
गाजियाबादमा कोरियन गेम्सको लत लागिसकेका तीन दिदीबहिनीले आत्महत्या गरेपछि इन्टरनेट मिडियाको कुरूप पक्ष विश्वसामु आएको छ । बालबालिका मानसिक विकारको सिकार हुँदै गइरहेका समाचारहरू पनि निरन्तर चर्चामा छन् । यस समस्याको समाधान खोज्न विश्वभरका सरकार प्रयासरत छन् ।
विभिन्न अनुसन्धानले इन्टरनेट मिडिया प्लेटफर्मले यस्ता एल्गोरिदम र फिचर विकास गरेका छन्, जसले बालबालिकालाई लक्षित गरी घण्टौँसम्म स्क्रिनमा बाँधेर राख्छन् भन्ने देखाएका छन् । यी प्लेटफर्मका कारण बालबालिकाको मानसिक स्वास्थ्यमा नकारात्मक असर परेको भन्दै लस एन्जलसमा इन्स्टाग्राम र युट्युबजस्ता इन्टरनेट मिडिया प्लेटफर्मविरुद्ध मुद्दा दायर गरिएको छ । यसको सुनुवाइ सोमबार भएको छ ।
इन्टरनेट मिडिया कम्पनीहरूविरुद्ध चलिरहेको एक बहुचर्चित मुद्दामा वादी पक्षका वकिल मार्क ल्यानियरले इन्स्टाग्राम र युट्युबजस्ता प्लेटफर्मको तुलना क्यासिनो र लागूपदार्थसँग गरेका छन् । उनले यी कम्पनीले बालबालिकालाई आफ्ना उत्पादनको ‘लत’ लगाउने डिजाइन विकल्प जानाजानी विकास गरेको आरोप लगाए ।
यो मुद्दा इन्स्टाग्रामको मूल कम्पनी मेटा र गुगलको स्वामित्वमा रहेको युट्युबविरुद्ध दायर गरिएको हो । आरोप अनुसार तिनका एल्गोरिदम र फिचरले बालबालिकालाई लामो समयसम्म स्क्रिनमा जोडिराख्छन् र मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छन् ।
तर, मेटाका वकिल पाल श्मिटले यी आरोप अस्वीकार गरेका छन् । उनले वैज्ञानिक समुदायमा ‘इन्टरनेट मिडिया लत’ भन्ने शब्दमा सहमति नरहेको र केही अनुसन्धानकर्ताले यसलाई अतिशयोक्ति मान्ने बताएका छन् । यसको विपरीत, ल्यानियरले अदालतमा कम्पनीका आन्तरिक इमेल, अध्ययन र दस्तावेज प्रस्तुत गर्दै मेटा र गुगललाई बालबालिकाको मनोवैज्ञानिक संवेदनशीलताबारे पूर्ण जानकारी रहेको दाबी गरे ।
वकिल ल्यानियरले मेटा र गुगलले बालबालिकाको दिमागमा लत सिर्जना गर्ने तरिका विकास गरिसकेको बताए।
मुद्दाको केन्द्रमा २० वर्षीया एक युवती छन् । उनलाई ‘केजीएम’ भनेर चिनाइएको छ । यो मुद्दालाई ‘बेलवेदर ट्रायल’का रूपमा चयन गरिएको छ । यसको उद्देश्य यस्तै हजारौँ मुद्दाको सम्भावित परिणाम आँकलन गर्नु हो ।
ल्यानियरका अनुसार केजीएमले ६ वर्षको उमेरमा युट्युब र नौ वर्षमा इन्स्टाग्राम प्रयोग गर्न थालिन् र किशोरावस्थासम्म सयौँ भिडियो पोस्ट गरिसकेकी थिइन् । कम उमेरमै प्लेटफर्मसँगको गहिरो संलग्नताले उनको मानसिक स्वास्थ्यमा नकारात्मक असर पारेको वकिलको तर्क छ ।
यस सुनुवाइसँगै समान प्रकृतिका दर्जनौँ मुद्दा अमेरिकाका विभिन्न राज्य, विद्यालय जिल्ला र अटर्नी जनरलहरूले पनि इन्टरनेट मिडिया कम्पनीविरुद्ध दायर गरेका छन् । विशेषज्ञहरूले यी मुद्दाको तुलना सन् १९९८ का ‘बिग टोब्याक्को’ मुद्दासँग गरिरहेका छन्, जसमा सुर्तीजन्य कम्पनीहरूले ठूलो आर्थिक जरिवाना तिर्नुपरेको थियो ।
न्यु मेक्सिको र क्यालिफोर्नियासहितका विभिन्न राज्यमा यस्ता मुद्दा अझै विचाराधीन छन् । टिकटक र स्न्यापले केही मुद्दामा सम्झौता गरिसकेका छन् भने मेटा र युट्युबमाथि कानुनी दबाब निरन्तर बढ्दै गएको छ ।