
साढे तीन दशकपछि रूपन्देही क्षेत्र नम्बर– ३ मा नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण उम्मेदवार छैनन् ।
कहिले कांग्रेस, त कहिले एमालेसँग तालमेल गरी यही क्षेत्रबाट पटक–पटक चुनावी प्रतिस्पर्धा गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रभावशाली नेता दीपक बोहरा (स्वर्गीय) पनि अब रूपन्देहीको संसदीय प्रतिस्पर्धामा कहिल्यै देखिने छैनन् ।
गत निर्वाचनमा एमालेसँगको तालमेलबाट बोहराले तत्कालीन गृहमन्त्री खाँणलाई पराजित गरेका थिए । भुटानी शरणार्थी काण्डमा मुछिएपछि २०४८ पछि पार्टी र संसदीय राजनीतिमा खाँणको ‘ब्रेक’ लाग्न पुग्यो भने बोहराको गएको चैतमा निधन भएको छ ।
खाँण र बोहराको गृहनगर तथा निर्वाचन क्षेत्रमा अहिले सबै नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
सधैँ चर्चामा रहने रूपन्देही– ३ ले यो पटकको निर्वाचनमा क्षेत्रका लागि नयाँ सांसद पाउनेछ । बुटवल, तिलोत्तमा, सिद्धार्थनगर हुँदै बेलहिया (सुनौली)सम्म समेटेको यो क्षेत्रमा अहिले डाक्टर, पाइलट र युवा नेताको उम्मेदवारीले चर्चा पाएको छ ।
नेकपा एमालेबाट निवर्तमान सांसद तथा पूर्व मेयर वासुदेव घिमिरे, कांग्रेसबाट विद्यार्थी राजनीतिबाट उदाएका युवा नेता सुशील गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डा. लेखजंग थापा, राप्रपाबाट गौरव बोहरा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट फैज अहमद खाँ र जनता समाजवादी पार्टी (जसपा)बाट श्रीनिवास यादव चुनावी मैदानमा छन् ।

डा. थापा न्यूरो रोग विशेषज्ञ हुन् भने बोहरा बुद्ध एयरलाइन्सको (विमान चालक) पाइलट हुन् । गौरव स्व. दीपक बोहराका छोरा हुन् । घिमिरे तिलोत्तमा नगरपालिकाको मेयर हुँदा गरेका कामले ‘विकासप्रेमी’ नेताको छवि बनाएका परिचित अनुहार हुन् । पञ्चयतकालदेखि यस क्षेत्रमा भिजेका दीपक बोहराको पारिवारिक ‘लिगेसी’ गौरवमा रहेको देखिन्छ ।
दल र स्वतन्त्र गरी १६ जना उम्मेदवार चुनावी मैदानमा भए पनि यो क्षेत्रमा घिमिरे, डा. थापा, गुरुङ र बोहराबीच चारपक्षीय प्रतिस्पर्धा हुने स्थानीय बताउँछन् । अघिल्लो चुनावमा उम्मेदवार बनेका जीतबहादुर गुप्ता (जेबी)ले स्वतन्त्र उम्मेदवारी दिएपछि मत तलमाथि हुन सक्ने आशंका छ । स्व. दीपक बोहराको निधनसँगै उपचुनाव गर्ने कुराले गर्माएको यो क्षेत्रको राजनीति अहिले झन् तातेको छ ।
पहाडी र तराईबासीको मिश्रित बसोबास रहेको यो क्षेत्रमा व्यक्तिगत प्रभाव बढी रहेका नेतालाई विश्वास गर्ने गर्छन् । फेरिँदो जनमतले कतै नतिजा उल्टिने त होइन भन्ने आशंकाले कांग्रेस र एमाले चुनावी गणित बुझेर अभियानमा लागेका छन् । रास्वपाका सभापति रवि लामिछाने रुपन्देही कारागारमा लामो समय बसेपछि यहाँको जनमत केही तलमाथि भएको प्रमुख राजनीतिक शक्तिले महसुस गरेका छ ।

