२९ जेठ २०८३, शुक्रबार

कोरियन पप स्टार बन्ने सपना बोकेर कोरिया पुगेका विदेशी किशोरीहरू यौन दुर्व्यवहारको शिकार

माघ २४, २०८२
काठमाडौं
कोरियन पप स्टार बन्ने सपना बोकेर कोरिया पुगेका विदेशी किशोरीहरू यौन दुर्व्यवहारको शिकार

विश्वभर चर्चित दक्षिण कोरियन संगीत 'के-पप'मा आफ्नो भविष्य खोज्दै कोरिया पुग्ने विदेशी प्रशिक्षार्थीहरू ठगी र दुर्व्यवहारको जोखिममा परेका छन्।

 बीबीसीको एक खोजमुलक रिपोर्ट अनुसार, स्टार बन्ने सपना देखाएर विदेशी किशोर-किशोरीहरूबाट मोटो रकम असुल्ने तर आधारभूत सुविधा र सुरक्षा समेत नदिने 'ट्रेनिङ एकेडेमी' हरूको बिगबिगी बढेको छ।

जापानकी 'मियु' (परिवर्तित नाम) ले के-पप स्टार बन्ने सपना पूरा गर्न एक नामी एकेडेमीलाई करिब ३० लाख येन (२० हजार अमेरिकी डलर) बुझाएकी थिइन्। ६ महिनाको सो कार्यक्रममा उनलाई व्यावसायिक गायन, नृत्य र ठूला एजेन्सीहरूमा अडिसनको अवसर दिने वाचा गरिएको थियो। तर, उनले न त राम्रो तालिम पाइन्, न त कुनै अडिसन नै दिन पाइन्।

मियु र उनीसँगै तालिम लिइरहेका अन्य विदेशी किशोरीहरूले एकेडेमीका एक उच्च अधिकारीमाथि यौन दुर्व्यवहारको आरोप लगाएका छन्। ती अधिकारीले मध्यरातमा अनुमति विना किशोरीहरूको कोठामा छिर्ने, अनुपयुक्त तरिकाले छुने र सीसीटीभी क्यामेरा मार्फत २४ सै घण्टा निगरानी गर्ने गरेको उनीहरूको दाबी छ।
'एलिन' नामकी अर्की प्रशिक्षार्थीका अनुसार, उनीहरूको बासस्थान (डर्मिटोरी) र अभ्यास गर्ने कोठामा अडियोसहितको सीसीटीभी जडान गरिएको थियो, जसको माध्यमबाट उनीहरूका हरेक निजी कुराकानी र गतिविधिमाथि कडा निगरानी राखिन्थ्यो।

दक्षिण कोरियामा यस्ता तालिम केन्द्रहरू शिक्षा मन्त्रालय वा मनोरञ्जन मन्त्रालयको स्पष्ट नियमनमा नपर्ने हुनाले यस्ता घटनाहरू बढिरहेका छन्। धेरैजसो विदेशीहरू पर्यटक भिसामा आउने र भाषाको अवरोधका कारण प्रहरीमा उजुरी दिन डराउने गरेका छन्। प्रहरीले प्रमाणको अभाव देखाउँदै कतिपय मुद्दाहरू दर्ता गर्न वा कारबाही अगाडि बढाउन अस्वीकार गरेको पीडितहरूको गुनासो छ।
सम्बन्धित एकेडेमीले भने यी सबै आरोपहरू अस्वीकार गरेको छ। उसले सुरक्षाका लागि मात्र सीसीटीभी राखिएको र कर्मचारीहरू डर्मिटोरीमा नछिरेको दाबी गरेको छ। 

salt training

कमेन्ट गर्नुहोस्