!['मधेशमा कसैको लहर छैन, यहाँ केबल कोल्ड वेभ छ' [भिडियो]](https://lktcdn2.prixacdn.net/media/Chandra_Kishwar_Banner_Photo_3ixX9AB2rB.jpg)
वीरगन्जलाई नेपालको प्रवेशद्वार शहर पनि भनिन्छ। वीरगन्ज आर्थिक राजधानी तथा प्रमुख औद्योगिक शहर पनि हो। यहाँ कुनै सामग्री मगाउनुपूर्व नै पैसा पठाइन्छ अनि सामान आयात हुन्छ। मधेशले पेमेन्ट गर्छ अर्थात् भोट खसाली हाल्छ, तर माल चाहिँ कहिल्यै पनि डेलिभरी हुन्न। यो ठगिएको मधेश हो।
नेपालमा सबैभन्दा पहिले रेलवे यहीँ शहरमा सञ्चालनमा आयो। त्यही रेलवेको कारण वीरगन्जलाई नेपालको प्रवेशद्वार शहर भनियो। आजकल जनकपुरमा पनि जयनगरसम्म रेल सञ्चालनमा छ। स्टेसनमा टिकट काटेपछि मात्रै प्लेटफर्ममा घुमफिर गर्न पाइन्छ। मधेश जहिले पनि प्लेटफर्मको टिकट किनेजस्तो मात्र भयो। 'मैले फलानोलाई जिताएँ, यो मान्छे जित्यो, ऊ दल जित्यो, त्यसको किङ मेकर म भएँ' भन्ने फिल भएको छ। तर, हुने केही होइन।
प्लेटफर्मको टिकट लिएर तपाईं यात्रा गर्न सक्नुहुन्न। एउटा ट्रेन आउँछ/जान्छ, अर्को पनि आउँछ/जान्छ। तर तपाईं जहाँको त्यही हुनुहुन्छ। मधेश मानसिक रूपमा जहाँको त्यही रह्यो। मानव विकास सूचकाङ्कमा मधेशको अवस्था खासै उकालो लागेको छैन।
हामीले क्षेत्रीय शक्तिहरूलाई ल्यायौँ। मधेशको मुद्दा राष्ट्रिय स्तरमा सुनियो र देखियो। विडम्बना, जो चुनावबाट अगाडि आए उनीहरू निर्वाचित मात्र भए, तर मधेशको प्रतिनिधित्व गर्न सकेनन्। कानुनी रूपमा अमुक मान्छे र दल यहाँबाट जितेजस्तो देखियो, अर्थात् मधेशको प्रतिनिधित्व मधेशीले गर्छन् भन्ने देखियो। तर सङ्घीय संसद् र राष्ट्रिय विमर्शमा मधेशका सवालहरू जुन रूपमा प्रतिध्वनित गराउनुपर्ने थियो वा सत्ता राजनीतिमा मधेशका मुद्दालाई समाधानको दिशातर्फ डोर्याउनुपर्ने थियो, त्यो काम गर्न सकेनन्। सँगसँगै गैरमधेशीहरू पनि मधेशबाट जिते। प्रधानमन्त्री हुने अवसर पनि पाए। त्यसबेला मधेश भन्नाले पूर्वदेखि पश्चिमसम्मको तराई मधेश भन्ने बुझ्नुपर्छ।
झापामा पनि खड्गप्रसाद ओलीले जित्नुभएको थियो। माधव नेपाल प्रधानमन्त्री बन्दा काठमाडौंबाट जिते पनि उहाँको संसदीय क्षेत्र रौतहट-१ नै रहेको छ। उहाँले पनि प्रधानमन्त्री बनेपश्चात् मधेशको प्रतिनिधिको भावना स्थापित गरिदिनुभएन। मधेशले संविधानसँग असहमति राख्दा सडक संघर्षमा थियो, रगत बगाइरहेको थियो। आज सङ्घीयता आएपश्चात् मुलुकका ६ वटा प्रदेशमा गैरमधेशी मुख्यमन्त्री छन्। अर्थात् मधेशले रगत बगाउँदा लाभ त अन्य स्थान र भूगोलकाहरूले पनि पाए नि!

