूर्व राष्ट्रपति डा. रामवरण यादवका पुत्र डा. चन्द्रमोहन यादवको व्यवस्थापनले पनि सहजता थपेको छ ।
‘सोही क्षेत्रका अर्का नेता तथा पूर्व राष्ट्रपतिपुत्र डा. चन्द्रमोहन यादव पक्षको अन्तर्घातका कारण गत निर्वाचनमा महेन्द्र दाइ पराजित हुनुभएको थियो,’ सोही क्षेत्रका एक कांग्रेस कार्यकर्ताले लोकान्तरसँग भने, ‘तर, यसपटक उहाँको नाम समानुपातिकतर्फ मधेशी पुरुष क्लस्टरमा पहिलो नम्बरमै छ । सोही कारण पनि महेन्द्र दाइ अहिले सहज पोजिसनमा हुनुहुन्छ ।'
एकै क्षेत्रका ती दुई नेताले एक साथ टिकटको चाहना राख्ने गरेका थिए । ‘महेन्द्र दाइ पार्टीको सहमहामन्त्री समेत भएको हुनाले उहाँले टिकट पाउँदा चन्द्रमोहन डाक्टरसा’पले पाउनु भएन,’ विगत सम्झँदै कांग्रेसका ती कार्यकर्ताले थपे, ‘तर, यसपटक त्यस्तो अवस्था छैन । दुवै नेताको व्यवस्थापन भएकाले अन्तर्घात हुँदैन ।’

२०७९ सालको प्रतिनिधिसभा चुनावमा अन्तर्घात गरेको भन्दै कांग्रेस धनुषा- ४ का क्षेत्रीय सभापति समेत रहेका प्रदेश सांसद कुमरकान्त झा नेतृत्वको क्षेत्रीय कमिटीले चन्द्रमोहनसहित तीन जनालाई कारबाहीका लागि सिफारिश गरेको थियो ।
उक्त समितिले डा. चन्द्रमोहन यादव, लक्ष्मीनिया गाउँपालिका वडा नम्बर १ का वडा सभापति आनन्द यादव लगायतलाई कारबाहीका लागि सिफारिश गरेको थियो ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा महेन्द्र एमालेका रघुवीर महासेठबाट जम्मा १२४ मतले पराजित भएका थिए । यसपटक चन्द्रमोहनलाई अगाडि लगाएर महेन्द्र यादवले चुनावी अभियान थालेका छन् ।
‘चन्द्रमोहन डाक्टरसा’प अहिलेसम्म महेन्द्र दाइको हरेक कार्यक्रममा सँगै हिँडिरहनु भएको छ । तर, उहाँकै परिवारका (काकाको छोरा, भतिजासहित) केही सदस्यहरू दुई दिनअघि मात्र रास्वपामा प्रवेश गरेका छन्,’ महेन्द्रनिकट कांग्रेसका अर्का एक नेताले थपे, ‘अब डाक्टरसा’पले पारिवारिक अन्तरविरोधलाई कसरी म्यानेज गर्नुहुन्छ, त्यो भने हेर्न बाँकी छ ।’
२०७९ को चुनाव हार्नुको अर्को कारण कांग्रेस धनुषाका पूर्व उपसभापति सन्तोष यादव पनि भएको महेन्द्र यादव पक्षको बुझाइ छ । उनी चुनावको मुखैमा कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेर प्रदेश सभामा उम्मेदवार नै बनेका थिए ।
प्रदेश सभाकै उम्मेदवार भएका कारण उनले कांग्रेसको धेरै मत एमालेतर्फ लैजान सफल भए पनि आफू भने जित्न सकेनन् । तिनै सन्तोष यादव केही महिनाअघि मात्र कांग्रेसमा फर्किएका छन् ।
‘सन्तोष यादवको घर फिर्तीले पनि मेहन्द्रजीलाई राम्रै लाभ भएको छ,’ महेन्द्रनिकट कार्यकर्ता भन्छन्, ‘कम्तीमा पनि सन्तोषको गाउँ रहेको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ५ बाट महेन्द्रजीले लिड गर्नुहुन्छ । गत निर्वाचनमा त्यहाँ एमालेको अग्रता थियो ।'
महेन्द्रलाई राहतको अर्को विषय पार्टीका जिल्ला सभापति समेत रहेका तथा सोही क्षेत्रअन्तर्गत पर्ने क्षिरेश्वरनाथ नगरपालिकाका पूर्व नगर प्रमुख योगेन्द्र (योगी) पजियारको समर्थन हुनु पनि हो ।
‘यसपटक योगीको नाममा टिकट कन्फर्म थियो । महेन्द्रले टिकट नै पाउनुहुन्थेन, किनभने महेन्द्र त नियमित महाधिवेशन पक्षको कार्यतालिका प्रस्तुत गर्ने तत्कालीन सहमहामन्त्री पनि हो,’ अर्का एक नेताले लोकान्तरसँग भने, ‘योगी विशेष महाधिवेशनका लागि भृकुटीमण्डप पुग्नुभएको थियो । उहाँले हस्ताक्षर नगरे पनि गगनकुमार थापाको पक्षमा खुल्नुभएको थियो ।'

