
फागुन २१ को आसन्न प्रतिनिधिसभा निर्वाचनमा सर्वाधिक चर्चामा रहेको झापा क्षेत्र नम्बर ५ का मतदाताले यसपटक आफूहरू परिवर्तनको पक्षमा रहेको बताएका छन् ।
उक्त निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले र रापप्रा लगायत पुराना दल पुरै रक्षात्मक अवस्थामा रहेको लोकान्तरको तीन दिनको स्थलगत अध्ययनले देखाएको छ ।
लोकान्तरको पाँच सदस्यीय टिमले यो क्षेत्रमा तीन दिन लगाएर ७०९ जना मतदातासँग कुराकानी गरेको थियो । निर्वाचन आचारसंहितालाई ध्यानमा राख्दै तपाईं कसलाई भोट दिन हुन्छ ? भन्ने प्रश्न नगरी यहाँ हुन लागेको चुनावी माहोलबारे तपाईंको धारणा के छ ? भनेर मतदातासँग कुराकानी गरिएको थियो ।
लोकान्तरसँग सम्पर्कमा आएका मतदातामध्ये बहुसंख्यक/अत्यधिक मतदाताले(निर्वाचन आचारसंहिताका कारण प्रतिशत नखुलाइएको) नयाँ राजनीतिक दलप्रति आफूहरूको आकर्षण रहेको स्पष्ट अडान देखाए ।
झापा ५ मा नेकपा एमालेबाट निवर्तमान प्रधानमन्त्री एवं उक्त पार्टीका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसबाट मन्दरा चिमोरिया, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बालेन्द्र (बालेन) शाह, नेपाली कम्युनिस्ट पार्टीबाट रञ्जित तामाङ, राप्रपाबाट लक्ष्मीप्रसाद संग्रौला र श्रम संस्कृति पार्टीबाट समित तामाङ प्रतिस्पर्धामा छन् ।
काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिएर बालेन ओलीविरुद्ध लड्ने भन्दै यहाँ आएपछि झापा ५ राष्ट्रिय/अन्तराष्ट्रिय रूपमै चर्चामा छ ।
अरूसँग चुनाव लड्दा मजा नहुने भन्दै बालेन झापा झरेको बताइएको थियो । उम्मेदवारी दर्ता गराएलगत्तै पूर्वी नेपालको प्रसिद्ध पाथीभरा माताको दर्शन गर्न गएका बालेन पूर्वी नेपालका जिल्लामा ‘रोड शो’ गर्दै हिँडेका थिए । चुनाव प्रचार र मतदातासँगको भेटघाटका लागि बालेन आइतबार पुन: झापा आएका छन् ।
झापा ५ बारे राजधानी काठमाडौं र सामाजिक सञ्जालमा गत निर्वाचनका तथ्यांक केलाएर विभिन्न अड्कल एवं विश्लेषण भइरहे पनि यहाँको वस्तुस्थिति फरक छ । मतदाताको बदलिएको चाहना र रूची विगतको अंकगणितसँग पटक्कै मिल्दो जुल्दो देखिंदैन ।
भदौ २३–२४ को घटनालाई क्रान्ति र प्रतिक्रान्ति भनेका दुई राजनीतिक शक्तिबीचको टकराबले झापा ५ को चुनावी प्रतिस्पर्धा दिनहुँ रोचक बन्दै गइरहेको छ । बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार प्रस्ताव गरेको रास्वपाले भदौ २३ र २४ को घटनालाई क्रान्ति या विद्रोह भनिरहेको छ भने एमालेले २४ को घटनालाई विध्वंश भनेर व्याख्या गरिरहेको छ ।

देशका अन्य भागमा जस्तै झापा ५ मा पनि ‘यसपटक नयाँलाई’ भन्ने ट्रेन्ड चलेको छ । नयाँप्रति जनलहर बढिरहेको समयमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपाले भने आफूहरूको संगठन बलियो रहेको र त्यसैका आधारमा चुनाव जित्ने दाबी गरिरहेका छन् ।
प्रतिनिधिसभा चुनावको ‘ग्राउन्ड जिरो’ रिपोर्टिङको सिलसिलामा झापामा रहेको लोकान्तर डटकमको टोलीले शनिबार, आइतबार र सोमबार झापा ५ पर्ने दमक र गौरादह नगरपालिका तथा कमल र गौरीगञ्ज गाउँपालिकाका गाउँ वस्तीमा गएर मतदातासँग कुराकारी गरेको थियो । पहिलो पटक भोट हाल्दै गरेका युवा, महिलादेखि वृद्धसम्मका मतदातालाई कुराकानीमा समावेश गरिएको थियो ।
दलकै प्रतिबद्ध कार्यकर्ता घण्टीको पक्षमा
दमक नगरपालिका ५ यलम्बर चोकमा भेटिएका दिलीप अधिकारी नेपाली कांग्रेसका क्रियाशील सदस्य हुन् । कांग्रेस उपसभापति विश्वप्रकाश शर्मासँग विद्यार्थी राजनीति गरेका अधिकारीले यसपटक आफू कांग्रेस र एमालेलाई समर्थन नगर्ने अडानमा रहेको बताए ।
आफू लगायत सचेतवर्ग यसपटक स्वतन्त्र पार्टीका उम्मेदवारको पक्षमा रहेको अधिकारीले बताए । ‘पटक पटक जितेर केपी ओलीले यहाँ के गरे ? बिना डीपीआर त्यो जंगलको बीचमा बनाइएको भ्यूटावरले यहाँका जनतालाई के दियो ? औद्योगिक पार्क बनाउने नाममा कसलाई पोसियो ?’ ओलीसँग मतदाताले प्रश्न गर्नुपर्ने उनले बताए ।
दमक ५ कै यमनाथ गौतम विगतमा नेकपा एमालेको कार्यकर्ता थिए । परिवारमा आफूसँगै ११ जनाको भोट रहेको दाबी गर्ने उनले आफू र परिवार यसपटक परिवर्तनको पक्षमा रहेको बताए ।
‘उही मान्छेलाई पटक पटक जिताएर के भयो ? मानिसहरू दिक्क भएका छन् । यसपटक मतदाताले नयाँ स्वाद खोजिरहेका छन् । हाम्रो घर सल्लाह नयाँलाई समर्थन गर्ने भन्ने छ’, गौतमले भने ।

