
सन् २०२५ मा बलिउड स्टारहरूको ठूलो टोली (एण्टुराज) र कथित नखराबारे व्यापक चर्चा चलेको थियो भने २०२६ मा दक्षिण भारतीय फिल्म उद्योग चर्चामा आएको छ । हालै एक मिडिया सेल्स प्रोफेसनलले ‘पुष्पा’ स्टार अल्लू अर्जुन ठूलो टोलीसहित हिँड्ने र उनलाई भेट्न ४२ वटा कडा नियमहरूको सूची हुने दाबी गरेकी थिइन् । उक्त भिडियो क्लिप सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भयो ।
यसपछि अल्लू अर्जुनको टोलीले कडा विज्ञप्ति जारी गर्दै ती आरोपहरू असत्य भएको जनाएको छ । अफवाह फैलाउनेविरुद्ध कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ । अहिले उनका सह–कलाकार राजशेखर पनि उनको समर्थनमा उभिएका छन् र ती आरोपहरू पूर्ण रूपमा आधारहीन भएको बताएका छन् ।
अल्लू अर्जुनविरुद्ध फैलाइएको अफवाह गलत
राजशेखरले सामाजिक सञ्जाल एक्रसमा भिडियो सेयर गर्दै भनेका छन्, 'एक राष्ट्रिय पुरस्कार विजेता अभिनेतालाई होच्याएर आफूलाई चिनाउने प्रयास गर्नु उचित होइन। मैले ‘पुष्पा: द राइज’ र ‘पुष्पा: द रूल’ को छायांकनका क्रममा चार वर्षसम्म उहाँसँग नजिकबाट काम गरेको छु । सेटको एउटा उदाहरण दिन्छु— साँझको खाजाको समयमा अधिकांश स्टारहरूले आफ्ना स्पटब्वायमार्फत खाना मगाउँछन्, तर अल्लू अर्जुन स्वयं आउनुहुन्थ्यो, प्रोडक्सन टिमसँगै बस्नुहुन्थ्यो र सबैसँगै खाना खानुहुन्थ्यो। यति ठूलो मन भएका व्यक्तिमाथि ४२ नियमको सूची भएको आरोप कसरी लगाउन सकिन्छ? यी सबै पूर्ण रूपमा निराधार हुन् ।'
उनले थपे, 'अल्लू अर्जुन सेटमा रहेका सबैलाई चिन्नुहुन्छ र मायापूर्वक अभिवादन गर्नुहुन्छ । कहिलेकाहीँ ढिला भएमा माफी समेत माग्नुहुन्छ । उहाँ केवल स्टार मात्र होइन, जमिनसँग जोडिएका कलाकार हुनुहुन्छ ।'
विवाद कसरी सुरु भयो ?
यो विवाद एक पोडकास्टको क्लिप भाइरल भएपछि सुरु भएको हो । उक्त क्लिपमा मिडिया सेल्स प्रोफेसनल कावेरी बरुआले युट्युब च्यानल ‘स्वीकृति टक्स’ मा दक्षिण भारतीय स्टारहरूसँगका आफ्ना अनुभव साझा गरेकी थिइन् । उनले दाबी गरिन् कि धेरै कलाकारहरू ठूलो टोली र बहु–स्तरीय व्यवस्थापनसहित आउँछन् ।
अल्लू अर्जुनबारे उनले भनिन्, 'उहाँसँग भेट्नुअघि हामीलाई ४२ वटा नियमहरूको सूची दिइएको थियो। उहाँका म्यानेजरको पनि म्यानेजर हुन्छ— माथि ठूलो म्यानेजर र त्यसको तल अर्को। र उनीहरू निकै कडा हुन्छन्। ‘सर’ को आँखामा नहेर्नु, हात नमिलाउनु भनिएको थियो ।'
कावेरीले थपिन्, 'एक हातको दूरी कायम राख्नुपर्थ्यो । फोन प्रयोग गर्न पाइँदैनथ्यो । जब उहाँ भित्र आउनुभयो, म साइडमा बसेर कामका लागि फोन चलाइरहेकी थिएँ । त्यत्तिकैमा उहाँका बडीगार्डले मेरो अगाडि आएर फोन खोसे र भने— ‘अनुमति छैन ।’ मैले भनेँ— ‘म त काम गरिरहेकी छु।’ तर उनले दोहोर्याए— ‘फोनको अनुमति छैन ।’
अल्लू अर्जुनको टोलीको प्रतिक्रिया
क्लिप भाइरल भएपछि अल्लू अर्जुनको टोलीले आधिकारिक वक्तव्य जारी गर्दै ती आरोपहरू झुटा र मानहानिकारक भएको जनाएको छ । वक्तव्यमा भनिएको छ, 'हालै श्री अल्लू अर्जुनबारे गरिएका केही बयानहरू पूर्ण रूपमा निराधार र असत्य छन् । उहाँले सधैं गरिमा र सम्मानका साथ व्यवहार गर्नुभएको छ । हामी यी झुटा आरोपहरूलाई गम्भीर रूपमा लिएका छौँ । हाम्रो कानुनी टोलीले जिम्मेवार व्यक्तिहरूविरुद्ध मानहानिको मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाइरहेको छ । पुष्टि नभएका जानकारी नफैलाउन हामी सबैमा अनुरोध गर्दछौँ ।'