विमलेन्द्र निधिले योगीलाई जिल्ला सभापति बनाए पनि पछिल्लो समयमा निधि र महेन्द्रको आपसी एकाताका कारण योगी गगन थापा पक्षमा लागेको ती नेताले खुलाए ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा योगी नगर प्रमुख निर्वाचित भएका थिए, तर पछिल्लोपटक भने पराजित भए ।
‘२०७९ सालको स्थानीय तह निर्वाचनमा दोस्रोपटक लड्दा महेन्द्रले नै अन्तर्घात गरेका कारण आफू हारेको योगीको निष्कर्ष थियो,’ उनले थपे, ‘योगी पनि तत्कालीन संस्थापन शेरबहादुर देउवा पक्षमा खासगरी विमलेन्द्र निधिजीका कारण लाग्नुभएको थियो । तर, महेन्द्र र निधी दुवै मिल्दा उहाँ गगनतर्फ लाग्नुभयो ।’
‘विशेष महाधिवेशन भएर टिकट बाँड्ने विषयमा महेन्द्र र योगीबीच सम्झौता भयो । महेन्द्रलाई टिकट छाड्न योगी सहमत हुनुभयो,’ उनले थपे, ‘अर्कोपटक योगी पुनः स्थानीय तहमा उम्मेदवार हुने र मेहन्द्रले सघाउने सहमति भएको छ ।’
उक्त सहमतिपछि योगीकै आग्रहमा कांग्रेस सभापति गगन थापा केही दिनअघि धनुषा ४ मा आएको उनले खुलाए । ‘कांग्रेसको क्षेत्रीय कार्यालय उद्घाटन गर्नका लागि योगीकै आग्रहमा सभापति गगन थापा आउनुभयो,' कांग्रेसका ती नेताले थपे, ‘उक्त कार्यक्रममा महेन्द्रले सभापतिलाई आफ्नो चुनावी कमान्डर योगी नै रहेको बताउनुभएको थियो ।’

त्यसबाहेक विगतको दुईवटै प्रतिनिधिसभा चुनावमा यादव जातिको मत विभाजन हुँदा महासेठलाई जित्न सहज हुने गरेकोमा यसपटक त्यस्तो अवस्था नहुने उनले बताए ।
‘२०७४ र २०७९ सालको चुनावमा जसपाबाट महाजन यादव उम्मेदवार हुँदा यादव जातिको मत विभाजन हुने गरेको थियो । त्यसको फाइदा महासेठलाई हुने गरेको थियो,’ उनले थपे, ‘तर, यसपटक महाजन यादव उम्मेदवार छैनन् । बरु वैश्य समुदायबाट जसपा नेपालका कृष्णचन्द्र प्रसाद साह उम्मेदवार हुँदा त्यो समुदायको मत बाँडिएर महासेठलाई घाटा हुन्छ ।'
२०७९ सालको निर्वाचनमा एमालेका महासेठ ३२ हजार २३६ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका महेन्द्र यादवले ३२ हजार ११२ र जसपाका महाजन यादवले ५ हजार २१२ मत ल्याएका थिए ।
त्यसैगरी, २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा महासेठ २२ हजार ५३२ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसबाट महेन्द्रले १९ हजार ९९१ र तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट महाजन यादवले १९ हजार ६६२ मत ल्याएका थिए ।
दुवै निर्वाचनमा महाजन यादवका कारण यादव जातिको मत विभाजन हुँदा त्यसको फाइदा महासेठले उठाउने गरेको भएपनि यसपटक फरक अवस्था देखिएको छ ।
तर, एमाले उम्मेदवार रघुवीर महासेठ भने आफू चुनावी जीतको ह्याट्रिक गर्ने अठोटसहित मैदानमा छन् । उनले २०७४ र ०७९ दुवै चुनावमा जीत हात पारेका थिए ।
‘कांग्रेसका उम्मेदवार महेन्द्रजीको आफ्नो क्याल्कुलेसन होला । उहाँको आफ्नो दाबी होला,’ महासेठले लोकान्तरसँग भने, ‘मैले मेरो आफ्नो रणनीति अहिले नै भन्दिनँ । मेरो चुनाव प्रचार–प्रसार हुन थालेपछि तपाईंले आफैं थाहा पाउनुहुन्छ ।’
आफूले क्षेत्रमा गरेको उल्लेखनीय विकासका कारण क्षेत्रका जनताले पुनः जिताउने उनले बताए । ‘२०७४ सालअघि क्षेत्र कस्तो थियो र ८ वर्षमा कस्तो भैसक्यो भन्ने कुरा क्षेत्रका जनताले राम्ररी बुझेका छन्,’ महासेठले लोकान्तरसँग भने, ‘मैले क्षेत्रका जनतासँग गरेका हरेक प्रतिबद्धता पूरा गरेको हुनाले पुनः यसपटक जनताले मलाई नै जिताउँछन् ।’