दमक ५ कै विष्णुबहादुर खड्का नेपाली कांग्रेसको क्रियाशील सदस्य हुन् । अधिकारी र गौतम जस्तै उनी पनि यसपटक मत परिवर्तन गर्ने पक्षमा छन् । ‘अहिलेसम्म कांग्रेस छाडेको थिइनँ । तर यसपटक नयाँलाई रोज्ने हो’ खड्काले लोकान्तरसँग भने ।
दमक ५ कै जीवन दाहाल विगतमा एमालेका प्रतिबद्ध मतदाता थिए । तर, यसपटक मत परिवर्तनको पक्षमा उभिएको उनले बताए । ‘हामी धेरै कट्टर थियौं । यसपटक फेरिएका छौं । यसलाई तपाईं नयाँको पक्षमा बाढी आएको पनि भन्न सक्नु हुन्छ’ दाहालले लोकान्तरसँग भने ।
दमकका युवा व्यवसायी अच्युत निरौलाले यसपटक झापा ५ मा अप्रत्यासित नतिजा आउने दाबी गरे । ‘मानिसहरू परिवर्तनको पक्षमा उभिएका छन् । पुरानासँग वाक्क दिक्क भएका छन् । यसपटक रास्वपाले जित मात्र होइन फराकिलो मतान्तरसहितको नतिजा निकाल्दैछ’ निरौलाले थपे, ‘बालेनले काठमाडौंमा विकास गरेको भन्ने छवि यहाँका मतदाताको माझमा गहिरो ढंगले परेको छ ।’
एमालेका प्रतिबद्ध कार्यकर्ता सूर्य कार्की भने स्वतन्त्रको पक्षमा देखिएको माहोल क्षणिक भएको दाबी गर्छन् । ‘मानिस पनि धेरै समय शहरमा बस्यो भने गाउँघर जान खोज्छ । दशैंमा मासु–मासु खाएको मान्छेले कहिलेकाहीँ सागको झोल खान्छ’, कार्कीले भने, ‘अहिले रास्वपाको पक्षमा देखिएको माहोल क्षणिक हो । समय समयमा यस्ता हावा हुन्डरी आइरहन्छन्।’

विगतमा एमालेको राजनीति गरेका दमक ८ का मानबहादुर श्रेष्ठ देशले नै परिवर्तन चाहेका कारण आफू घण्टीको पक्षमा खुलेको बताए ।
‘म विगतमा एमालेमा सक्रिय थिएँ । चुनावी अभियानमा सहभागी भएको थिएँ । तर यसपटक मैले परिवर्तनको पक्षमा मतदान गर्दैछु’ श्रेष्ठले भने, ‘म पार्टीलाई दोष दिन्नँ । तर एउटै व्यक्तिलाई आजीवन जिताउनु पर्छ भन्ने पक्षमा छैन ।’
कांग्रेसप्रति आस्था राख्ने दमक ९ का केदार खतिवडा यसपटक मत परिवर्तनको पक्षमा उभिएका छन् । ‘अहिले कांग्रेस प्रतिस्पर्धामा छैन । त्यसैले यसपटक मेरो भोट परिवर्तनको पक्षमा हुन्छ । युवालाई अवसर दिने सोचाइ छ’ सोमबार विहान दमकको तरकारी बजारमा भेटिएका खतिवडाले भने ।
‘बालेनले काठमाडौंजस्तै यो क्षेत्रलाई पनि चम्काउनु हुन्छ भन्ने आशा छ’
झापा ५ को दक्षिणी भेग गौरीगञ्ज गाउँपालिकामा रास्वपा उम्मेदवारको क्रेज उस्तै पाइयो । गौरीगञ्ज ३ का देवीप्रसाद महतोले यसपटक बालेनलाई समर्थन गर्ने योजना रहेको बताए ।
‘हाम्रो गाउँमा बालेन शाहको मात्र चर्चा छ । पहिला हामीले एमाले, कांग्रेस, माओवादी सबैलाई भोट दियौं । यसपटक नयाँलाई मौका दिने हो’, महतोले भने, ‘बालेनले झापालाई काठमाडौंजस्तै चम्काउनु हुन्छ भन्ने आशा छ ।’
काठमाडौंमा धेरै नगए पनि सामाजिक सञ्जालबाट बालेनले काठमाडौंमा राम्रो गरेको भनेर थाहा पाएको उनले बताए ।
गौरीगञ्जका तस्वीर गिरी पनि यसपटक नयाँलाई भोट दिने पक्षमा छन् । ‘पुरानाबाट केही भएन । हामी यसपटक बालेन शाहलाई भोट दिने निचोडमा छौं’ गिरीले भने । महतो र गिरीजस्तै गारीगञ्जकै धर्मेन्द्र सिंहलाइ पनि नयाँप्रतिको आकर्षणले तानेको छ ।
‘यो ठाउँमा बालेन आउने कुराले यहाँका मतदाता उत्सुक बनेका छन्’, उनले भने । विगतमा कांग्रेस, एमाले, राप्रपालाई भोट दिएको र यसपटक परिवर्तन गर्न चाहेको उनले बताए ।
गौरीगञ्ज चोकमा पसल सञ्चालन गर्दै आएकी राधा महतो यसपटक मतदाताले नयाँ स्वाद चाख्न खोजिरहेको बताउँछिन् । ‘यो क्षेत्रमा बालेन शाह आउनु भएको छ । स्वाभाविक रूपले हाम्रो समर्थन बालेनलाई हुनेछ । उहाँलाई जिताएर पठाउछौं’, महतोले भनिन् ।

