
क्यान्सर जस्तो जटिल तथा घातक रोगको उपचारलाई थप सहज र प्रभावकारी बनाउन नेपाल मेडिकल कलेज (एनएमसी) र काठमाडौं क्यान्सर सेन्टर (केसीसी)बीच सहकार्य भएको छ ।
शुक्रबार आयोजित कार्यक्रममा दुवै संस्थाबीच क्यान्सर बिरामीहरूलाई रेडियो थेरापी सेवा प्रदान गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।
नेपाल मेडिकल कलेजले क्यान्सरका बिरामीहरूलाई उच्चस्तरीय उपचार सेवा उपलब्ध गराउने उद्देश्यले भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरसँग सहकार्य गरेको जनाएको छ ।
कलेजमा हाल क्यान्सर रोग विशेषज्ञ डा. रिता महासेठको नेतृत्वमा अंकोलोजी युनिट सञ्चालनमा रहेको छ ।
उक्त युनिटकी प्रमुख डा. महासेठका अनुसार कलेजमा रेडियो थेरापी सेवा बाहेक क्यान्सर उपचारका अन्य सबै सेवाहरू उपलब्ध छन् ।
समझदारीपत्रमा नेपाल मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सबिहा यासमिन तथा काठमाडौं क्यान्सर सेन्टरका अध्यक्ष डा. सीमित सापकोटाले हस्ताक्षर गरेका छन् ।