२७ असार २०८३, शनिबार

एपस्टिन प्रकरणमा तानिए अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन, बयानमा जान हिलारीले पनि जनाइन् सहमति

माघ २०, २०८२
काठमाडौं
एपस्टिन प्रकरणमा तानिए अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन, बयानमा जान हिलारीले पनि जनाइन् सहमति

अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन र उनकी पत्नी तथा पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनले दिवंगत यौन अपराधी जेफ्री एपस्टिनसम्बन्धी कंग्रेसको अनुसन्धानमा बयान दिन सहमति जनाएका छन् ।

यो सहमति प्रतिनिधिसभाको ओभरसाइट कमिटीअघि उपस्थित हुन अस्वीकार गरेबापत क्लिन्टन दम्पतीलाई कंग्रेसको अवहेलनामा आपराधिक कारबाही गर्ने वा नगर्ने विषयमा मतदान हुन केही दिन बाँकी रहँदै आएको हो ।

बिल क्लिन्टन एपस्टिनसँग चिनजानमा रहेको भए पनि उनले एपस्टिनका यौन अपराधबारे जानकारी नभएको दाबी गर्दै आएका छन् । उनले करिब दुई दशकअघि नै एपस्टिनसँग सम्पर्क तोडेको पनि बताएका छन् । एपस्टिन सन् २०१९ मा जेलमै मृत्यु भएका थिए ।

बयान कहिले लिइने भन्ने अझै स्पष्ट छैन । तर यो सन् १९८३ मा जेराल्ड फोर्डले बयान दिएपछि पहिलो पटक कुनै पूर्वअमेरिकी राष्ट्रपतिले कंग्रेस समितिमा बयान दिन लागेको घटना हुनेछ ।

क्लिन्टन दम्पतीले आफूहरूसँग एपस्टिनबारे ‘सीमित जानकारी’ मात्र रहेको भन्दै यसअघि नै शपथसहित लिखित बयान दिएको दाबी गर्दै समितिमा उपस्थित हुन लामो समयसम्म अस्वीकार गर्दै आएका थिए ।

उनीहरूले समितिले जारी गरेका कानूनी समन्सलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा ‘राजनीतिक प्रतिद्वन्द्वीलाई अपमानित गर्न गरिएको चाल मात्र’ भन्दै खारेज गरेका थिए ।

त्यसपछि रिपब्लिकन नेतृत्वमा रहेको प्रतिनिधिसभा ओभरसाइट कमिटीले गत महिना क्लिन्टन दम्पतीलाई कंग्रेसको अवहेलनामा राख्ने प्रस्ताव पारित गरेको थियो, जसमा केही डेमोक्र्याट सांसदको पनि समर्थन थियो ।

शनिबार दम्पतीका वकिलहरूले सीमित दायरामा बयान दिन प्रस्ताव गरेका थिए, जसमा बिल क्लिन्टनसँग चार घण्टाको अन्तर्वार्ता केन्द्रमा रहने बताइएको थियो । तर ओभरसाइट कमिटीका अध्यक्ष जेम्स कोमरले पूर्व राष्ट्रपति प्रश्न टार्ने र समय बिताउने प्रयास गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।

सोमबार साँझ बिल क्लिन्टनका उप–प्रधान कार्यकारी सचिव एन्जेल उरेन्याले सामाजिक सञ्जाल एक्समार्फत क्लिन्टन दम्पती समितिमा उपस्थित हुने पुष्टि गरेका छन् । 

उनले लेखेका छन्, ‘उनीहरूले सद्भावपूर्वक वार्ता गरे । तपाईंहरूले गर्नुभएन । उनीहरूले शपथसहित आफूलाई थाहा भएको कुरा बताए, तर तपाईंहरूलाई चासो छैन । तर पूर्व राष्ट्रपति र पूर्व विदेशमन्त्री त्यहाँ उपस्थित हुनेछन् । सबैका लागि लागू हुने एउटा उदाहरण स्थापित गर्न उनीहरू तत्पर छन् ।’