गौरादह नगरपालिका ७ का शञ्सकुमार राजवंशी नयाँलाई भोट दिने कुरा अहिले गाउँ– गाउँ फैलिएको बताउँछन् ।
‘सबै मतदाता युवा र नयाँप्रति आकर्षित बनेका छन् । नढाँटी भन्दा गाउँमा बालेनको पक्षमा माहोल देखिन्छ’ राजवंशीले भने ।
गौरीगञ्जमा सानो व्यापार गर्दै आएका किशोरकुमार शाह दासले झापा ५ का जनताले विकास खोजेको बताए । ‘यो पुरानो बजार ओझेल पर्दै गएको छ । यसलाई तस्करी गर्ने ठाउँको रूपमा बदनाम गरिँदैछ’, दासले भने, ‘यो ठाउँको मुहार फेर्नका लागि यसपटक नयाँ उम्मेदवारलाई भोट दिने बिचार यहाँका मतदाताले बनाएका छन् ।’
झापामा राजनीतिक, सामाजिक वस्तुस्थिति पनि फेरिएको छ । धिमाल, राजवंशी वस्तीमा पनि राजनीतिक चेतना फैलिएको छ । महिलाहरू निर्धक्कले राजनीतिक कुरा गर्न सक्ने भएका छन् ।
गौरीगञ्ज गाउँपालिका ३ की रेखादेवी महतो यसपटक नयाँको पक्षमा माहोल राम्रो भएको बताउँछिन् । ‘गाउँमा सबैले नयाँ उम्मेदवारलाई भोट दिने भनिरहनु भएको छ । उहाँ हुनुहुन्छ नि– बालेन । राम्रोसँग देश चलाउन सक्नु हुन्छ भन्ने लागिरहेको छ’ महतोले भनिन् ।
रेखादेवी जस्तै सीतादेवी र फुलकुमारी महतो पनि यसपटक नयाँ उम्मेदवारलाई समर्थन गर्ने पक्षमा छन् । ‘यो क्षेत्र पिछडिएको छ । हामी विकास चाहन्छौं । यो क्षेत्रको विकास गर्ने मान्छेलाई चुनाव जिताउन चाहन्छौं’ सीतादेवीले भनिन् ।

