
बलिउडमा वर्षौँसम्म टिकिरहने मित्रता कमै देख्न पाइन्छ । तर मास्टर राजू (राजू श्रेष्ठ) र सुपरस्टार सलमान खानको मित्रता त्यस्तै दुर्लभ उदाहरण हो । दुवैले मुम्बईको बान्द्रा क्षेत्रमा सँगै बाल्यकाल बिताए र सँगै हुर्किए ।
हालै राजूले सलमानको स्वभाव र उनको विवादास्पद जीवनबारे खुलेर कुरा गरेका छन् । उनका अनुसार सलमान सधैं खुले दिलका र कुनै हिसाब–किताब नगरी बाँच्ने व्यक्ति हुन् । जुन कुरा धेरैले उनीबारे मान्दैनन् ।
राजूले सलमानको रिसाहा स्वभावसँग जोडिएका केही घटना पनि सुनाएका छन् । उनका अनुसार सलमान दिमागभन्दा बढी दिलबाट निर्णय लिने व्यक्ति हुन् ।
ब्ल्याक बक मुद्दाका बेला तनावमा सलमान
सिद्धार्थ कन्ननसँगको अन्तर्वार्तामा राजूले आफू सलमानलाई सन् १९८५ मा आएको फिल्म ‘बागी’ भन्दा पहिलेदेखि नै चिनेको बताए । उनले १९९८ को ब्ल्याक बक मुद्दाका बेला सलमान निकै तनावमा रहेको खुलासा गरे ।
राजूका अनुसार सलमान भित्री रूपमा निकै परेशान थिए । तर त्यो कुरा अनुहारमा देखिन दिदैनथे । उक्त समयमा सलमानको धेरै पैसा अदालतका मुद्दा र ठूला वकिलमा खर्च भइरहेको थियो । सलमानले आफू निर्दोष भएको दाबी गर्दै आएका थिए । तर त्यो प्रमाणित गर्न उनले ठूलो मानसिक तनाव सहनुपरेको राजूले बताए । सलमान आफैं यो सबै झमेलामा पर्न चाहँदैनथे ।
गर्लफ्रेन्डको घरबाहिर चिच्याएको प्रसंग
सलमानको स्वभावबारे थप कुरा गर्दै राजूले भने,‘उनी निकै मस्तमौला व्यक्ति हुन् । सोचविचार नगरी बोलिदिन्छन् र सजिलै मित्रता गाँस्छन् । उनको मन सफा छ । उनी न चालाक छन्, न षड्यन्त्र गर्छन् । यही कारणले उनी धेरैपटक विवादमा पर्छन् ।’
राजूले सलमानले आफ्नो जीवनमा महिलाहरूसँग गलत व्यवहार गरेको स्वीकार पनि गरे । उनको बचाउ गर्दै भने, ‘सलमान आफ्ना भावनामा नियन्त्रण गर्न सक्दैनन् । कहिलेकाहीँ कसैको घरमुनि उभिएर गाली गर्थे, कुनै एक्स गर्लफ्रेन्डको घरबाहिर चिच्याउन थाल्थे । रिसको झोंकमा हातसमेत उठाउँथे । तर उनी मनदेखि निकै असल व्यक्ति हुन् । उनी दिमागले होइन, दिलले काम गर्छन् ।’
राजूले कुनै विशेष घटनाको नाम भने लिएनन् । तर यो संकेत सन् २००२ मा ऐश्वर्या रायसँग ब्रेकअपपछि उनको घरबाहिर भएको हंगामाको अनुमान गरिएको छ ।