
आगामी टी–२० विश्वकपका लागि घोषित नेपाली टोलीका सबैभन्दा प्रभावशाली लेग–स्पिनर हुन्, सन्दीप लामिछाने। उनी भारतको इन्डियन प्रिमियर लिग (आईपीएल) देखि अस्ट्रेलियाको बिग ब्यास लिगसम्म थुप्रै फ्रेन्चाइज प्रतियोगिताको अनुभव बटुलिसकेका खेलाडी हुन्।
२५ वर्षीय सन्दीप देशका लागि एक सय ३० भन्दा बढी अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका अनुभवी खेलाडी पनि हुन्। उनी टोलीलाई आवश्यक पर्दा आक्रामक रूपमा रन पनि बनाउन सक्छन्। दुई सय ५० भन्दा बढी अन्तर्राष्ट्रिय विकेट लिइसकेका सन्दीपले पाँच सयभन्दा बढी अन्तर्राष्ट्रिय रन पनि बनाइसकेका छन्।
सन्दीप नेपालका लागि सबैभन्दा बढी अन्तर्राष्ट्रिय विकेट लिने बलर पनि हुन्। सन्दीपले दोस्रो पटक आईसीसी टी–२० विश्वकप खेल्न लागेका हुन्। उनले यसअघि सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न टी–२० विश्वकपको नवौँ संस्करण पनि खेलेका थिए।
सन्दीपले देशका लागि ६६ एकदिवसीय अन्तर्राष्ट्रिय र ६८ टी–२० अन्तर्राष्ट्रिय खेलिसकेका छन्। उनले एकदिवसीय अन्तर्राष्ट्रियको ६४ पालीमा कुल एक सय ३५ विकेट लिएका छन्। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन केवल ११ रन खर्चिएर ६ विकेट हो। एकदिवसीय अन्तर्राष्ट्रियमा उनले तीन पटक पाँच र आठ पटक चार विकेट लिएका छन्।
यसैगरी, उनले टी–२० अन्तर्राष्ट्रियको ६८ पालीमा एक सय २९ विकेट लिइसकेका छन्। टी–२० अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन केवल नौ रन खर्चिएर पाँच विकेट हो। टी–२० अन्तर्राष्ट्रियमा उनले दुई पटक पाँच विकेट र तीन पटक चार विकेट लिएका छन्।
यसका अतिरिक्त, सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रियमा कुल चार सय ९७ रन पनि बनाएका छन्। यो ढाँचाको क्रिकेटमा उनको उच्च स्कोर ४९ रन हो। उनले ४१ चौका र नौ छक्का हिर्काएका छन्। उनले यो ढाँचामा १० वटा क्याच पनि लिएका छन्।
यसैगरी, उनले टी–२० अन्तर्राष्ट्रियमा कुल ७९ रन बनाएका छन्। उनको उच्च स्कोर अविजित १६ रन हो। यो ढाँचाको क्रिकेटमा उनले तीन चौका र दुई छक्का प्रहार गरेका छन्। उनले २५ वटा क्याच पनि लिएका छन्।

एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू : सन्दीपले सन् २०१८ को अगस्त १ तारिखमा नेदरल्यान्ड्सविरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए। आफ्नो पहिलो खेलमै उनले एक विकेट लिएका थिए। उनले पछिल्लो एकदिवसीय अन्तर्राष्ट्रिय भने सन् २०२५ को नोभेम्बर ५ तारिखमा संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध खेलेका थिए।
टी–२० अन्तर्राष्ट्रियमा डेब्यू : सन्दीपले सन् २०१८ को मे ३१ तारिखमा वेस्ट इन्डिजविरुद्ध खेल्दै टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गरेका थिए। तर, उनले त्यो खेलमा राष्ट्रिय टोलीको तर्फबाट भने खेलेका थिएनन्।
त्यो खेल आईसीसी वर्ल्ड–११ र वेस्ट इन्डिजबीच लन्डनमा खेलिएको थियो। उनले आईसीसी वर्ल्ड–११ को तर्फबाट उक्त खेलमा सहभागिता जनाएका थिए। त्यो खेलमा एक ओभर बलिङ गरेका सन्दीपले विकेट भने लिन सकेका थिएनन्। ब्याटिङतर्फ उनी चार रनमा अविजित रहेका थिए।
