
भारत । उत्तर प्रदेशको गोन्डा जिल्लास्थित परना गाउँमा एउटा अचम्मको प्रेम प्रसङ्ग सार्वजनिक भएको छ। ३० वर्षीया एक विवाहित महिला आफ्ना श्रीमान् र दुई साना छोराहरूलाई छोडेर आफूभन्दा ११ वर्ष कान्छो भान्जा पर्ने युवासँग फरार भएकी छिन्।
४० वर्षीय श्रीमान् ददन तिवारी र ९ तथा ४ वर्षका दुई छोराहरूलाई अलपत्र पार्दै मनिषा नामकी ती महिला भान्जा विनीत दीक्षितसँग गएकी हुन्।
मनिषा र ददनको भेट सन् २०१५ मा चन्डिगढमा भएको थियो। उनीहरूबीच प्रेम बसेपछि सन् २०१६ मा अदालती विवाह भएको थियो। उनीहरूको वैवाहिक जीवन सामान्य रूपमा चलिरहेको भए तापनि विगत चार वर्षदेखि मनिषाको आफ्नै नातामा भान्जा पर्ने विनीतसँग गोप्य प्रेम सम्बन्ध रहेको खुलेको छ।
केही महिनाअघि परिवारले यो कुरा थाहा पाएपछि ठूलो झगडा भएको थियो भने मनिषाले आत्महत्याको प्रयास समेत गरेकी थिइन्।
गत आइतबार राति विनीत मनिषाको घर पुगेर रातभर कोठामा लुकेर बसेका थिए। बिहान सासूले विनीतलाई कोठाको दराजमा लुकेको देखेपछि गाउँमा खैलाबैला मच्चिएको थियो। गाउँले र परिवारले उनीहरूलाई छुट्टिन निकै सम्झाए पनि मनिषाले विनीतसँगै बस्ने ढिपी गरिन्।
अन्ततः मनिषाले आफ्ना श्रीमान् र छोराहरूसँगको नाता तोडेर प्रेमी विनीतसँगै नयाँ जीवन सुरु गर्ने लिखित पत्र प्रहरीलाई बुझाउँदै घरबाट फरार भएकी छिन्। यो घटनाले अहिले सम्पूर्ण इलाकामा निकै चर्चा र आश्चर्य पैदा गरेको भारतीय सञ्चारमाध्यममा खबर छ ।