श्रीलङ्कामा तमिलहरूको पहिचानको राजनीति फरक हुँदा उसले केन्द्रसँग छुट्टै नागरिकता मागेको थियो। उसले श्रीलङ्कन नागरिकता मागिरहेको थिएन। अहिले पाकिस्तानको बलुचमा सङ्घर्ष भइरहँदा उनीहरूले 'सेल्फ सिटिजन' मागिरहेका छैनन्। तर मधेशीहरूले आफ्नो सत्ता सञ्चालन र स्वायत्तताका लागि मधेश सरकार भित्ता-भित्तामा लेख्थे, तर नागरिकता त नेपाली नै मागेका थिए नि! माधवकुमार नेपालजी ९९ प्रतिशत मधेशी भएको क्षेत्रबाट निर्वाचन जित्नुभएको थियो, तर उहाँले मधेशप्रति रहेको पुनर्संरचनाको भावना अरू भूगोल र अन्य समुदायमा पुर्याउन सक्नुभएन। उहाँले यहाँको जनमानसको भावनालाई प्रचार गरेर यहाँको प्रतिनिधि हुन सक्नुभएन। उहाँ सिमरा विमानस्थलमा उत्रिएपछि टोपी फुकाल्नुहुन्छ र गम्छा लगाउनुहुन्छ। तर संसद्मा कति दिन धोती वा गम्छा लगाएर जानुभयो? वा मौसम अनुकूल भएको समयमा पहाड वा हिमालको जिल्लामा कति दिन तराईको पहिरन लगाएर जानुभयो? मेरो भनाइको अर्थ 'निर्वाचित हुनु' र 'प्रतिनिधि बन्नु' फरक विषय हो।
मधेश पहिले लोकतान्त्रिक र वामपन्थी शक्तिको आधार क्षेत्र हो। वामपन्थी किसान आन्दोलन अहिलेको मधेश प्रदेशकै क्षेत्रबाट भएको हो। बारा, पर्सा र रौतहट किसान आन्दोलन भएको क्षेत्र हो। अर्कोतर्फ नेपाली कांग्रेसको पनि यो उर्वर क्षेत्र हो। तर दुवै दलले यहाँको सही प्रतिनिधित्व गरिदिएनन्। त्यसकारण यहाँ क्षेत्रीय शक्तिको उदय भयो। हामी भारतमा पनि हेर्छौँ, जब राष्ट्रिय दलहरूले स्थानीय आकाङ्क्षालाई स्थान दिँदैनन् र ती भावनाहरू ओझेलमा पर्छन्, तब क्षेत्रीय शक्तिहरूले आकार लिन्छन्। क्षेत्रीय शक्तिको उदय नै अस्थिर हुन्छ। भारतमै हेर्दा पनि 'रिजनल फोर्स' स्थापना भएका छन् र कालान्तरमा हराएर गएका छन्, अनि नयाँ फोर्स आएका छन्।
रास्वपा, बालेन र मधेश
अहिले मधेशमा रास्वपाले जसरी जनकपुरमा आएर पहिलो सभा गर्यो र बालेनजीलाई भावी प्रधानमन्त्रीको रूपमा अगाडि सार्यो—हिजोसम्म बालेनजीले मधेशी पहिचानलाई लुकाएर राख्नुभएको थियो। काठमाडौँ महानगरको चुनाव लड्दा उहाँले दल स्वीकार गर्नुभएको थिएन। उहाँले सैद्धान्तिक रूपमा प्रादेशिक अस्तित्वलाई पनि स्वीकार गर्नुभएको थिएन। दलमा गएपश्चात् उहाँ मधेशमा आएर आफूलाई मधेशको ‘छौडा’ (छोरा) भन्नुभयो। म मधेशी हुँ भन्नुभयो। यो सबल पक्ष हो।

तर यतिले मात्र पुग्दैन। उहाँले भोलिका दिनमा प्रदेशलाई अधिकार त दिलाउने, तर अहिलेसम्म नेपालको संविधान बनाउने शक्तिहरू कांग्रेस, एमाले वा विगतको माओवादीले किन त्यो अधिकार प्रदेशलाई हस्तान्तरण गर्न सकेनन्? संविधानले परिकल्पना गरेको अधिकारहरू किन दिन सकेनन्? त्यो तप्कासँगको लडाइँ बालेनजीले कसरी लड्नुहुन्छ, त्यो प्रश्न अहिलेसम्म मौन छ।
