०९ असार २०८३, मंगलबार

बालबालिकाको मानसिक स्वास्थ्यमा नकारात्मक असर पारेको भन्दै मेटा–गुगलविरुद्ध मुद्दा दायर

माघ २७, २०८२
काठमाडौं
बालबालिकाको मानसिक स्वास्थ्यमा नकारात्मक असर पारेको भन्दै मेटा–गुगलविरुद्ध मुद्दा दायर

गाजियाबादमा कोरियन गेम्सको लत लागिसकेका तीन दिदीबहिनीले आत्महत्या गरेपछि इन्टरनेट मिडियाको कुरूप पक्ष विश्वसामु आएको छ । बालबालिका मानसिक विकारको सिकार हुँदै गइरहेका समाचारहरू पनि निरन्तर चर्चामा छन् । यस समस्याको समाधान खोज्न विश्वभरका सरकार प्रयासरत छन् ।

विभिन्न अनुसन्धानले इन्टरनेट मिडिया प्लेटफर्मले यस्ता एल्गोरिदम र फिचर विकास गरेका छन्, जसले बालबालिकालाई लक्षित गरी घण्टौँसम्म स्क्रिनमा बाँधेर राख्छन् भन्ने देखाएका छन् । यी प्लेटफर्मका कारण बालबालिकाको मानसिक स्वास्थ्यमा नकारात्मक असर परेको भन्दै लस एन्जलसमा इन्स्टाग्राम र युट्युबजस्ता इन्टरनेट मिडिया प्लेटफर्मविरुद्ध मुद्दा दायर गरिएको छ । यसको सुनुवाइ सोमबार भएको छ ।

इन्टरनेट मिडिया कम्पनीहरूविरुद्ध चलिरहेको एक बहुचर्चित मुद्दामा वादी पक्षका वकिल मार्क ल्यानियरले इन्स्टाग्राम र युट्युबजस्ता प्लेटफर्मको तुलना क्यासिनो र लागूपदार्थसँग गरेका छन् । उनले यी कम्पनीले बालबालिकालाई आफ्ना उत्पादनको ‘लत’ लगाउने डिजाइन विकल्प जानाजानी विकास गरेको आरोप लगाए ।

यो मुद्दा इन्स्टाग्रामको मूल कम्पनी मेटा र गुगलको स्वामित्वमा रहेको युट्युबविरुद्ध दायर गरिएको हो । आरोप अनुसार तिनका एल्गोरिदम र फिचरले बालबालिकालाई लामो समयसम्म स्क्रिनमा जोडिराख्छन् र मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छन् ।

तर, मेटाका वकिल पाल श्मिटले यी आरोप अस्वीकार गरेका छन् । उनले वैज्ञानिक समुदायमा ‘इन्टरनेट मिडिया लत’ भन्ने शब्दमा सहमति नरहेको र केही अनुसन्धानकर्ताले यसलाई अतिशयोक्ति मान्ने बताएका छन् । यसको विपरीत, ल्यानियरले अदालतमा कम्पनीका आन्तरिक इमेल, अध्ययन र दस्तावेज प्रस्तुत गर्दै मेटा र गुगललाई बालबालिकाको मनोवैज्ञानिक संवेदनशीलताबारे पूर्ण जानकारी रहेको दाबी गरे ।

वकिल ल्यानियरले मेटा र गुगलले बालबालिकाको दिमागमा लत सिर्जना गर्ने तरिका विकास गरिसकेको बताए।

मुद्दाको केन्द्रमा २० वर्षीया एक युवती छन् । उनलाई ‘केजीएम’ भनेर चिनाइएको छ । यो मुद्दालाई ‘बेलवेदर ट्रायल’का रूपमा चयन गरिएको छ । यसको उद्देश्य यस्तै हजारौँ मुद्दाको सम्भावित परिणाम आँकलन गर्नु हो ।

ल्यानियरका अनुसार केजीएमले ६ वर्षको उमेरमा युट्युब र नौ वर्षमा इन्स्टाग्राम प्रयोग गर्न थालिन् र किशोरावस्थासम्म सयौँ भिडियो पोस्ट गरिसकेकी थिइन् । कम उमेरमै प्लेटफर्मसँगको गहिरो संलग्नताले उनको मानसिक स्वास्थ्यमा नकारात्मक असर पारेको वकिलको तर्क छ ।

यस सुनुवाइसँगै समान प्रकृतिका दर्जनौँ मुद्दा अमेरिकाका विभिन्न राज्य, विद्यालय जिल्ला र अटर्नी जनरलहरूले पनि इन्टरनेट मिडिया कम्पनीविरुद्ध दायर गरेका छन् । विशेषज्ञहरूले यी मुद्दाको तुलना सन् १९९८ का ‘बिग टोब्याक्को’ मुद्दासँग गरिरहेका छन्, जसमा सुर्तीजन्य कम्पनीहरूले ठूलो आर्थिक जरिवाना तिर्नुपरेको थियो ।

न्यु मेक्सिको र क्यालिफोर्नियासहितका विभिन्न राज्यमा यस्ता मुद्दा अझै विचाराधीन छन् । टिकटक र स्न्यापले केही मुद्दामा सम्झौता गरिसकेका छन् भने मेटा र युट्युबमाथि कानुनी दबाब निरन्तर बढ्दै गएको छ ।

 

salt training

कमेन्ट गर्नुहोस्