
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अघि राजस्थान रोयल्स (आरआर)ले महत्त्वपूर्ण निर्णय गरेको छ । आरआरले अलराउन्डर रियान परागलाई टोलीको नयाँ कप्तान नियुक्त गरेको हो ।
लामो समयसम्म टोलीको नेतृत्व सम्हालेका सञ्जु स्यामसनलाई ट्रेडमार्फत चेन्नई सुपर किंग्स (सीएसके)मा पठाइएपछि यो परिवर्तन गरिएको हो । उक्त ट्रेड सम्झौताअनुसार रवीन्द्र जडेजा र साम करन राजस्थानको टोलीमा अनुबन्धित भएका छन् ।
ब्याट्सम्यान यशस्वी जैसवाल र अनुभवी अलराउन्डर रवीन्द्र जडेजा पनि कप्तानका दाबेदार मानिएका थिए । तर फ्रेन्चाइजिले २४ वर्षीय रियान परागमाथि विश्वास देखाएको हो । रियान यसअघि पनि राजस्थान रोयल्सको कप्तानी गरिसकेका छन् । गत सिजनमा सञ्जु स्यामसन चोटका कारण ८ खेल खेल्न नसक्दा रियानले टोलीको नेतृत्व सम्हालेका थिए ।
त्यो अवधिमा खेलिएका ८ मध्ये राजस्थानले दुई खेलमा जित हात पारेको थियो । यद्यपि रियान परागले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै ३८.५७ को औसतमा रन बनाएका थिए । उनले कोलकाता नाइट राइडर्सविरुद्ध इडन गार्डेन्समा ९५ रन बनाएका थिए । यो उनको आईपीएल करियरकै उत्कृष्ट प्रदर्शन हो ।
नयाँ कप्तान चयन गर्नुअघि टोलीका मुख्य प्रशिक्षक कुमार संगकाराले विभिन्न खेलाडीहरूसँग अन्तर्वार्ता लिएका थिए । त्यसपछि रियान परागलाई अन्तिम रूपमा कप्तान घोषणा गरिएको हो । टोलीको कोचिङ संरचनामा पनि परिवर्तन आएको छ । राहुल द्रविडले २०२५ सिजनपछि टोली छाड्ने निर्णय गरेका थिए । उक्त सिजनमा २००८ को च्याम्पियन राजस्थान रोयल्स अंकतालिकामा केवल चार जितसहित नवौं स्थानमा सीमित भएको थियो ।
सन् २०१९ मा आईपीएल डेब्यु गरेदेखि रियान पराग लगातार राजस्थान रोयल्ससँग आबद्ध छन् । उनले हालसम्म राजस्थानका लागि ८४ खेलमा २६.१० को औसतमा १५६६ रन बनाउनुका साथै ७ विकेट लिएका छन् । सन् २०२४ सिजन रियानका लागि सबैभन्दा उत्कृष्ट रह्यो । यसमा उनले ५२.०९ को औसत र १४९।२१ को स्ट्राइक रेटमा ५७३ रन बनाएका थिए ।
सञ्जु स्यामसनले ११ सिजनसम्म राजस्थान रोयल्सको प्रतिनिधित्व गरेका थिए । पछिल्लो आईपीएलपछि उनले परिवर्तनको चाहना व्यक्त गर्दै रिलिज हुन संकेत दिएका थिए । यसका कारण यो ठूलो ट्रेड सम्भव भएको हो ।