यसअघि कांग्रेस, एमालेलाई भोट दिएका दमक ७ सयपत्री रोडका विनोद साह यसपटक नयाँ उम्मेदवारको पक्षमा छन् । ‘सबैले बालेन र घण्टी भनिरहेका छन् । यसपटक हाम्रो परिवारको भोट पनि त्यतै जान्छ होला’, शाहले भने । बालेनले काठमाडौंमा गरेको राम्रो कामका कारण आफूहरू उनीसँग आकर्षित भएको बताएका शाहले बालेनले काठमाडौंमा त्यस्तो खास के गरे भन्ने प्रश्नको उत्तर चाहिँ दिन सकेनन् ।
‘फेसबुकमा हेरेर थाहा पाएअनुसार उहाँले काठमाडौंमा धेरै विकास गर्नुभएको छ’, शाहले कुराकानीमा भने ।
ओलीलाई गाली गर्दैनन्, तर भन्छन्– नयाँ चाहियो
झापा ५ मात्र होइन अन्य क्षेत्रका मतदाताले पनि अपवादबाहेक केपी शर्मा ओलीको विरोध गर्दैनन् । झापाको लागि ओलीले काम गरेको स्वीकार्छन । तर सँगै भन्छन्– अब पुग्यो । एमालेले नयाँ उम्मेदवार अगाडि सार्नुपर्ने उनीहरूको तर्क छ ।
झापा ५ अर्न्तगत कमल गाउँपालिकाका स्थानीय देवकुमार राजवंशीले यसपटक नयाँ पार्टी र नयाँ उम्मेदवारलाई मत दिने बिचार बनाएको बताए । ‘अस्ति बालेन आउनु भएको थियो । यसपटक बालेनलाई भोट दिने सल्लाह छ’, धिमालले लोकान्तरसँग भने ।
स्थानीय निर्मला धिमाल पनि यसपटक मत परिवर्तनको पक्षमा छिन् । ‘विगतमा केपी ओलीलाई भोट दिएर जिताएकै हो, यसपटक नयाँ मान्छेलाई अवसर दिने हो’, उनले भनिन् । पटक पटक चुनाव जितेर गए पनि आफ्नो गाउँको बाटो पिच नभएकोमा उनले गुनासो पोखिन् ।
रोजगारीको सिलसिलामा विदेशमा रहेका कमल गाउँपालिकाका अर्जुन धिमाल बिदामा यतिबेला गाउँमा आएका छन् । उनले आफू नयाँ उम्मेदवारको पक्षमा रहेको बताए । ‘मैले विदेशमा बस्दा बालेनको बारेमा सुनेको थिएँ । यसपटक उहाँ यही क्षेत्रको उम्मेदवार बनेर आउनु भएको छ । मतदाता उत्साही छन्’, सोनापुरमा भेटिएका धिमालले भने ।
युवा, महिलादेखि बृद्धसमेत नयाँ उम्मेदवारप्रति उत्सुक देखिए । स्थानीय मीरा धिमालले भनिन्, ‘नयाँको पक्षमा आश गर्दागर्दै स्वास जाने हो कि ?’
कमल गाउँपालिका एमालेको प्रभाव रहेको क्षेत्र हो । बालेन शाह विभिन्न गाउँमा गएर स्थानीयसँग भेट गरेपछि युवाहरू उनीप्रति आकर्षित भएको स्थानीय भीमबहादुर धिमालले बताए ।

दमकमा अटोरिक्सा चलाउने कमल गाउँपालिका मनकुमार धिमालले पनि नयाँ उम्मेदवारको पक्षमा लहर चलेको बताए । ‘खोई सबैले घण्टी– घण्टी भन्छन् । त्यतै त दिने होला!’ धिमालले भने ।
दमक बिजुली बजारका राजेन्द्र चौधरीले विगतमा केपी ओलीले राम्रो काम गरेको भए पनि यसपटक मतदाताले नयाँ उम्मेदवार खोजेको बताए । ‘यसपटक जसले पनि नयाँ–नयाँ भनिरहेका छन । नयाँलाई रोक्न सक्दैनन् जस्तो छ’ उनले भने ।
सुकुम्बासी फकाउने प्रयासमा रास्वपा–एमाले
निर्णायक मतदाता मानिएका सुकुम्बासीलाई फकाउन एमाले र रास्वपा दुवैले तागत लगाइरहेको स्पष्ट देखिन्थ्यो । काठमाडौं महानगरको मेयर छँदा बालेनले नदी छेउछाउका सुकुम्बासी बस्ती उठाउन खोजेका थिए । एमालेले सुकुम्बासी वस्तीमा यो विषयलाई चर्चामा ल्याइरहेको छ । तर, झापाको सुकुम्बासी बस्तीमा त्यसको खासै असर देखिएन ।
उम्मेदवारी दर्तापछि दोस्रोपटक झापा आएका बालेनले सुकुम्बासी वस्तीमा पुगेर उनीहरूको बसोबासलाई व्यवस्थित गर्ने बताएका थिए ।
गौरादह नगरपालिका ८ का बमबहादुर कार्कीले यसपटक नयाँ दलको बाहेक अरु उम्मेदवारको चर्चा नभएको बताए । ‘केपी ओलीले काम नगरेका होइनन् । गरे होलान् । तर यसपटक उनले भोट पाउने अवस्था छैन’, कार्कीले लोकान्तरसँग भने, ‘यसपटक सबैले नयाँ–नयाँ भनिरहेका छन् । गाउँबस्तीको भोट बालेनलाई जाने सम्भावना छ ।’ उनले बालेनले सुकुम्बासी बस्तीमा आएर थप आश्वस्त पार्नुपर्ने स्थानीयको चासो रहेको बताए ।

उम्मेदवारी दर्ता गराएर फर्केपछि दोस्रो पटक झापाका गाउँ बस्तीमा गएका बालेनलाई स्थानीयले सुकुम्बासी समस्या समाधानबारे प्रश्न गरेका थिए ।
दमकमा अटो रिक्सा चलाउँदै आएका निखिल राईले बालेनले सुकुम्बासी समस्या समाधान गर्ने आश्वासन दिएको बताए ।
गौराहद ४ का रामलखन अधिकारीले भने अहिलेसम्म ओली र बालेनको तुलना बराबरी अवस्थामा रहेको बताए ।
‘आजको मितिमा केपी ओली र बालेन बराबर जस्तै देख्दैछु । कसको पल्लाभारी हुन्छ केही दिनमा देखिएला’ अधिकारीले भने ।
गौरादह–२ का कांग्रेस कार्यकर्ता डिल्ली खड्काले यसपटक आफू स्वतन्त्रलाई भोट दिने पक्षमा रहेको बताए ।
‘म कांग्रेसको क्रियाशील सदस्य हो । कांग्रेस भए पनि यसपटक म बालेनलाई भोट दिने विचार गरेको छु’, खड्काले भने, ‘पुरानै नेतालाई जिताएर पठाउने भए किन चुनाव गर्नुपर्यो ? मतदाता पुरानाको पक्षमा छैनन् ।’