यसपछि क्लिन्टन दम्पतीविरुद्ध कंग्रेसको अवहेलनासम्बन्धी प्रस्तावमाथि सांसदहरूले गर्ने छलफल स्थगित गरिएको घोषणा गरियो । प्रतिनिधिसभा नियम समितिकी अध्यक्ष भर्जिनिया फक्सले क्लिन्टन दम्पतीले वास्तवमै के कुरामा सहमति जनाएका हुन् भन्ने स्पष्ट पार्न थप समय आवश्यक रहेको बताइन् ।

कोमरले भने, ‘उनीहरूले मानेका सर्तहरू म स्पष्ट पार्नेछु र त्यसपछि समितिका सदस्यहरूसँग आगामी कदमबारे छलफल गर्नेछु ।’

एपस्टिनका पीडितहरूले क्लिन्टन दम्पतीविरुद्ध कुनै गलत कार्यको आरोप लगाएका छैनन् । दुवैले एपस्टिनका यौन अपराधबारे जानकारी नभएको दाबी गर्दै आएका छन् ।

पूर्व अमेरिकी सिनेटर तथा विदेशमन्त्री, र सन् २०१६ की डेमोक्र्याटिक राष्ट्रपति उम्मेदवार हिलारी क्लिन्टनले आफूले कहिल्यै एपस्टिनसँग भेट नगरेको र कुरा पनि नगरेको बताएकी छन् ।

एपस्टिनको निजी विमानको उडान अभिलेखअनुसार बिल क्लिन्टनले सन् २००२ र २००३ मा चारवटा अन्तर्राष्ट्रिय उडान गरेका थिए ।

न्याय मन्त्रालयले कंग्रेसले पारित गरेको कानूनअनुसार एपस्टिनसम्बन्धी सबै अनुसन्धान सामग्री सार्वजनिक गर्दा जारी गरेका तस्वीरमा पनि क्लिन्टन एपस्टिनको सम्पत्तिमा देखिएका छन् ।

एक तस्वीरमा पूर्व राष्ट्रपति पौडी पोखरीमा पौडी खेलिरहेको देखिन्छ भने अर्को तस्वीरमा उनी हात टाउको पछाडि राखेर तातोपानी पोखरीजस्तो देखिने स्थानमा ढल्किएको अवस्थामा छन् ।

क्लिन्टनका प्रवक्ता उरेन्याले गत डिसेम्बरमा ती तस्वीर सार्वजनिक हुँदा प्रतिक्रिया दिँदै ती दशकौं पुराना भएको र एपस्टिनका अपराध सार्वजनिक हुनुअघि नै क्लिन्टनले उनीसँग सम्पर्क तोडिसकेको बताएका थिए ।

गत महिना क्लिन्टन दम्पतीले ओभरसाइट कमिटीका अध्यक्ष कोमरलाई पत्र लेख्दै एपस्टिन अनुसन्धानको व्यवस्थापनप्रति आलोचना गरेका थिए ।

पत्रमा भनिएको थियो, ‘तपाईंले अध्यक्षका रूपमा गरेका निर्णय र प्राथमिकताले सरकारको भूमिकाबारे तथ्य पत्ता लगाउने प्रक्रियामा प्रगति हुन दिएको छैन ।’

उनीहरूले थप लेखेका थिए, ‘यसको अन्य कुनै विश्वसनीय कारण देखिँदैन, दलीय राजनीतिबाहेक ।’

कोमरले यसअघि क्लिन्टन दम्पतीविरुद्धका समन्स द्विदलीय मतदानबाट स्वीकृत भएको उल्लेख गर्दै कानूनभन्दा माथि कोही छैन भनेका थिए ।

केन्टकीका रिपब्लिकन कोमरले भने, ‘हामीले महिनौंसम्म राष्ट्रपति क्लिन्टनको कानूनी टोलीसँग संवाद गर्‍यौं, बयान दिन थुप्रै अवसर दियौं । तर उनीहरूले लगातार ढिलाइ मात्र गरे ।’

salt training

कमेन्ट गर्नुहोस्