अहिले कुनै दल विशेषको पक्षमा 'यो नयाँ शक्ति हो, नयाँलाई पनि मौका दिनुपर्छ' भन्ने उभार छ तर त्यतिले मात्र पुग्दैन। मधेशमा पटक-पटक डेलिभरी नभएको, प्लेटफर्म टिकट लिएर त्यहीँ अड्किएको फिल छ, त्यसकारण नयाँ भन्नेबित्तिकै कोही सम्मोहित हुनेवाला छैन।
पुरानाहरू पनि जबसम्म 'म सप्रिएको छु, फेरिएको छु, सच्चिएको छु' र किन सच्चिएँ भनेर स्वीकार गर्दैनन् र मधेशलाई 'मेरो सही प्रतिनिधित्व हुनेवाला छ' भन्ने लाग्दैन, तबसम्म मधेशले सोच बनाउँदैन। अहिले मधेशमा तरल अवस्था छ। मधेशले के गर्छ भन्ने सोच सबैमा छ।
हो, मधेशले मतदान त गर्छ, तर कसको पक्षमा निर्णय गर्छ थाहा छैन। किनभने यहाँ कसैको पक्षमा लहर छैन। वेभ छ तर 'कोल्ड वेभ' छ। यहाँ जनघनत्व बढी छ। जनघनत्व बढी भएको ठाउँमा चिया चौतारी र कुनै सार्वजनिक ठाउँमा जानुभयो भने चुनावबारे बहस भइरहेको हुन्छ। तर कुनै पनि दल विशेषको बाढी वा लहर नै आउँछ भन्ने चाहिँ देखिँदैन। यो मसिनो पक्षलाई जुन राजनीतिक शक्तिले बुझ्न सक्छन् र भोलि मूलधारमा ल्याउन सक्छन्, मधेशले त्यसैलाई हेरिरहेको छ।
आजको समयमा क्षेत्रीय शक्तिहरू कमजोर देखिएका छन्। यसका केही कारण छन्। उनीहरू मोर्चाबन्दी गरेर एउटै छहारीमुनि र एउटै चुनाव चिह्नमा लडेको भए 'थर्ड पोल' देखिन्थ्यो। एउटा पुरानो पक्ष, एउटा नयाँ शक्ति र एउटा मधेशी फोर्स भन्ने देखिन्थ्यो। तर त्यस्तो देखिएन। यसको अर्थ भोटहरू बाँडिएको देखिएको छ। त्यसकारण मतदाताहरू पनि कसलाई वास्तविक शक्ति मान्ने र नमान्ने भन्ने एक प्रकारको निराशामा छन्।
हेरिरहेको छ मधेश
कुनै पनि मुलुकमा दशकौँपश्चात् यस्तो अवस्था आउँछ कि राष्ट्रिय राजनीतिमा स्थापित दलहरूले क्षेत्रीय मुद्दाहरूलाई आत्मसात् गर्छन्। यसपटक 'क्षेत्रीय मुद्दालाई अन गर्छु' भनिरहेका छन्। त्यो वाचा कत्तिको कार्यान्वयनमा आउँछ, त्यो भने हेर्नु छ। वाचा कार्यान्वयन भएन भने त्यो हतासा, निराशा र आक्रोशले अर्को राजनीतिको सुरुवात पनि हुन्छ। दुवै कुरा यो निर्वाचनमा मिसिएको छ।
