
आईसीसी पुरुष टी–२० विश्वकपसुरु हुनुअघि भारतीय टिमलाई ठूलो झट्का लागेको छ । तीव्र गतिका बलर हर्षित राणा प्रतियोगिताबाट बाहिरिएका छन् । हर्षित बलिङसँगै ब्याटिङबाट पनि उपयोगी योगदान दिन सक्ने खेलाडी मानिन्छन् । यस्तो अवस्थामा उनको अनुपस्थिति भारतीय टोलीका लागि राम्रो खबर होइन ।
भारतीय टोली व्यवस्थापनले बिहीबार नै हर्षितको चोटबारे जानकारी पाएको थियो । भारतीय कप्तान सूर्यकुमार यादवले पत्रकार सम्मेलनमा हर्षितलाई औपचारिक रूपमा टिमबाट बाहिर नगरिएको बताएका थिए । तर स्रोतहरूका अनुसार उनी प्रतियोगितामा खेल्न फिट हुन सकेका छैनन् ।
इन्डियन एक्सप्रेसको रिपोर्टअनुसार हर्षित राणाको स्थानमा दायाँ हातका तीव्र गतिका बलर मोहम्मद सिराजलाई टोलीमा समावेश गरिएको छ । यसको औपचारिक घोषणा चाँडै हुने बताइएको छ । हर्षित राणालाई दक्षिण अफ्रिकाविरुद्धको वार्मअप खेलका क्रममा चोट लागेको थियो । उनी रनअप पूरा गर्न सकिरहेका थिएनन्, जुन कुरा एकै ओभरमा दुई पटक देखिएको थियो । त्यसपछि उनको घुँडामा पीडा महसुस भयो र उनी लडखडाउँदै मैदानबाहिर गएका थिए । उनले उक्त खेलमा मात्र एक ओभर बलिङ गरेका थिए, जसमा १६ रन खर्चिएका थिए ।
टी–२० विश्वकपका लागि भारतको अद्यावधिक टोली :सूर्यकुमार यादव (कप्तान), अक्षर पटेल (उपकप्तान), अभिषेक शर्मा, तिलक वर्मा, हार्दिक पाण्ड्या, शिवम दुबे, सञ्जु स्यामसन (विकेटकिपर), कुलदीप यादव, वरुण चक्रवर्ती, वासिङ्टन सुन्दर, जसप्रीत बुमराह, अर्शदीप सिंह, रिंकु सिंह, मोहम्मद सिराज र इशान किशन (विकेटकिपर)।