
भारतको पूर्णिया क्षेत्रका स्वतन्त्र सांसद पप्पू यादवलाई सन् १९९५ को एउटा पुरानो मुद्दामा पटना प्रहरीले शुक्रबार राति उनकै निवासबाट पक्राउ गरेको छ।
ठगी, कागजात किर्ते, आपराधिक धम्की र षड्यन्त्र जस्ता विभिन्न गम्भीर अभियोग लागेको उक्त मुद्दामा अदालतले तोकेको मितिमा उपस्थित नभएपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो।
शनिबार अदालतमा पेश गरिएका यादवलाई स्वास्थ्य उपचारको आवश्यकता देखिएकाले अदालतले न्यायिक हिरासतमा राखी पटना मेडिकल कलेज र अस्पताल पठाउन आदेश दिएको छ।
सांसद यादवका वकिल शिवनन्दन भारतीले यो पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिएका छन् । उनले 'वाई' श्रेणीको सुरक्षामा रहेका र सधैं प्रशासनको सम्पर्कमा रहेका सांसदलाई वर्षौँ पुरानो मुद्दा ब्युँझाएर पक्राउ गरिनुमा राजनीतिक स्वार्थ लुकेको आरोप लगाए।
प्रहरीले भने अदालती प्रक्रिया पालना नगरेका कारण पक्राउ गरिएको स्पष्ट पारेको छ। यादवको धरौटी (जमानत) निवेदनमाथि अदालतले आगामी सोमबार सुनुवाइ गर्ने तय गरेको छ।