नेपाली कांग्रेस देशका सबै निर्वाचन क्षेत्र (१६५)मा रूख चिन्हका एकल उम्मेदवार उठाएर चुनावमा होमिएको छ । कांग्रेसको उर्वर भूमि र संस्थापक कोइराला परिवारको विरासत रहेको मोरङमा कांग्रेसका प्रभावशाली नेताहरू चुनावी प्रतिस्पर्धामा छन् ।
मोरङ–६ का उम्मेदवार डा. शेखर कोइरालाले देशैभर कांग्रेसको माहोल बनिरहेको बताए । ‘हामी अहिले १६५ क्षेत्रमै कसैसँग तालमेल नगरी चुनावी प्रतिस्पर्धामा छौं, संगठनको बल र तागतले हामी एक्लै प्रतिस्पर्धा गर्न सक्षम छौं,’ कोइरालाले लोकान्तरसँग भने ।
नयाँ दलको अस्तित्वलाई आफूहरूले इन्कार नगरे पनि उनीहरूले कांग्रेससँग प्रतिस्पर्धा गर्न नसक्ने कोइरालाले बताए । ‘कांग्रेसको आधार सामाजिक सञ्जाल मात्र होइन, हामी संगठनको भरमा चुनाव लड्छौँ,’ कोइरालाले भने, ‘नयाँ पार्टी पनि प्रतिस्पर्धामा छन्, नयाँ केही होइनन् भन्ने कुरा गलत, नयाँ सबै पार्टी प्रतिस्पर्धामा छन् ।’
कोइरालाले विगतमा गरेको काम नै चुनाव जित्ने आधार रहेको बताए । ‘काम गरेको छु, विकास गरेको छु । यत्तिको विकास सायद कुनै राजनीतिक दलले गरेका होलान् । गाउँपालिकामा अस्पताल खुलेका छन् । यहाँका विद्यालयमा काठमाडौंबाट अंग्रेजीको क्लास पढाउने व्यवस्था गरिएको छ,’ उनले भने ।

मतदाताले आफूहरूसँग विभिन्न प्रश्न गरिरहेको कोइरालाले बताए । ‘मैले भन्ने गरेको छु, यहाँ कसले काम गरेको छ ? मोरङ ६ का १८ जना उम्मेदवारमध्ये तपाईंहरूले चिन्ने त फेरि म मात्र हो नि !’ उनले भने ।

कोइराला फेरि के एजेन्डा लिएर मतदताकहाँ गइरहेका छन् ? उनले नयाँ दलको चुनौतीलाई कसरी लिएका छन् ?
यीलगायत अन्य प्रश्नको जवाफ भिडियोमा हेर्नुहोस्