जब निराशा र आक्रोश हुन्छ, त्यसपश्चात् पुनः नयाँ तरिकाबाट राजनीति सुरु हुन्छ। किनभने जुन मधेशवादी दल भन्छौँ, पहिले कांग्रेसबाटै छोडेर गजेन्द्रनारायण सिंहले नेपाल सद्भावना परिषद् बनाउनुभयो। त्यसपश्चात् २०४६ मा नेपाल सद्भावना पार्टी बन्यो। उसले नारा राखेको थियो— 'जय मातृभूमि'। उसले कांग्रेसका पहाडी नेता सुवर्णशमशेरको जन्मदिन मनाउँदथ्यो। तर त्यसको आवाज नसुनिएपश्चात् 'जय मातृभूमि' बाट 'जय मधेश' आयो। पहाडी र मधेशी अस्तित्वका कुराहरू देखिने गरी फरक हुन थाले। मधेशको राजनीतिमा सशस्त्र सङ्घर्ष पनि भए। मधेशका नागरिक सधैँ देशको मूलधारसँग जोडिन चाहन्थे। त्यसकारण मधेशलाई कौतुक नजरले हेरिएको छ। मधेशलाई अहिले जे देखाइएको छ, यो कुनै सत्ता राजनीतिको लागि हो कि वा साँच्चिकै हो भनेर मधेशको राजनीतिले हेरिरहेको छ।
कता बहला हावा
अहिले जे-जसरी निर्वाचन भइरहेको छ र उम्मेदवार उभिएका छन्, त्यसले जनतालाई कमै विकल्प दिएको छ। किनभने नयाँ-पुराना वा क्षेत्रीय दल जे भने पनि उम्मेदवारको अनुहार प्रायः पुरानै छ। प्रत्यासी उस्तै मान्छेलाई बनाइएको छ। बजारमा सीमित विकल्प छ भने त्यही विकल्पबाट एउटा छान्ने त हो।
चुनावलाई परिवर्तनको लागि 'पिसफुल मुभमेन्ट' भन्छन्। तर अहिले यो शान्तिपूर्ण विकल्पलाई साँघुरो बनाइदिएको छ। दोस्रो कुरा, चुनाव हुने वातावरण कस्तो छ भन्ने हो। चुनावमा पर्दा पछाडिको निर्धारक तत्त्व के छ भन्ने पनि मान्छेको मनमा अहिले डर छ। उम्मेदवारमा पनि मेरो पक्षमा जनमत कसरी पर्छ भन्ने अज्ञात डर छ, तर बोल्न सकिरहेका छैनन्। अर्को पक्ष, आम मानिशहरूमा पनि मनमा लागेका धेरै कुरा भन्न सक्ने स्थिति छैन। सुरक्षा प्रबन्ध बढाइएकै छ, सुरक्षाको नाममा अनेक शक्ति सडकमा आउँदै छन्, तर मान्छेको मनलाई निर्भय बनाउने जुन राजनीतिक पहल राज्यले गर्नुपर्ने हो, त्यो हुन सकिरहेको छैन।

अनिर्वाचितभन्दा नागरिकबाट निर्वाचित नेतृत्व आउँछ। एक प्रकारले संसद्को गणित आउँछ। तर, जसरी लोकतान्त्रिक प्रक्रिया सङ्कुचित हुँदै गएको छ, त्यो सङ्कुचन हटाउने दिशामा खासै काम हुँदैन कि भन्ने संशय छ। केही कुरा हुन्छ जस्तो— अनिर्वाचित ठाउँमा निर्वाचित सरकार हुन्छ, संसद्भित्र नयाँ तरिकाको समीकरण बन्छ। तर, नेपाली समाजले जुन किसिमको अग्रगामी फड्को मार्न खोजिरहेको थियो, त्यो चाहिँ हुँदैन कि? किनभने चुनाव खर्चिलो हुँदैछ। डिजिटल प्लेटफर्मबाट खडा गरिएको मिथ्या सूचनाको आधारमा चुनाव हुँदैछ। जनतालाई सही ढङ्गले सोच्ने र बुझ्ने अवसरहरू कम पारिँदै छ। चुनाव चाहिँ कसैको छायामा पारिँदै छ। त्यस छायामा कसरी निष्पक्ष र भयरहित चुनाव हुन्छ भन्ने पनि सवालहरू छन्। ती सवालहरूलाई राज्यले जसरी सम्बोधन गर्नुपर्ने थियो, त्यो भइरहेको छैन। हाम्रो प्रतिनिधित्व नै सही भइरहेको छैन भने हाम्रो रूपान्तरण कहाँबाट आउँछ? भन्ने प्रश्न छ।
विकल्प के हुन सक्थ्यो?