तीन वर्षअघि समानुपातिक मतको अवस्था
वि.सं. २०७९ सालको चुनावमा रुपन्देही–३ मा कांग्रेसले समानुपातिकमा २० हजार २७८ मत ल्याएको थियो । एमालेले १६ हजार ९८६ मत पाउँदा रास्वपाको १४ हजार १५४ मत थियो । राप्रपाले भने जम्मा ९ हजार १८३ मत पाएको थियो ।
त्यस्तै, नागरिक उन्मुक्ति पार्टीले ६ हजार र जनता समाजवादी पार्टी (जसपा) ले ५ हजार मत ल्याएका थिए । लोसपाले ५ हजार, जनमत पार्टीले ३ हजार ७००, माओवादी केन्द्रले २ हजार ६०० सय, जनमुक्ति पार्टीले १ हजार ९००, हाम्रो नेपाली पार्टी (लौरो)ले १ हजार ३४७ र नेकपा एकीकृत समाजवादीले ७८१ समानुपातिक मत पाएका थिए । रूपन्देही– ३ मा १ लाख ५० हजार मतदाता रहेका छन् ।
नेपाल–भारत सीमा क्षेत्र बेलहिया नाका हुँदै बुटवल उपमहानगरको वडा नम्बर १४ देखि १९, सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिकाको वडा नम्बर ७ र ८, ओमसतिया गाउँपालिकाको वडा नम्बर २, सियारी गाउँपालिकाका वडा नम्बर १, २, ३, ६ र ७ तथा तिलोत्तमा नगरपालिकाका वडा नम्बर १३ र १४ यो क्षेत्रमा पर्छन् ।
स्थानीय तहको परिणामअनुसार यो क्षेत्रमा कांग्रेस बलियो देखिन्छ । सात पालिकामध्ये कांग्रेसले माओवादीसँगको गठबन्धनमा ६ वटामा प्रमुख र २ पालिकामा उपप्रमुख जितेको छ । एमालेले १ पालिकामा प्रमुख र ४ पालिकामा उपप्रमुख जितेको छ । लोकतान्त्रिक समाजवादीले १ पालिकामा उपप्रमुख जितेको छ ।

विगत ३२ वर्षको चुनावी गणित
यो क्षेत्रमा कांग्रेस र एमालेले राप्रपालाई साथमा लिएर चुनाव लड्दै आएका छन् । निर्वाचन क्षेत्र निर्धारण आयोगले २०७४ अघि क्षेत्र निर्धारण गर्नुपूर्व रुपन्देहीमा ७ वटा निर्वाचन क्षेत्र थिए ।
२०७४ मा निर्वाचन क्षेत्र पुन:संरचना भएर ५ वटा क्षेत्र बनेपछि रुपन्देहीमा निर्वाचन क्षेत्र नम्बर ३ को नयाँ भूगोल कायम भएको हो । आजभन्दा ३२ वर्षअघि २०४८ सालमा यहाँबाट कांग्रेसका रामकृष्ण ताम्राकारले चुनाव जितेका थिए ।
त्यसपछि २०५१ को मध्यावधि निर्वाचनमा एमालेका धनपति उपाध्यायले चुनाव जिते । एमालेका उपाध्यायको निधनपछि रिक्त रहेको क्षेत्रमा उपचुनाव हुँदा २०५२ मा एमालेकै घनश्याम भुसालले जितेका थिए ।
फेरि २०५६ सालमा फेरि कांग्रेसका ताम्राकारले जीत हाँसिल गरे । २०६४ सालमा क्षेत्र पुन:संरचना भएपछि अहिले क्षेत्र नम्बर ३ मा नै पर्ने तत्कालीन क्षेत्र नम्बर २ बाट बोहरा र क्षेत्र नम्बर ३ बाट खाँण विजयी भए । खाँणले एमालेका लीला गिरीलाई पराजित गरेका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा खाँणले तत्कालीन एमाले उपमहासचिव घनश्याम भुसाललाई झिनो मतले पराजित गरे ।