गौरादहकै भरत ऋषिदेवले अहिले गाउँ टोल जताततै घण्टीको माहोल रहेको बताए । ‘हामी त दिनभरि काम गर्ने मान्छे हौं । राजनीतिको कुरा गर्न भ्याउँदैनौं । तर, गाउँमा जता पनि हेर्छु खाली घण्टी–घण्टी भनिरहेका छन्’ ऋषिदेवले भने ।
रक्षात्मक छन् एमाले कार्यकर्ता, भन्छन्– अन्तिममा माहोल बदलिन सक्छ
भर्खरै सम्पन्न भएको पार्टीको महाधिवेशनको असन्तुष्टि लगायत कारणले झापा एमालेमा समस्या रहेको देखियो । कतिपय कार्यकर्ता ओलीको पक्षमा खुलेर नलागेको पाइयो । पार्टीको आन्तरिक विवाद झापा ५ मा छताछुल्ल देख्न सकिन्थ्यो ।
गौरादह २ का ज्ञानप्रसाद न्यौपाने भने केपी ओली झापा ५ को मात्र नभएर देशकै नेता भएकोले झापाली जनताले उनलाई जिताउने विश्वास व्यक्त गरे ।
‘मिडियामा विभिन्नखाले हल्ला खल्ला त आइरहेका छन् । तर केपी ओलीले नै चुनाव जित्नुहुन्छ’ न्यौपानेले भने, ‘केपी ओलीले गर्न नसकेको यो क्षेत्रको विकास बालेन आएर गर्छन् भनेर पत्याउन सकिँदैन ।’

गौरादह–३ की रिता खड्काले अहिले नयाँको पक्षमा माहोल देखिए पनि भोट हाल्ने दिनसम्ममा पुग्दा ओलीले नै जित्ने दाबी गरिन् । ‘केपी ओलीले गरेको विकास यहाँका जनताले बिर्सेका छैनन् । अहिले जसको पक्षमा माहोल देखिए पनि अन्तिममा मतदाता एमालेको पक्षमा उभिन्छन्’ खड्काले दाबी गरिन् ।
दमक– ८ का महेन्द्र बराल देश बनाउने र देश जलाउनेबीचको प्रतिस्पर्धामा केपी ओली विजयी हुने दाबी गर्छन् । ‘बालेनलाई यो क्षेत्रमा कति वडा छन्, भूगोल कस्तो छ भन्ने केही थाहा छ ? यहाँको समस्या बाहिरको टुरिष्ट उम्मेदवार आएर समाधान गर्दिन्छ भनेर विश्वास गर्ने ?’ बरालले भने, ‘फेरि पनि झापाली जनताले केपी ओलीलाई जिताएर पठाउँछन् ।’
एमालेका मतदाता रूद्र उप्रेतीले चाहिँ ओलीले भन्दा पनि तलका नेताहरूले चुनावी माहोल बिगारेको बताए । ‘घर बिगार्ने घरकाले नै हो । एमालेका कार्यकर्ता आफ्नै साथीहरूसँग रिसाएका छन्’, उनले भने ।
दमक–४ का कांग्रेस कार्यकर्ता राजेन्द्र प्रसाद सिटौला ओली र बालेनको चर्चाबीच कांग्रेस उम्मेदवार विजयी हुने दाबी गर्छन् । ‘भन्न त यहाँ विभिन्न कुरा गरिरहेका छन् । तर जित चाहिँ कांग्रेसको हो । गगन थापा आएपछि युवाका चाहना अब कांग्रेसले पूरा गर्नेमा यहाँका मतदाता आश्वस्त छन् ।