धनुषाको ढल्केवरदेखि जटहीसम्मको सिक्स लेनमा बत्ती जडान, क्षेत्रका दुई ठाउँमा आकाशे पुल निर्माण, अन्य कैयौं पुल निर्माण, कैयौं स्कूल भवनदेखि मदरसा, मठ-मन्दिर, गुम्बा, कब्रगाह र मसान घाटसम्म निर्माणको काम आफूले गरेको उनले बताए ।
त्यसबाहेक हुलाकी राजमार्गमा १३ अर्ब रूपैयाँ बजेट विनियोजन गर्ने काम आफू भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएकै बेला भएको उनले दाबी गरे । कमला नदीमा पुल निर्माण गर्दा भत्के पनि त्यसको विकल्पमा कजरिया-जानकी मेडिकल कलेज रमदैया-भवाडी- मौवाही-सबैला हुँदै चिकनासम्म वैकल्पिक राजमार्ग आफ्नै पालामा निर्माण भएको उनले बताए ।
‘नेपाल रेल्वेका लागि इन्जिन खरिददेखि बगी खरिदको काम मेरै पालामा भएको हो । नागढुंगा टनेलदेखि सिद्धबाबा टनेलको काम म मन्त्री भएकै बेलामा भएको हो,’ उनले थपे, ‘त्यसैले क्षेत्र, जिल्ला, मधेशसहित देशकै विकासमा मेरो योगदान रहेको हुनाले पनि जनताले मलाई जिताउँछन् ।’
क्षेत्रका जनताले जातिको आधार भन्दा पनि आफूले गरेको विकासका कारण मतदान गर्ने उनको जिकिर छ । ‘यी सबै विकास निर्माणको कामका आधारमा हरेक जात-जातिका मतदाताले मलाई मतदान गर्नुहुन्छ,’ महासेठले थपे, ‘कांग्रेसबाट आएका सन्तोष यादव फर्किए पनि त्यसले केही फरक पर्दैन ।’
आफू वैश्य समुदायको भए पनि यादव जातिको बाहुल्य रहेको बनिनिया, सिनुरजोडासहित विभिन्न स्थानमा विगतमा आफूले लीड गरेजस्तै यसपटक पनि लीड गर्ने दाबी उनले गरे ।
अर्कोतर्फ, जसपा नेपालका उम्मेदवार कृष्णचन्द्रप्रसाद साह भने यसपटक जनता मत परिवर्तनको मुडमा रहेकाले आफूले जित्ने दाबी गर्छन् ।
‘ती दुवै नेताबाट क्षेत्रका जनता आजित भैसकेका छन् । यसपटक क्षेत्रका जनताले राम्रो, पढे/लेखेको, योग्य उम्मेदवारलाई जिताउने मूड बनाएको देखिन्छ,’ उनले थपे, ‘कांग्रेस र एमालेभन्दा जसपाको पनि संगठन कमजोर छैन । यसपटक जनताले मलाई नै विकल्पको रूपमा देखिरहेका छन् ।’

ती तीनजना उम्मेदवारबाहेक त्यस क्षेत्रमा जनमत पार्टीबाट इन्द्रजीत यादव, नेपाली कम्युनिस्ट पार्टीबाट सञ्जयकुमार महतो, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट राजकिशोर महतो, आमजनता पार्टीबाट सम्पत महतो कोइरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामबाबु साह हलुवाई, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट महावीर यादवसहित विभिन्न उम्मेदवारहरूले उम्मेदवारी दिएका छन् ।
सो क्षेत्रमा जनकपुर उपमहानगरपालिकाका वडा नम्बर ९,१३,१४,१९,२१ र २२ गरी ६ वटा वडा पर्छन् । त्यसैगरी, लक्ष्मीनिया गाउँपालिका तथा मिथिला विहारी नगरपालिकाका २,६,७,८,९ र १० नम्बर वडा पनि पर्छन् ।
त्यसैगरी, क्षिरेश्वरनाथ नगरपालिकाका वडा नम्बर १,२,३,४,५,६,७ र १० सहित ८ वटा वडा, मिथिला नगरपालिकाका वडा नम्बर १,२,३,५,६,७,८,९,१० र ११ गरी १० वटा वडा र बटेश्वर गाउँपालिका पनि यही क्षेत्रमा समेटिएका छन् ।