
करिब एक महिनादेखि बजारमा खाना पकाउने ग्यास आपूर्तिमा असहजता भएको छ ।
पछिल्लो एक महिनामा काठमाडौं उपत्यकाभित्र खाना पकाउने ग्यास अभाव भइरहेको भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा गुनासा आउन थालेका हुन् ।
पछिल्लो एक महिनाभन्दा बढी समयदेखि उपत्यकामा ग्यास अभाव भइरहेको ग्यास विक्रेता महासंघ अध्यक्ष ज्ञानेश्वर अर्याल बताउँछन् । नेपाल ग्यास करिब १ वर्षदेखि अभाव भइरहेको र अन्य ग्यास एक महिनाभन्दा बढी समयदेखि बजारमा अपुग भइरहेको उनको भनाइ छ ।
‘बजारमा ग्यासको आपूर्ति भइरहेको छैन । अहिलेदेखि होइन; यो समस्या पहिलेदेखि हो’, उनले भने, ‘अधिकांश ग्यास बिक्रेताहरूले ग्यास दिन नसकिरहेको अवस्था छ ।’
ग्यास ढुवानी गर्दै आएका भारतीय नम्बर प्लेटका बुलेट ट्रान्सपोर्टरका कारणले माग अनुसार ग्यास बजारमा आपूर्ति हुन नसकेको नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले बताए ।
भारतीय क्षेत्रमै ढुवानीमा केही समस्या देखिएकाले नेपालमा मागअनुसार नियमित रूपमा ढुवानी हुन नसकेकाले अभाव देखिएको उनको भनाइ छ ।
यसका साथै यही समयमा भारतको बरौनीस्थित रिफाइनरी केन्द्र नियमित कार्यतालिका अनुसार मर्मत सम्भार र सरसफाइ भइरहेकाले ग्यास आपूर्ति नभएको उनी बताउँछन् । त्यसकारण अहिले अभाव जस्तो देखिएको ठाकुरको भनाइ छ ।
‘उपत्यकामा केही अभाव देखिए पनि अहिले आपूर्ति सहज भइरहेको छ,’ प्रवक्ता ठाकुरले भने, ‘केही साताभित्रै पुरै ठीक हुन्छ । हल्लाले पनि बजारमा कृत्रिम अभाव सृजना गर्छ ।’
बजारको माग अनुसार आपूर्ति सहज नभएकाले उपत्यकाभित्र ग्यास अभावजस्तो देखिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक नरहरि तिवारीले जानकारी दिए । पछिल्लो समय ग्यास अभावको गुनासा आइरहेको र सोही अनुसार विभागले अनुगमन गरिरहेको उनको भनाइ छ ।
‘बजारमा ठूलो समस्या छैन । माग बढी भएको हो । पछिल्लो समय ग्यास आपूर्तिकर्ताको आपूर्ति चेनमा पनि केही समस्या देखिएका छन्’, उनले भने, ‘अहिले विस्तारै कम हुँदै छ । अर्को सातासम्म आपूर्ति चेन मिल्छ । यो सिजनमा अलिक समस्या नै देखिने गरेको छ । मूल्य बढी लिने, कार्टेलिङ गर्ने कुरामा हामीले अनुगमन गरिरहेका छौं ।’