‘रास्वपाको सदस्यता लिन्नौं, तर भोट हाल्छौं’
यसपटक नयाँलाई भोट दिन्छौं भन्नेमा स्वतन्त्र मतदाता मात्र नभइ राजनीतिक दलमा आस्था राख्नेहरू झन बढी भेटिए । नयाँलाई अवसर दिनुपर्छ भन्नेहरू रास्वपालाई समर्थन गर्ने या सदस्यता लिने पक्षमा देखिएनन् ।
दमकमा समाजसेवीको परिचय स्थापित गरेका हिरामणि खड्का यसपटक नयाँ पार्टी र बालेनलाई भोट दिने पक्षमा छन् । पटक–पटक आन्दोलन भए पनि देशमा विकास र सुशासन नभएका कारण आफू मत परिवर्तन गर्ने पक्षमा पुगेको उनले बताए ।
दमकमा व्यवसाय गर्ने मुना पौडेल (दाहाल) मानिसहरूले परिवर्तन खोजिरहेकोले आफू पनि नयाँ उम्मेदवारलाई समर्थन गर्ने सोचमा रहेको बताइन । ‘बुवा अहिले पनि एमालेमै प्रतिबद्ध हुनुहुन्छ । घरका अरूको भन्न सकिन्न’ उनले भनिन्, ‘पुरानालाई देख्यौं । नयाँलाई हेरौ न भन्ने लहर छ ।’
गौरादह-६ कोहर्वाका ६३ वर्षका वेदनिधि गौतमले यसपटक नयाँलाई भोट दिने बताए । केपी ओलीले झापा ५ मा विकास गरेको भन्ने कुरा मान्न तयर छैनन् उनी । ‘यहाँ जति विकास भएको छ, त्यो पर्याप्त छैन । जे भएको छ त्यो विकास सरकारले गरेको हो, केपी ओलीले व्यक्तिगत खर्चमा गरेको होइनन् । उनलाई किन जस दिने ?’ गौतमले आक्रोश व्यक्त गरे ।
दमक भ्यूटावर– उल्टै गलपासो !
प्रधानमन्त्री बनेको समयमा केपी ओलीले झापाको दमकमा विजनेस पार्क (भ्यूटावर) बनाउने निर्णय गराएका थिए । झण्डै १ अर्ब ६३ करोड रूपैयाँ लागतमा भ्यूटावर सम्पन्न भएको छ । दमक बजारबाट पश्चिमउत्तर क्षेत्रमा बनाइएको भ्यूटावर प्रयोगहिन अवस्थामा छ ।
आलोचना भएको भ्यूटावरले चुनावमा एमालेलाई फाइदा भन्दा बेफाइदा गरेको पाइयो । राज्यस्रोतबाट ठड्याइएको त्यो भीमकाय संरचना सुनसान र बेकामे बन्दा त्यसको प्रत्यक्ष निशानामा एमाले परेको बुझ्न सकिन्थ्यो । भदौ २३–२४ को आन्दोलनका बेला भवनका सिसा फुटाइएका छन् । लोकान्तर टिम पुग्दा भ्यूटावर वरिपरि सुनसान वातावरण थियो ।

विजनेस हब बनाउने परिकल्पनासहित बनाइएको भ्यूटावर बाहिर अहिले चटपटे र पानीपूरी बेच्ने २ वटा पसल मात्र सञ्चालनमा छन् । दमकका स्थानीय दिलीप अधिकारीले भ्यूटावर दममका लागि घाँडो भएको बताए । ‘त्यो जंगलको बिचमा लगेर भ्यूटावर बनाउनुको औचित्य के हो ? के यो राज्यकोषको दुरूपयोग उदाहरण होइन ?’ अधिकारीले प्रश्न गरे ।
बजारबाट टाढा रहेकोले त्यो संरचना प्रयोगमा आउनेमा धेरैले आशंका व्यक्त गर्छन् ।
भ्यूटावर बाहिर भेटिएकी झापा दमककी रश्मिला न्यौपानेले सेल्फी खिच्न र टिकटक बनाउन बाहेक भ्यूटावर अरु महत्त्वपूर्ण काममा आउन नसकेको बताइन् ।
पूर्वपश्चिम राजमार्ग विस्तारको काम चलिरहेको छ । समयमा काम नसकिएका कारण दमकको शहरी क्षेत्र धूलाम्मे बनेको छ । निर्माणमा भइरहेको ढिलाइको प्रश्नको जवाफ पनि एमालेले दिनुपरेको देखिन्छ ।
के भन्छन् सर्वसाधारण मतदाता ?
दैनिक ज्यालाजारी र मजदूरी गर्ने सीमान्त वर्ग समेत यस पटक झापा ५ मा नयाँको पक्षमा खुलेका छन् । रिक्सा चालक, मजदुर, तरकारी र फलफूल पसले जस्ता राजनीतिमा खासै चासो नराख्ने तप्काले पनि यसपटक ‘नयाँलाई हेर्ने’ भनिरहेका छन् ।
एमाले कार्यकर्ताले झापा ५ मा नारा बनाएका छन्– ‘झापाको भक्का, केपी ओली पक्का !’ तर परिस्थिति त्यस्तो देखिएन ।

सडक किनारामा भक्का पकाउने र भक्का खान आउनेहरू नै परिवर्तन चाहिएको छ भन्दै थिए । दमकको सडक चोकमा भक्का पकाउँदै गरेकी बुद्धिकुमारी खवासले यसपटक नयाँको चर्चा सुनिएको बताइन् । ‘अहिलेसम्म कता भोट दिने टुंगो छैन । नयाँतिर पनि हुनसक्छ, पुरानोमा पनि जान सक्छ’, खवासले भनिन् ।
दमकमै अटोरिक्सा चलाउने विक्रम लिम्बुले आफ्नो गाडीमा बस्नेले गरेको चुनावी चर्चा सुनाउँदै भने– ‘अलि बूढोपाकाले कांग्रेस–एमाले भन्छन् । युवाले घण्टी र कतिपयले माटो भन्छन् ।’
गौराहदमा भेटिएका रमेश अधिकारी चुनावको समयमा भोट स्वीङ हुने सम्भावना रहेको बताउँछन् । ‘अझै घरदैलो शुरू भइसकेको छैन । अन्तिमसम्ममा मतदाताको मन के हुन्छ, यसै भन्न सकिने अवस्था छैन’, उनले भने ।
दमक ५ मा मेडिकल पसल सञ्चालन गर्दै आएका पदम प्रसाद ढुंगानाले झापा ५ को अवस्था नयाँ बेहुली आएको घरजस्तै भएको टिप्पणी गरे । ‘नयाँ बेहुली आउँदा घर जसरी झकिझकाउ हुन्छ, अहिलेको अवस्था त्यस्तै छ’ उनले भने ।
दमक ७ को सशस्त्र क्याम्प नजिकै बसोबास गर्ने महिलाहरूको समूह सोमबार बिहान किनमेलका लागि दमक आएको थियो । ती मध्येका तीनजनाले यसपटक मान्छेहरू भोट परिवर्तनको पक्षमा रहेको बताए ।

