
आईसीसी टी–२० विश्वकप सुरु हुन केवल एक दिन बाँकी रहँदा अस्ट्रेलियन टोलीलाई नराम्रो झट्का लागेको छ ।
अस्ट्रेलियन टोलीका प्रभावशाली बलर जोश हेजलउड विश्वकपबाट बाहिरिएका छन् । ३५ वर्षीय तिब्रगतिका बलर हेजलउड घाइते भएका कारण विश्वकपबाट बाहिरिएका हुन् ।
यसअघि, अस्ट्रेलियाकै अर्का तिब्रगतिका बलर प्याट कमिन्स पनि चोटका कारण आगामी विश्वकपबाट बाहिरिएका थिए ।
मिचेल मार्शको कप्तानीमा रहेको कंगारु टोलीमा अब तिब्रगतिको बलरका रुपमा बेन ड्वार्शियस र जेभियन बार्टलेटमात्र बाँकी छन् ।
क्रिकेट अस्ट्रेलियाले पनि शुक्रबार जोश हेजलउड चोटका कारण आगामी विश्वकपबाट बाहिरिएको समाचारको पुष्टि गरेको छ ।
आईसीसी टी–२० विश्वकपको १०औँ संस्करण फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुँदैछ ।
समाचारमा जनाइए अनुसार, गत नोभेम्बर १२ तारिखमा शेफिल्ड शील्ड खेल्नेक्रममा जोश हेजलउड ह्यामस्ट्रिङ समस्याबाट पिडीत भएका थिए ।
त्यसपछि उनी मैदानमा देखा परेका थिएनन् । विश्वकपअघि नै उनी पूर्णरुपमा स्वस्थ्य भइसक्ने अनुमानका आधारमा क्रिकेट अस्ट्रेलियाले उनलाई टोलीमा समावेश गरेको थियो ।
तर, विश्वकप सुरु हुन केवल एक दिन बाँकी रहँदा पनि स्वास्थ्यमा पूर्णरुपमा सुधार नआएकाले उनलाई टोलीबाट हटाइएको समाचारमा जनाइएको छ ।
जोश हेजलउडको स्थानमा कसलाई टोलीमा समावेश गर्ने भन्ने विषयमा क्रिकेट अस्ट्रेलियाले केही जनाएको छैन ।