त्यतिबेला आईसीसी वर्ल्ड–११ को तर्फबाट सन्दीपसँगै साहिद अफ्रिदी (कप्तान), तामिम इकबाल, ल्यूक रोन्ची, साम बिलिङ्स, दिनेश कार्तिक, सोएब मलिक, थिसरा परेरा, रासिद खान लगायतका खेलाडी मैदानमा ओर्लिएका थिए। वेस्ट इन्डिजको टोलीमा भने कार्लोस ब्राथवेट (कप्तान), क्रिस गेल, आन्द्रे फ्लेचर, मार्लोन सामुएल्स, आन्द्रे रसेल, दिनेश रामदिन लगायत खेलाडी थिए।
सन्दीपले आफ्नो पछिल्लो टी–२० अन्तर्राष्ट्रिय भने सन् २०२५ को अक्टोबर १७ तारिखमा सामोआ विरुद्ध खेलेका थिए। त्यो खेलमा उनले एक विकेट लिएका थिए। टी–२० विश्वकपको एसियाली क्षेत्रको छनोटअन्तर्गत खेलिएको उक्त खेलमा नेपाल एक सय २४ रनले विजयी भएको थियो।

प्रथम श्रेणी, लिस्ट ‘ए’ र टी–२० : सन्दीप लामिछानेले हालसम्म एउटा प्रथम श्रेणीको क्रिकेट खेलेका छन्। प्रथम श्रेणीको क्रिकेटमा उनले तीन विकेट लिएका छन्। प्रथम श्रेणीको क्रिकेटमा उनले ६४ रन बनाएका छन्। उनको उच्च स्कोर अविजित ३९ रन हो।
यसैगरी, सन्दीपले हालसम्म ९० वटा लिस्ट ‘ए’ प्रतियोगिता खेलेका छन्। लिस्ट ‘ए’ प्रतियोगितामा उनले कुल एक सय ८१ विकेट लिएका छन्। लिस्ट ‘ए’ प्रतियोगितामा उनको उत्कृष्ट प्रदर्शन केवल ११ रन खर्चिएर ६ विकेट हो। लिस्ट ‘ए’ क्रिकेटमा उनले पाँच सय ३७ रन पनि बनाएका छन्। उनको उच्च स्कोर ४९ रन हो।
यसैगरी, सन्दीपले एक सय ६४ वटा टी–२० प्रतियोगिता पनि खेलेका छन्। टी–२० क्रिकेटमा उनले कुल दुई सय ४२ विकेट लिएका छन्। उनको उत्कृष्ट प्रदर्शन केवल नौ रन खर्चिएर पाँच विकेट हो। टी–२० क्रिकेटमा उनले कुल एक सय ४७ रन पनि बनाएका छन्।
अघिल्लो विश्वकपमा प्रदर्शन : सन्दीपले दोस्रो पटक टी–२० विश्वकप खेल्न लागेका हुन्। उनले सन् २०२४ को विश्वकपमा पनि देशको प्रतिनिधित्व गरेका थिए। त्यो विश्वकपको नेदरल्यान्ड्सविरुद्धको खेलमा उनी टोलीमा सहभागी थिएनन्।
श्रीलंकाविरुद्धको खेल वर्षाका कारण रद्द भएको थियो। दक्षिण अफ्रिकाविरुद्धको खेलमा उनले विकेट लिन सकेनन्। समूहगत चरणको अन्तिम खेलमा बंगलादेशविरुद्ध उनले चार ओभरमा एक मेडन राख्दै केवल १७ रन खर्चिएर दुई विकेट लिएका थिए।
कीर्तिमान : टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो एक सय विकेट पूरा गर्ने बलरको सूचीमा सन्दीप दोस्रो स्थानमा छन्। उनले केवल ५४ खेलमा एक सय विकेटको कोशेढुङ्गा पार गरेका हुन्।
यसैगरी, टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो ५० विकेट पूरा गर्ने बलरहरूको सूचीमा सन्दीप सातौँ स्थानमा छन्। उनले केवल २९ खेलमा ५० विकेट पूरा गरेका थिए।
यसैगरी, टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको एउटै पालीमा सबैभन्दा बढी मेडन ओभर फाल्ने बलरको सूचीमा उनी संयुक्त रूपमा तेस्रो स्थानमा छन्। उनले एक पालीमा दुई ओभर मेडन फालेका थिए।
यसैगरी, टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी मेडन ओभर फाल्ने बलरको सूचीमा उनी १४औँ स्थानमा छन्। उनले हालसम्म नौवटा मेडन ओभर फालेका छन्।
यसैगरी, टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा कप्तानको जिम्मेवारी निर्वाह गर्ने खेलाडीको सूचीमा उनी ३९औँ स्थानमा छन्। उनले २१ वर्ष १९३ दिनको उमेरमा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तानको भूमिका निर्वाह गरेका थिए।
