
प्रसिद्ध अभिनेता–हास्यकलाकार राजपाल यादव तिहाड कारागारमा आत्मसमर्पण गरी सजाय भोगिरहेका छन् । ९ करोड रुपैयाँ ऋण तिर्न नसकेको मुद्दामा उनी फसेका हुन् । फेब्रुअरी १२ मा दिल्ली उच्च अदालतमा यस सम्बन्धी सुनुवाइ भएको थियो । तर अदालतले उनलाई जमानत दिएको छैन । विभिन्न दलील प्रस्तुत गरिए पनि अदालतले अस्वीकार गर्दै उनलाई कडा टिप्पणी गरेको छ ।
राजपालको सजाय निलम्बन गरी जमानतमा रिहा गर्न माग गरिएको निवेदनमा दिल्ली उच्च अदालतले मुरली प्रोजेक्ट कम्पनीलाई सूचना जारी गरेको छ । अदालतले अर्को सुनुवाइका लागि सोमबारको मिति तोकेको छ । सो दिन जमानत निवेदनमाथि थप सुनुवाइ हुनेछ ।
अभिनेता यादवले शाहजहाँपुरमा आफ्नी भतिजीको विवाह समारोहमा सहभागी हुन जमानत माग गरेका थिए । हाल उनी फेब्रुअरी ५ देखि तिहाड कारागारमा न्यायिक हिरासतमा रहेका छन् ।
राजपाल यादवका वकिलले अदालतमा रकम सम्बन्धमा अझै राजपालसँग छलफल गर्नुपर्ने र उनको अनुमति लिनुपर्ने बताए । सुनुवाइका क्रममा दिल्ली उच्च अदालतले कडा टिप्पणी गरेको थियो ।