
पहिलो ललितपुर मेयर कप पौडी प्रतियोगिता आजदेखि शुरू भएको छ । ‘मेयर कप–राष्ट्रिय पौडीको नयाँ अध्याय’ भन्ने नाराका साथ प्रतियोगिता शुरू भएको हो ।
राष्ट्रिय खेलकुद परिषद्को सातदोबाटोस्थित हिटिङ स्विमिङ पुल हलमा शुरू भएको प्रतियोगिता सगरमाथा स्विम क्लबको आयोजनामा भइरहेको हो । २४ र २५ गते गरी दुई दिनसम्म चल्ने प्रतियोगिताको पहिलो दिन ३५ वटा इभेन्ट्स सम्पन्न भएका छन् ।

प्रतियोगितामा ८ वर्षमुनिदेखि १७ वर्षसम्मका उमेर समूह र खुल्ला समूह (महिला तथा पुरुष) गरी कुल ७१ वटा इभेन्ट्समा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । बालबालिका तथा युवामाझ स्विमिङप्रतिको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै प्रतियोगिता आयोजना गरिएको बताइएको छ ।
प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख अतिथि ललितपुर महानगरपालिका उपमेयर मञ्जली शाक्यले महानगरले विभिन्न खेल विधामा मेयर कप आयोजना गर्दै आएको उल्लेख गर्दै यस वर्ष पहिलोपटक पौडी प्रतियोगिता सुरु गरिएको बताइन् । खेल सुशासन, अनुशासन र स्वस्थ जीवनशैलीका लागि आवश्यक रहेको उल्लेख गर्दै उनले पछिल्लो पुस्तामाझ लोकप्रिय बन्दै गएको स्विमिङले राष्ट्रिय स्तरमा खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । आगामी दिनमा यस्ता प्रतियोगितालाई थप परिष्कृत गर्दै निरन्तरता दिने महानगरको योजना रहेको उनको भनाइ थियो ।

ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । बालबालिकामा स्विमिङप्रतिको आकर्षण बढ्दै गएकोले प्रतियोगिता आवश्यक रहेको उल्लेख गर्दै उनले स्विमिङले शारीरिक तन्दुरुस्ती र स्वास्थ्य प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
त्यसैगरी सगरमाथा स्विम क्लबका अध्यक्ष सुशील सिंहले प्रतियोगितामा उल्लेखनीय सहभागिता रहेको भन्दै खुसी व्यक्त गरे । उनले स्विमिङ खेलले खेलाडीको स्वास्थ्य, अनुशासन र आत्मविश्वास विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने धारणा राखे ।

राष्ट्रिय पौडी प्रशिक्षक तथा सगरमाथा स्विम क्लबका संरक्षक रत्नलाल महर्जनले पहिलो दिन ३५ वटा इभेन्ट्समा प्रतियोगिता सम्पन्न गरेर पुरस्कार वितरण गरिएको र दोस्रो दिन बाँकी इभेन्ट्स सम्पन्न भए पश्चात् विजेता टोलीको घोषणा गरिने बताए । प्रतियोगितामा २७६ जना खेलाडीको सहभागी रहेको छ ।




