२९ जेठ २०८३, शुक्रबार

प्याज काट्दा आँसु झर्छ ? अपनाउनुहोस् प्रभावकारी यी घरेलु उपाय

माघ २५, २०८२
काठमाडौं
प्याज काट्दा आँसु झर्छ ? अपनाउनुहोस् प्रभावकारी यी घरेलु उपाय

भान्सामा खाना बनाउँदा एउटा यस्तो काम छ, जसबाट धेरैजसो मानिस टाढै बस्न खोज्छन् । यो काम गर्दा कारण नहुँदा पनि आँसु झर्छ । त्यो काम हो—प्याज काट्नु । तर तरकारी होस् वा सलाद, प्याज अधिकांश परिकारको अनिवार्य हिस्सा हुने भएकाले नचाहँदा पनि प्याज काट्नै पर्छ । राहतको कुरा के छ भने केही सजिला उपाय अपनाएमा प्याज काट्दा आँसु झार्नुपर्ने झन्झटबाट बच्न सकिन्छ।

प्याज छिल्नासाथ आँखाबाट आँसु आउन थाल्छ र काट्दा हुने जलन र पानी दुवैले हैरान बनाउँछ । वास्तवमा प्याज काट्दा वा छिल्दा त्यसमा रहेको सल्फरयुक्त तत्त्व हावासँग सम्पर्कमा आएपछि ग्यास बन्ने गर्छ । यही ग्यास आँखासम्म पुग्दा जलन हुन्छ र आँसु बग्न थाल्छ । तर राम्रो कुरा के हो भने यो प्रतिक्रियालाई नियन्त्रण गर्न सकिन्छ ।

प्याज काट्दा अपनाउन सकिने प्रभावकारी उपाय 
१. प्याज फ्रिजमा राख्ने

प्याज काट्नुअघि प्याजलाई १०–१५ मिनेटका लागि फ्रिजमा वा चिसो पानीमा राख्नुहोस् । यसो गर्दा प्याजमा रहेको सल्फर ग्यास कम सक्रिय हुन्छ । चिसो तापक्रमले ग्यास बन्ने प्रक्रिया सुस्त बनाउने भएकाले आँखामा जलन हुँदैन ।

२. बगिरहेको पानीमुनि प्याज छिल्ने वा काट्ने
प्याज छिल्दा वा काट्दा नलको बगिरहेको पानीमुनि गर्नु अर्को प्रभावकारी उपाय हो । यसरी गर्दा निस्किने ग्यास पानीमै घुल्छ र हावामा फैलिन पाउँदैन । त्यसकारण आँखासम्म ग्यास पुग्ने सम्भावना धेरै हदसम्म घट्छ ।

३. धारिलो चक्कु प्रयोग गर्ने
प्याज काट्दा सधैं धारिलो र तेज चक्कु प्रयोग गर्नुहोस् । कुन्द चक्कुले प्याजका कोषहरू बढी फुटाउँछ, जसले गर्दा बढी ग्यास निस्कन्छ । धारिलो चक्कुले प्याज छिटो र सफा काट्ने भएकाले ग्यास कम मात्रामा बाहिर निस्कन्छ ।

४. मुखमा पानी राखेर प्याज छिल्ने
एक रोचक तर प्रभावकारी उपाय भनेको मुखमा पानी भरेर प्याज छिल्नु हो । गाउँघरमा धेरै महिलाहरूले यो तरिका अपनाउने गरेको देखिन्छ । सुन्दा अचम्म लागे पनि धेरैका लागि यो उपाय उपयोगी साबित भएको छ । यसले सास फेर्ने ढाँचामा परिवर्तन ल्याउँछ र ग्यास आँखासम्म कम पुग्छ ।

५. एग्जस्ट फ्यान वा चिम्नी प्रयोग गर्ने
प्याज काट्दा भान्सामा एग्जस्ट फ्यान वा चिम्नी अन राख्नु पनि फाइदाजनक हुन्छ । यसले हावाको प्रवाह कायम राख्छ र सल्फर ग्यास छिटो बाहिर निस्कन मद्दत गर्छ ।

यी सजिला उपाय अपनाएर अब बिना आँसु झारी केही मिनेटमै सजिलै प्याज काट्न सकिन्छ ।  

 

salt training

कमेन्ट गर्नुहोस्