‘यसपटक पुरानो ठाउँमा भोट लगाउँदिन । गाउँमा नयाँको हल्ला (चर्चा) धेरै छ । मेरो पनि बिचार त्यही त हो नि!’ स्थानीय गीता मल्लिकले भनिन् । उनीसँगै बजार गर्न आएकी प्रमिला मल्लिकले राम्रो काम गर्नेलाई भोट दिने बताइन् ।
दमक १३ की देवीमाया लिम्बुले यसपटक आफ्नो रोजाइ हर्क साम्पाङको पार्टी हुने संकेत गरिन् ।
दमक ४ कृष्ण मन्दिर टोलका विश्वराज धिमालले मतदाताहरू परिवर्तन र नयाँको पक्षमा रहेको बताए । ‘गाउँमा बालेन–बालेन भनिरहेका छन् । चुनावमा भोट कता हाल्छन अहिलै भन्न सकिन्न’, अटो रिक्सा चालक धिमालले भने ।
गौरीगन्ज बजारमा भेटिएका सिटी सफारी चालक श्यामकुमार दासले यसपटक नयाँप्रति झुकाव देखिएको बताए । ‘अहिले गाउँमा धेरैले घण्टी भनिरहेका छन्, हेरौं के हुन्छ’, उनले सुनाए ।
गौरीगन्जकै २२ टोलिया बस्ने भक्तबहादुर कार्कीले यसपटक गाउँमा धेरैबीच प्रतिस्पर्धा रहेको बताए । ‘यहाँ घरमा आएर चाहिँ घण्टी भन्छन् । तर दिनभर एमालेका कार्यक्रममा हिँड्ने पनि देखिएका छन्,’ कार्कीले भने, ‘अब ओलीले पनि नयाँलाई अवसर दिएको राम्रो ।
गौरीगन्ज बजारमा भेटिएका गौरादह–२ का वृद्धलाल ताजपुरियाले केपी ओलीले अब काम गर्न नसक्ने र नयाँलाई अवसर दिनुपर्ने चर्चा सुनेको र आफू पनि त्यतै लागेको बताए । ‘ओलीले विकास गरे पनि भदौ २३ र २४ को जेनजी आन्दोलनपछि उनको माहोल बिग्रेको छ, अब नयाँ आउनु पर्छ’, ताजपुरियाले भने ।

झापाकै गौरादह बजारको डिपो चोकमा एउटा सफारीमा यमलाल दाहाल (गोकुल), केशव बोगटी लगायतका व्यक्तिहरू चुनावी गफ गरेर बसिरहेका थिए । ‘कांग्रेसले यो क्षेत्रमा सात पटक चुनाव हारिसक्यो । कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले केपी ओलीलाई टीका लगाइदिएको क्षेत्र हो । यसपटक गगनले पनि त्यस्तै गर्न खोजेका हुन कि ? तर अब यहाँ केही लाग्दैन’, गोकुलले भने ।
कांग्रेस उम्मेदवार मन्दरा चिमोरिया समाजसेवी भए पनि ठूला उम्मेदवारको छायाँमा परेको उनले बताए । केशव बोगटीले रोचक कुरा सुनाए । ‘केपी बा कि बालेन ? भन्दा घरभित्र विभाजित हुने अवस्था आयो । बुबाआमाहरू ओली भन्नुहुन्छ, हामी बालेन भन्छौं,’ उनले भने ।
झापाका अर्का स्थानीय रुद्र कटुवालले यसपटक पनि मत परिवर्तन भएन भने नेपालमा कहिल्यै परिवर्तन नहुने दाबी गरे ।
गौरादहमै भेटिएका मदन बरालले ओलीभन्दा पनि स्थानीय नेताहरूसँगको असन्तुष्टिका कारण एमाले कमजोर रहेको बताए । पुराना नेताबाट अघाएकाले जनताले यसपटक मत परिवर्तन गर्न लागेको उनले सुनाए ।
८५ वर्षीय मुक्ति सुवेदीले भने राप्रपाका उम्मेदवार लक्ष्मी संग्रौला समाजसेवी भएकाले उतै आफ्नो मन रहेको बताए । ‘नेपाललाई हिन्दू धर्म राष्ट्र बनाउन पनि राप्रपालाई भोट दिने विचार गरेको छु’, सुवेदीले भने ।
धिमाल टोलमा भेटिएकी लक्ष्मी धिमालले सबैको मुखमा ‘नयाँ’ भन्ने सुनिएकाले आफ्नो मन पनि नयाँतिरै गएको बताइन् । ‘पुरानाको काम देखिसकेकाले अब नयाँको काम हेरौं भन्ने लागेको छ’, उनले सुनाइन् ।