यसैगरी, सन्दीप टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी स्टम्पिङ गराउने बलरको सूचीमा १३औँ र एलबीडब्लूबाट सबैभन्दा बढी विकेट लिने बलरको सूचीमा चौथो स्थानमा छन्। १० ब्याट्सम्यानलाई स्टम्पिङ गराएका सन्दीपले २१ ब्याट्सम्यानलाई एलबीडब्लूको धरापमा पारेका छन्।

यसैगरी, उनी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी पटक चार विकेट लिने बलरको सूचीमा आठौँ स्थानमा छन्। उनले पाँच पटक चार विकेट लिएका छन्।
एउटै ग्राउन्डमा सबैभन्दा बढी टी–२० विकेट लिने बलरको सूचीमा उनी २६औँ स्थानमा छन्। उनले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ३१ विकेट लिएका छन्। उनले ओमानको अल अमेरात क्रिकेट ग्राउन्डमा पनि २८ विकेट लिएका छन्।
यसैगरी, सन्दीप टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने बलरको सूचीमा पनि १२औँ स्थानमा छन्। उनले एक सय २९ टी–२० अन्तर्राष्ट्रिय विकेट लिएका छन्।
यसैगरी, उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको एउटै पालीमा उत्कृष्ट बलिङ गर्ने बलरको सूचीमा दोस्रो स्थानमा छन्। उनले एउटै पालीमा केवल ११ रन खर्चिएर ६ विकेट लिएका छन्।
यसैगरी, एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको लगातार तीन पालीमा चार विकेट लिने बलरको सूचीमा उनी पहिलो स्थानमा छन्। उनले तीन पालीमा लगातार चार विकेट लिएका छन्।
यसैगरी, एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको एउटै पालीमा पाँच विकेट लिने उनी विश्वकै १२औँ कम उमेरका खेलाडी हुन्। उनले १९ वर्ष १९४ दिनको उमेरमा पाँच विकेट लिएका थिए।
यसैगरी, एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो एक सय विकेट लिने बलरको सूचीमा उनी पहिलो र सबैभन्दा छिटो ५० विकेट लिने बलरको सूचीमा दोस्रो स्थानमा छन्। उनले २२ खेलमा ५० र ४२ खेलमा एक सय विकेट पूरा गरेका थिए।
यसैगरी, उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा टोलीको कप्तानी गर्ने विश्वकै आठौँ कम उमेरका खेलाडी हुन्। उनले २१ वर्ष २२६ दिनको उमेरमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा टोलीको कप्तानी गरेका थिए। यसबाहेक पनि उनको नाममा अन्तर्राष्ट्रिय क्रिकेटमा थुप्रै कीर्तिमान छन्।
यो पनि
घरेलु क्रिकेटबाट सिधै विश्वकपमा ‘डेब्यू’ गर्दै दुई एनपीएल उपाधिका नायक
सोमपाल कामी : पारससँगै अन्तर्राष्ट्रिय डेब्यु, तेस्रो विश्वकप खेल्ने एक्लो नेपाली क्रिकेटर
गुलसन झा : कम उमेरमा ‘डेब्यू’देखि एउटै खेलमा अर्धशतक र ५ विकेटको उपलब्धिसम्म
ऐतिहासिक प्रदर्शनको लक्ष्यसहित पहिलोपटक विश्वकप अभियानमा होमिएका अनुभवी खेलाडी
हजार अन्तर्राष्ट्रिय रनपछि दुई सय अन्तर्राष्ट्रिय विकेटको कोशेढुङ्गा नजिक
कहिल्यै नतोडिने कीर्तिमानदेखि ऐतिहासिक स्ट्राइक रेटसम्मको गौरवशाली यात्रा
विस्फोटक ब्याटिङ अलराउन्डर भुर्तेल– डेब्युमै 'प्लेयर अफ दि म्याच' भएका नेपाली ओपनर
आसिफ शेख : एउटै शृंखलामा सर्वाधिक रनदेखि विकेटकिपरको भूमिकामा कमालको प्रदर्शनसम्म
रोहितकुमार पौडेल : कम उमेरमा एकदिवसीय ‘डेब्यू’देखि कान्छा कप्तानसम्म