दलहरूले प्रतिनिधि छनोट गर्दा ताजा अनुहार ल्याउनुपर्ने थियो। नयाँ-पुराना भनेर मात्र हुँदैन, लोकतन्त्र, गणतन्त्र र सङ्घीयताप्रति प्रतिबद्ध मान्छे चाहिने थियो। उम्मेदवारहरूको पृष्ठभूमि राम्रो हुनुपर्ने थियो, जुन छैन। नयाँ हुँदैमा ऊ राम्रो हुने वा पुरानो हुँदैमा ऊ खराब हुने भन्ने हुँदैन। उम्मेदवारको पृष्ठभूमि हेर्नुहोस्, को कस्ता छन् भन्ने थाहा भइहाल्छ। जस्ता छन्, त्यहीबाट हामीले छनोट गर्ने हो।
यसको दोषी आम मतदाता पनि हुन्। जनता सार्वभौम हुन् र जनता आफैँ त्यसका दोषी हुन्। किनभने चुनाव किन खर्चिलो हुँदैछ? यही देशमा २०४८ मा चुनाव हुँदा एकदम कम खर्चमा हुन्थ्यो। आज एउटा गोष्ठी वा कार्यक्रम गरेर उम्मेदवारलाई कति खर्च गराइरहेका छौँ? उनीहरूको तलब कति हुन्छ र हामी कति खर्च गराइरहेका छौँ? निर्वाचन आयोगमा बुझाइएको खर्च सबैलाई थाहा छ, त्यो तथ्यहीन छ। गान्धीवादले 'पात्र, प्रक्रिया र परिणाम' भन्छ। अर्थात् परिणाम राम्रो हुन प्रक्रिया राम्रो हुनुपर्यो र प्रक्रिया राम्रो हुन पात्र पनि राम्रो हुनुपर्यो। यहाँ त तीनवटै कुरा आपसमा अमिल्दा छन्। यस्तो अवस्थामा हामीले कसरी वास्तविक परिणामको खोजी गर्न सक्छौँ? त्यो गाह्रो छ।
अहिलेको सरकारका सन्दर्भमा धेरै किसिमका प्रश्नहरू छन्। त्यसैले अब जुन पार्लियामेन्ट गठन हुन्छ, त्यसबाट इमरान खान (पाकिस्तानको जस्तो अवस्था) देखा नपरुन्। जनताको प्रतिनिधित्व गर्ने निर्वाचित मान्छेहरू आउन्। सिस्टम, लोकतन्त्र र जनताको भविष्यप्रति विश्वास गर्ने मान्छेहरू आउन्। त्यसका लागि नागरिकहरूको भूमिका छ। जति चुनावी मैदानमा छन्, त्यसमध्येका असललाई छनोट गर्नुहोस्। निरन्तर दबाब दिनुहोस्, चुनाव मात्र लोकतन्त्रको अन्तिम पहरेदारी होइन।
अन्त्यमा मधेश कार्डको अर्थ
जुनसुकै प्रदेशमा राजनीति गर्ने भए पनि काठमाडौँ पुग्ने यात्रा मधेशकै बाटो भएर जान्छ। अहिले काठमाडौँको सत्ताको बाटोमा पुग्न मधेशकै बाटो भएर जानुपर्छ। यो गरिमालाई स्वयं मधेशले पनि बुझ्नुपर्छ र यहाँको मत बटुल्न चाहने सबै राजनीतिक शक्तिहरूले पनि यहाँको गरिमा र महत्त्व बुझ्नुपर्छ।
यहाँ सिट र मत छ। काठमाडौँको सत्तामा पुग्न मधेशको बाटो भएर जानुपर्छ। त्यसकारण रास्वपाले पनि बालेन शाहलाई प्रधानमन्त्री भनेको छ र मधेश कार्ड खेलेको हो। गगनजी पनि नेपाली कांग्रेसलाई उचाइमा पुर्याउन मधेशमा फर्कनुपर्ने भएको छ। किनभने पुरानो ठाउँ उर्वर हो। त्यसैले मधेशको पुत्र को हो वा होइन भन्दा पनि यो विमर्श नै सङ्कीर्ण भयो। 'निर्वाचित हुने' कि 'प्रतिनिधि बन्ने'? जो मान्छे हिजोसम्म आफ्नो पहिचान लुकाएको थियो, बालेनजी आज चाहिँ 'म मधेशको छोरो' भन्दै राजनीतिक अभीष्ट पूरा गर्न लाग्नुभएको हो? यो पनि प्रश्न छ।
गगनजी पनि काठमाडौँको वाग्मती किनारबाट काठमाडौँ र मधेशलाई जोड्ने गाउँ सर्लाही-४ मा आइपुग्नुभएको छ। जसलाई तपाईं मधेशी भन्नुहुन्छ, त्यहाँबाट अहिलेसम्म ६ जना उपप्रधानमन्त्री बनिसकेका छन्। कुनै जमानामा कान्तीवती महारानी नै हुनुभयो। उपप्रधानमन्त्री भएर वा महारानी नै भएर दरबारमा गए पनि मधेशको कायाकल्प त भएन नि! सवाल के भने सत्तामा देखावटी रूपमा को पुग्छ भन्दा पनि भोलिको दिनमा सत्ता सञ्चालकको आँखा र दृष्टिमा मधेश रहन्छ कि रहँदैन भन्ने हो। मधेश अहिले त्यसैको पर्खाइमा छ।
(राजनीतिक विश्लेषक चन्द्रकिशोरसँग लोकान्तरका अजय अनुरागी र रोमन आचार्यले गरेको कुराकानीमा आधारित)
हेर्नुहोस् भिडियो