२०७४ सालमा नेपाली कांग्रेसले दीपक बोहरालाई उम्मेदवार बनाएर बालकृष्ण खाँणलाई समानुपातिक सांसद बनाएको थियो । तर, एमालेका तर्फबाट घनश्याम भुसालले राप्रपाका बोहरालाई पराजित गरी जीत निकाले । त्यतिबेला एमाले र माओवादी केन्द्र सहकार्य गरेर चुनाव लडेका थिए भने कांग्रेस र राप्रपाबीच चुनावी तालमेल थियो । २०७९ सालमा दीपक बोहरा राप्रपाबाट एमालेको साथ पाउँदै विजयी हुँदा कांग्रेसका बालकृष्ण खाँण दोस्रो भएका थिए ।
सबै उम्मेदवारको चुनावी मुद्दा– विमानस्थल सञ्चालन
राज्यको झण्डै ३५ अर्ब रूपैयाँमा बनेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी ढंगले सञ्चालनमा आउन सकेका छैन । यही क्षेत्रमा पर्ने एयरपोर्टमा प्रभावकारी र नियमित अन्तर्राष्ट्रिय उडान गराउने सबै दलका उम्मेदवारको प्रमुख चुनावी एजेन्डा छन् ।
रुपन्देही– ३ का उम्मेदवार मात्र नभई जिल्लामा उम्मेदवार रहेका अन्य नेताले पनि नियमित उडानको पहल गर्ने वाचा गरेका छन् । विमानस्थलबाट अहिले थाई एयर एसियाको मात्र सातामा दुई उडान छ ।
सँगै भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) पनि राम्रोसँग सञ्चालनमा छैन । त्यस्तै, बेलहिया (सुनौली) नाकालाई व्यवस्थित बनाउने, भैरहवाको फोहोरको व्यवस्थापन पनि चुनावी मुद्दा बनेका छन् । त्यस्तै, एकीकृत भन्सार जाँच चौकी, भैरहवालाई पर्यटकीय शहर बनाउने चुनावी नारा छन् ।

के भन्छन् दलका नेता ?
नेकपा एमालेका रुपन्देही अध्यक्ष यज्ञ गैरेले रुपन्देही– ३ मा एमाले सबैभन्दा बलियो रहेको दाबी गरे । ‘हाम्रो उम्मेदवार पब्लिकमा धेरै राम्रो हुनुहुन्छ,’ अध्यक्ष गैरेले भने, ‘चुनावी गति उचाइमा जाँदै छ । अहिले हामीले संगठनात्मक भेटघाट र छलफल चलाएका छौं । घरदैलोमा जान बाँकी नै छ । हामी रुपन्देहीका ५ वटै क्षेत्रमा जीत निकाल्ने गरी अभियानमा जुटेका छौं ।’
रास्वपाका जिल्ला निर्वाचन सचिवालय सदस्य मधु अर्यालले उपचुनावदेखि टुंगो लागेका उम्मेदवार भएका कारण आफूहरूलाई चुनाव जित्न गाह्रो नभएको बताए ।
‘हाम्रो सबैभन्दा बलियो क्षेत्र ३ नै हो । अन्य क्षेत्रमा पनि अनुकूलको वातावरण बनिरहेको अवस्था छ । योपटक नागरिकले जेनजी आन्दोलनलाई सार्थक बनाउन रास्वपालाई भोट हाल्ने हाम्रो अनुमान छ,’ संयोजक अर्यालले भने ।
राप्रपाकी केन्द्रीय सदस्य स्वाती थापाले अघिल्लो चुनाव आफूहरूले जितेको भन्दै अहिले पनि सहजै जीत निकाल्ने दाबी गरिन् । जिल्लाको क्षेत्र नम्बर ३ र क्षेत्र नम्बर १ मा पार्टीका दुवै उम्मेदवार लोकप्रिय रहेको उनको भनाइ छ ।
