
तारिक रहमानको नेतृत्वमा रहेको बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले आम चुनावमा हासिल गरेको भारी जितलाई पाकिस्तानले आफ्नो लागि सुखद खबर र ठूलो कुटनीतिक अवसरका रूपमा लिएको छ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफ र राष्ट्रपति आसिफ अली जरदारीले रहमानलाई बधाई दिँदै दुई देशबीचको सम्बन्धलाई समानता र सम्मानका आधारमा नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता जनाएका छन्।
शेख हसिनाको भारत समर्थक सरकार ढलेपछि बंगलादेश र पाकिस्तानबीचको सम्बन्धमा नाटकीय सुधार देखिएको छ। विगत १५ वर्षदेखि चिसिएको सम्बन्ध अहिले व्यापार, सीधा हवाई उडान र रक्षा संवादमार्फत पुनः सुदृढ हुँदै गएको छ।
बीएनपीको विचारधारा र पाकिस्तानको इस्लामिक राष्ट्रवादबीच समानता रहेकाले यस जितले दुई देशलाई थप नजिक ल्याउने निश्चित छ।
यसैबीच, भारतले पनि बदलिँदो राजनीतिक परिदृश्यलाई ध्यानमा राख्दै बीएनपीसँग सम्बन्ध सुधार्ने प्रयास थालेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तारिक रहमानसँग टेलिफोन संवाद गरी बधाई दिँदै क्षेत्रीय शान्ति र विकासका लागि सहकार्य गर्ने इच्छा व्यक्त गरेका छन्।
यद्यपि, बंगलादेशमा बढ्दो कट्टरपन्थी प्रभाव र पाकिस्तानसँगको बढ्दो सामीप्यताले भारतका लागि भने नयाँ सुरक्षा चुनौती थप्न सक्ने विश्लेषण गरिएको छ।