दमकको भ्यूटावर अगाडि भेटिएका झापा ५ कै मतदाता बताउने एक युवकले नाम उल्लेख नगर्न आग्रह गर्दै बालेनलाई सघाउने बताए । ‘त्यत्रो जेनजी आन्दोलन भयो, अब हामीले बालेनलाई समर्थन गरेर देश विकासमा लाग्नु पर्छ’, उनले भने ।
दमक–५ की नरमाया विश्वकर्मा गत स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट दलित महिला वडा सदस्यमा उठेकी थिइन् । तर उनी पराजित भइन् । पराजित भए पनि उनलाई छरछिमेकीले ‘उपमेयर’ भन्दै बोलाउने रहेछन् । कांग्रेसको उम्मेदवार बनिसकेकी नरमाया आफू मत परिवर्तन गर्ने पक्षमा रहेको बताइन् । ‘नयाँ दलमा होइन, पुरानैमध्येको एकलाई भोट दिने हो’, उनले भनिन् ।
नरमायाकै बुहारी मीना विश्वकर्मा पनि मत परिवर्तनको निष्कर्षमा पुगेकी छिन् । ‘केपी ओलीले विकास गरे पनि गरिबी न्यूनीकरणमा ध्यान दिएनन् । भ्यूटावर बनाउनु भन्दा उद्योगधन्दा खोलिदिएको भए धेरैले रोजगारी पाउँथे । अब नयाँ आउने सरकारले काम गर्छ कि हेरौं न’, मीनाले भनिन् ।

दमक–४ का रेवतीरमण निरौलाले भने ओलीले विकास गरेकाले उनैलाई भोट दिने बताए । ‘ओली जत्तिको नेता देशले पाएको छैन । फेरि पनि उनैलाई भोट दिने हो’, निरौलाले भने । दमककै गुणराज घिमिरे र गोमा भट्टराईले पनि नयाँको लहर आएकाले आफूहरू त्यतै लागेको बताए ।
केही समययता दमकका चिया पसलदेखि भक्का पसलसम्म चुनावी गफगाफ र चर्चाले भरिभराउ देखिन्छन् । दमक–८ का स्थानीय इंक डाँगी र दीपा सुब्बा चोकमा उभिएर सुखदु:खका कुरा गरिरहेका थिए । उनीहरूको कुराकानीको केन्द्रमा थियो- आसन्न निर्वाचन र परिवर्तनको हुटहुटी । दुवैले एकै स्वरमा यसपटक नयाँ र परिवर्तनको पक्षमा उभिने लोकान्तरसँग बताए ।
‘केपी ओलीले कुनै समय राम्रो काम गरेका थिए । अब उनको समय गयो । अब सक्षम युवालाई अवसर दिनुपर्छ । ओलीले दमकमा मात्रै विकास गरे, तर प्रधानमन्त्री भनेको त देशको बाउ हो नि !’ डाँगीले भनिन् ।
दमकको आकासे पुल नजिकै भक्का बेचिरहेकी पारोदेवी शाहको पसलमा पनि अचेल राजनीतिक बहस चल्ने गर्छ । तराईका जिल्लामा जाडोको समयमा बिहान–बेलुका भक्काको राम्रो व्यापार हुन्छ । यहाँ भक्का खान आउनेहरूमध्ये धेरैले ‘नयाँ’कै पक्षमा कुरा गर्ने गरेको उनले सुनाइन् ।
काठमाडौंको मेयर हुँदा बालेन शाहले ठेलागाडा हटाएको कुराले उनलाई तर्साउन खोज्छ । ‘यहाँ पनि बालेनले जिते भने तिमीहरूलाई हटाउँछ भनिरहेका छन् । हामीलाई हटाउनु होला जस्तो लागेको छैन, यदि देश राम्रो बन्छ भने उनलाई किन नदिने ?’, पारोदेवीले भनिन् ।

परिवर्तनको यो लहर सुदीप शाहको परिवारमा पनि पुगेको छ । यसअघि नेकपा एमालेलाई भोट हाल्दै आएका सुदीपले आफ्नो घरमा रहेका ६ वटै मत यसपटक ‘नयाँ’लाई जाने संकेत गरे ।
कमल गाउँपालिका-५ का स्थानीय खड्गबहादुर पराजुली पनि आफू जहिल्यै परिवर्तनको पक्षमा रहेको बताउँछन् । यसअघि एमाले, कांग्रेस, राप्रपा र माओवादी सबैलाई पालैपालो भोट हालिसकेका उनले यसपटक फेरि मत परिवर्तन गर्ने निर्णय गरेका छन् ।
‘बालेन इन्जिनियर भएकाले उनले देशको विकास गर्दा आवश्यकताका आधारमा प्राविधिक रूपले सही काम गर्छन्’, पराजुलीले भने, ‘५ वर्ष नयाँलाई हेरौं न । काम गरेनन् भने फेरि यिनीहरूलाई पनि परिवर्तन गर्न सकिहालिन्छ नि !’